कांग्रेस बैठकमा कोइराला र देउवाको भनाभन
२३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाट सरकार तथा पार्टी सञ्चालनमा असहयोग भएको आरोप लगाएका छन् ।
कांग्रेस संसदीय दलको सोमवारको बैठकमा आक्रोशित मुद्रामा प्रस्तुत भएका कोइरालाले पार्टी र सरकार सन्चालनमा आफूलाई असहयोग भएको बताएका हुन् ।
कोइरालाको भनाइ उधृत गर्दै कांग्रेसका एक सभासदले भने-शेरवहादुरजी ग्रुपिजम नगर्नुस्, पार्टीलाई एकढिक्का बनाउन मैले जे त्याग गर्नुपरे पनि गर्छु भनेकै छु । वीपी बिचार यात्रा गर्दा पनि मलाई जानकारी दिइएन ।’
बीपी विचार पदयात्रा रामचन्द्र पौडेल नेतृत्वको नीति तथा प्रशिक्षण समितिले आयोजना गरेको थियो । त्यस्तै देउवाले कांग्रेसका विद्रोही वकिलको भेला उद्घाटन गरेकोमा कोइराला रुष्ट भएका थिए । ‘म निर्वाचित सभापति र निर्वाचित प्रधानमन्त्री हो, मलाई काम गर्न दिनुस्, ग्रुपिजम नगरौं’ कोइरालाको भनाइ थियो ।
बैठकको शुरुमै आफ्नो भनाइ राखेर अन्त काम छ भन्दै कोइराला हिँडेपछि केही सभासदले होहल्ला गरे । शंकर भण्डारी, रामहरी खतिवडालगायतले दलको नेता नै बैठक छाडेर हिँडेको भन्दै सांसदले खेल्नुपर्ने भूमिका, अहिलेसम्मका सहमति केही पनि जानकारी नभएकोमा आक्रोश पोखेका थिए ।
कोइराला हिँडेपछि देउवाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आफूले कोइरालालाई पूर्ण रुपमा सहयोग गरेको बताए । ‘तपाई सभापति पनि हो, प्रधानमन्त्री पनि तपार्इ नै हो, के गर्नु भएको छ तपार्इले नै जान्ने कुरा हो, तर मैले पूर्ण रुपमा सहयोग गरेको छु’ देउवाको भनाइ उधृत गर्दै एक सभासदले भने ‘डीएलएमा धेरै साथीहरु छुटेका थिए उनीहरुले बोलाएको कार्यक्रममा गएको हुँ ।’
बैठकमा उपसभापति रामचन्द्र पौडेलले संवैधानिक राजनीतिक संवाद समितिमा भएका सहमतिका बारेमा जानकारी गराएका थिए ।
कोइराला हिँडेपछि सभासदहरुले नेतृत्व गैरजिम्मेवार भएको भन्दै नेताहरुले नाटक देखाएको आरोप लगाएपछि होहल्ला भएको थियो । त्यसपछि बैठक मंगलवारसम्मलाई स्थगित भएको छ ।
source : onlinekhabar.com
