यी सडकमा धान रोप्ने कि गाडी गुडाउने ?

काठमाडौं, ३ पुस । मेलम्ची खानेपानी आयोजनाले खानेपानीको पाइप बिछ्याउन खनेको खाल्डो व्यवस्थित नहुँदा राजधानीका भित्री सडक खेतमा परिणत भएका छन् । ठेकेदार कम्पनीले मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालयसँग गरेको सम्झौताअनुसार काम नगरेपछि राजधानीका सडकको बिजोग भएको हो ।

निर्देशनालय र ठेकेदार कम्पनीबीच कम क्षति हुने गरी सडक खन्ने, खनेपछि ठेकेदार कम्पनीले नै सडक जस्ताको तस्तै कालोपत्रे गर्नेलगायतका सम्झौता भएका थिए । तर, कम्पनीले सम्झौताअनुसार काम नगरेपछि सडक खेतमा परिणत भएका हुन् । यसबाट सर्वसाधारणले दैनिक सास्ती भोग्नुपरेको छ ।

आयोजनाले गत भदौदेखि अनामनगर क्षेत्रबाट पाइप बिछ्याउन सुरु गरेको थियो । जसअन्तर्गत चक्रपथभित्रका पाँच सय २२ किलोमिटर सडकलाई ६ भागमा विभाजन गरी प्रत्येक दिन खन्ने काम भइरहेको छ । निर्देशनालयका अनुसार अहिले बसुन्धरा, सोह्रखुुट्टे, बालाजु, रानीबारी, पुरानो बानेश्वर, सिनामंगल, चाबहिल, गौशाला, अनामनगर, डिल्लीबजार, मैतीदेवी, ज्ञानेश्वर क्षेत्रमा पाइप बिछ्याउने काम भइरहेको छ ।

पाइप बिछ्याउन सडकमा पारिएका खाल्डा कतिपय ठाउँमा पुरिएका छैनन् भने पुरिएका पनि झारा टार्ने खालका छन् । खाल्डोबाट झिकिएका माटो सडकको दायाँबायाँ ढिस्को बनाई थुपारिएका छन् । खानेपानीको पाइप र ढल फुटेर बगेको पानीले ढिस्कोको माटो बगाएर सडक हिलाम्य बनाएको छ । शनिबार र आइतबार परेको पानीले त झन् सडक खेतका गराझैँ बनेका छन् । अनामनगरबाट मध्य बानेश्वर जोड्ने सहभागिता मार्ग क्षेत्रका बासिन्दाले यही नियति भोगिरहेका छन् । 


उक्त मार्ग तिहारलगतै खन्न सुरु गरिएकोमा पाइप बिछ्याउने काम एक साताअघि मात्रै सकिएको छ । यसबीचमा एक हप्ता त सडक नै बन्द गरियो । तर, ठेकेदार कम्पनीले खाल्डोबाट झिकिएको माटो व्यवस्थापन नगर्दा उक्त सडक प्रयोग नै गर्न नमिल्ने अवस्थामा पुगेको छ ।

स्थानीय नवराज गौतमले भने, ‘पाइप बिछ्याउने भन्दै तिहारबाट सडक भत्काइए । काम बल्लतल्ल सके । तर, झिकिएको माटो खाल्डोमा हालेनन्, माटो पानीले बगायो । अहिले त सडक खेतको गराझैँ बनेको छ । प्रयोग गर्न सकिएको छैन । गाडी, मोटरसाइकल घरभित्रै थन्किएका छन् ।’ करिब दुई किलोमिटर लम्बाइको यो सडक ०६३ मा सडक विभाग र काठमाडौं महानगरपालिकाले बनाएका थिए । गौतमका अनुसार मध्य बानेश्वर क्षेत्रका सबै स्थानका भित्री सडक आहालमा परिणत भएका छन् । यस क्षेत्रमा पाइप बिछ्याउने ठेक्का शर्मा एन्ड कम्पनीले लिएको छ । कम्पनीले थापागाउँ, रत्नराज्य विद्यालय आसपासका क्षेत्रमा अहिले धमाधम खाल्डो खन्दै छ ।

सिनामंगल–डिल्लीबजार–रत्नपार्क जोड्ने सडक खण्डको पनि दुर्गति भएको छ । पुरानो बानेश्वरदेखि सिनामंगलसम्मको सडक खण्डको अवस्था ६ महिनादेखि दुर्दशापूर्ण छ । त्यहाँ ६ महिनायता आवतजावत नै बन्द छ ।

पुरानो बानेश्वरका शिव लम्सालले घरअगाडिको गल्लीमा खनिएको खाल्डोका कारण तीन दिनदेखि कार नै निकाल्न नपाएको बताए । उनले भने, ‘घरसामुन्ने खनिएका खाल्डा राम्ररी पुरिएका छैनन् । पानी जमेको छ, भद्रगोल बाटोका कारण गाडी ननिकालेको नै तीन दिन भयो ।’
सडक विभागका प्रवक्ता अर्जुनजंग थापाले विभागले पिच गर्ने कार्यक्रम यसअघि नै तय गरे पनि मेलम्ची खानेपानीले पाइप बिछ्याउने भनेपछि काम रोकिएको बताए । ‘पिच गर्ने कार्यक्रम त पहिल्यै थियो, तर मेलम्चीले पाइप बिछ्याउने भनेपछि रोकियो, त्यो काम सकेपछि हामी पिच गर्छौँ, अहिले सडकमा भएको हिलोका कारण त्यही हो,’ उनले भने ।

निर्देशनालयका वरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकालका अनुसार चिसो मौसमका कारण भत्काइएका सडक पिच गर्न नसकिएको बताए । उनले भने, ‘सडक पिच गर्न निश्चित तापमान पुग्नैपर्छ । तर, वैज्ञानिक रूपले जाडो मौसममा त्यो सम्भव छैन । सम्भव भए पनि भत्काइएको सडक पिच तत्काल गर्न सकिँदैन ।’ ढकालले माटो पुर्न समय लाग्ने र पुरिएको माटो ‘सेट’ हुन तीन–चार दिन लाग्ने बताए । ‘यस्तो वेला कहिलेकाहीँ पानी पर्छ, सडक हिलो हुन्छ । यो अवस्थामा चाहेर पनि केही गर्न सकिँदैन । यसलाई सकारात्मक रूपमा बुझिदिनुपर्छ,’ उनले भने ।

अझै खन्न बाँकी
अहिले खनिएका खाल्डो पुरेर पिच गरिए पनि मेलम्चीकै कारण फेरि खनिने निश्चित छ । खानेपानी वितरणका लागि जम्मा गरिने रिजर्भ ट्यांकीसम्म जोड्ने पाइप बिछ्याउन खाल्डो खन्न बाँकी नै रहेको निर्देशनालयले जानकारी दिएको छ । 

निर्देशनालयका अनुसार मेलम्चीबाट आउने पानी जम्मा गर्न तिनचुलेस्थित आरुबारी, बौद्धस्थित महांकाल, अनामनगर, मीनभवन, बाँसबारी, बालाजु, खुमलटार, पानीपोखरी र कीर्तिपुरमा ‘रिजर्भवायर ट्यांकी’ बनाइनेछ ।

ती स्थानमा रहेका ट्यांकीसम्म पाइप लैजान चक्रपथको २७ किलोमिटर सडक खनिनेछ । त्यसबाहेक गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर सडक खण्ड, तिनकुने–नयाँ बानेश्वर–माइतीघर सडक खण्ड, माइतीघर मण्डला–पुल्चोक, जावलाखेल–एकान्तकुना सडक खण्ड, माइतीघर मण्डला–लैनचौर–बालाजु सडक खण्ड र पानीपोखरी–नारायणगोपाल चोक सडक खण्ड भत्काइनेछन् । चक्रपथबाहिरका नारायणगोपाल चोक–बाँसबारी सडक खण्ड, ताल्चीखेल खुमलटार सडक खण्ड पनि भत्काइनेछन् ।

,