वैद्य नेतृत्वको मोर्चा पनि चुनावतिर

१ भाद्र, काठमाडौ,

 आज भदौं एक गतदेखि नेपाली कांग्रेसका सभापति उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएका छन् । सभापति कोइराला दोस्रो पटक समितिको संयोजक बनेका हुन् । चार प्रमुख राजनीतिक शक्तिवीच पालै पालो संयोजक हुने सहमति राजनीतिक  दलहरुवीच भएको छ ।

सभापति कोइरालाले संयोजकका आजदेखिका सबै वार्ता संवादको स्थान,समय र सहभागी शक्तिहरुवीचको तालमेल मिलाउनुपर्छ । हिजो शुक्रबार अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेतृत्वको मोर्चासँग समितिको वार्ता हुने कार्यक्रम तय भए पनि एकीकृत माओवादी अध्यक्ष प्रचण्ड बुटवल गएका कारण सम्भव भएको थिएन । आज त्यो वार्ताको संयोजन सुशील कोइरालाले विहान १० बजेसम्म गरेका छैनन । संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले बार्ताबारे कुनै खवर नआएको बताए ।

यसैवीच शुक्रबार दिउसोदेखि रातीसम्म नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले सरकार सँग बार्ता गरे पनि ठोस निष्कर्ष निष्कन सकेन । यद्यपी वार्तापछि संवाददाताहरुलाई प्रतिक्रिया दिंदै माओवादीका सचिव देव गुरुङले बार्ता सकारात्मक रुपमा अगाडि बढेको बताए । उनले थप वार्तापछि सहमति जुट्नेमा आशा पनि व्यक्त गरे । वार्तामा सहभागी अन्य नेताहरुले पनि वार्ताले सकारात्मक दिशा लिने संकेत देखिएको बताए । वार्तामा सहभागी एक मन्त्रीका अनुसार वैद्य नेतृत्वको माओवादी अनुकुल परिस्थिति मिलाएर चुनावमा आउने पक्षमा देखिएको  छ । शुक्रबारको वार्ताका विषय र थप वार्तामा के कसरी प्रस्तुत हुने भन्ने विषयमा नेकपा माओवादीले शनिबार आन्तरिक गृहकार्य गर्ने भएको छ । मोर्चा आवद्ध अन्य दलले पनि शनिबार पार्टीभित्र र द्विपक्षीय वार्ता गर्ने जनाएका छन् । उता शुक्रबार बुटवल पुगेका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले चुनाव कुनै हालतमा नसर्ने र वैद्य नेतृत्वको माओवादी पनि चुनावमा आउने दावी गरेका थिए । प्रचण्डले आफ्नो माओवादीका नेताहरु सँग छलफल भइरहेको र संविधानसभाको निर्वाचन गर्ने चाहना उनीहरुको पनि नरहेको बताएका थिए।