लडाकु शिविर व्यवस्थापनमा अनियमितता

३ भाद्र, काठमाडौं,

माओवादी लडाकुको शिविर व्यवस्थापनमा साढे ९ अर्ब रुपैयाँ मात्र खर्च भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस्तो जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको हो ।

सेना समायोजन विशेष समितिले भने शिविरमा १९ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ खर्च भएको बताउँदै आएको छ । बाँकी साढे १० अर्ब भन्दा बढी रकम अनियमितता भएको आशंका छ ।

एमाले समर्थित युवा संघले शिविरमा भ्रष्टाचार भएको उजुरी गरेपछि अख्तियारले सम्पूर्ण विवरण पठाउन मन्त्रालयलाई निर्देशन दिएको थियो । प्रारम्भिक अनुसन्धानमा हिनामिनाको सम्भावना देखिएपछि अख्तियारले छानबिन थालेको हो । लोकमानसिंह कार्की प्रमुख आयुक्तमा नियुक्त भएपछि अख्तियारले छानबिन प्रक्रिया अगाडि बढेको थियो ।

कारोबार दैनिकमा छापिएको समाचार अनुसार मन्त्रालयले २०६३ मंसिरदेखि ०६९ चैत २० सम्म लडाकु व्यवस्थापनमा भएको खर्च समेटेर विवरण पठाएको हो । अख्तियारलाई पठाइएको विवरणमा सबैभन्दा धेरै मासिक भत्तामा ५ अर्ब ८८ करोड ८६ लाख ७३ हजार ७ सय ४६ रुपैयाँ खर्च भएको उल्लेख छ । त्यसैगरी भरणपोषणमा २ अर्ब ७६ करोड ५६ लाख १४ हजार ९ सय ६२, पूर्वाधार निर्माणमा २६ करोड १० लाख ३ हजार १७ र अन्य शीर्षकमा २७ करोड ३७ लाख १० हजार ५ सय ६७ रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । एमाओवादी नेता कृष्णबहादुर महराले ०६३ सालमा मन्त्री हुँदा शिविर व्यवस्थापन गर्न दिएको ४६ करोड १० लाख ६७ हजार २ सय रुपैयाँ पनि यसमा समेटिएको छ ।