‘एसएलसीमा ग्रेडिङ प्रणाली चुनौतीपूर्ण’
काठमाडौं, २८ मंसिर । सरकारले तयारीविना एसएलसीमा ग्रेडिङ प्रणाली लागू गर्न खोजेको आरोप सरोकारवालाले लगाएका छन् । शिक्षा मन्त्रालयले यस वर्षदेखि प्राविधिक एसएलसीमा ग्रेडिङ प्रणालीमा जाने र अर्को वर्षदेखि साधारणतर्फको एसएलसीमा विस्तार गर्ने निर्णय गरेपछि सरोकार पक्षले चुनौतीपूर्ण रहेको बताएका हुन् ।
काठमाडौंमा आइतबार भएको कार्यक्रममा प्राध्यापक लेखनाथ पौडेलले ग्रेडिङ प्रणाली राम्रो भए पनि तयारी नपुगेको बताए । उनले शिक्षकको सिकाइको गुणस्तर नबढाई र भौतिक पूर्वाधारविना सञ्चालन गर्दा समस्या आउने बताए । अहिले शिक्षकलाई तालिम नै नपुगेको भनाइ उनको छ ।
शिक्षक मोहन ज्ञवालीले पूर्वतयारीविना सञ्चालन गर्दा राम्रै हुँदाहँुदै पनि ग्रेडिङ प्रणाली दुर्घटनामा पर्न सक्ने बताए । उनले प्रश्नपत्र तथा उत्तरपुस्तिका परीक्षण गर्ने शैली पुरानै भएपछि ग्रेडिङ पनि अहिलेको भन्दा फरक नहुने दाबी गरे ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिवाकर ढुंगेलले वास्तविक सिकाइको मूल्यांकन गर्न ग्रेडिङ प्रणाली अपनाइएको बताए । परीक्षा नियन्त्रक विष्णु द्वारेले फेल हुने मानसिकताबाट टाढा राख्न ग्रेडिङ प्रणाली सुरु गरिएको जानकारी गराए । उनले एउटा विषयमा फेल हँुदैमा माथिल्लो कक्षा अध्ययन गर्न नपाउने परिस्थितिको अन्त्य भएको दाबी गरे ।


