गरिबी र बेरोजगारी अल्पविकसित देशका लागि चुनौती : प्रधानमन्त्री

काठमाडौं, पुस १ – प्रधानमन्त्री सुशील कोइरालाले गरिबी र बेरोजगारी अल्पविकसित मुलुकका लागि चुनौती भएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा सुरु एसिया प्यासिफिक क्षेत्रको मन्त्रिस्तरीय विकास एजेन्डासम्बन्धी गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले देशमै भएको प्राकृतिक स्रोत साधनलाई उपयोग गर्न सके देश आर्थिक समृद्धितर्फ लाग्ने भन्दै गरिबी कम गर्न प्राकृतिक स्रोतको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले आर्थिक उन्नतीका लागि विदेशी लगानी बढाउनुपर्ने स्पष्ट पार्नुभयो । देशमा संविधान निर्माणसँगै सबै दलले आर्थिक विकासको एजेण्डा आत्मसात गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले अल्पविकसित राष्ट्रमा आर्थिक वृद्धिदर बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले जलविद्युत लगायतका अन्य प्राकृतिक स्रोतको सही उपयोग हुने गरि निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गर्न सरकार प्रयासरत रहेको जानकारी दिनुभयो । कृषि क्षेत्रलाई पनि आधुनिकीकरणस“गै व्यवसायीक बनाउनुपर्ने उहाँको भनाइ छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विश्वबाटै गरिबी हटाउन सबै अल्पविकसित मुलुकले आर्थिक विकासको एजेण्डालाई अघि सार्नुपर्ने बताउनुभयो । उहाँले नेपालले सन् २०२२ सम्ममा गरिबी निवारण गर्ने लक्ष्य राखेकाले यसका लागि सबैको आधारभूत आवश्यकता पूर्ति गर्नुपर्ने बताउनुभयो ।

source : ujyaaloonline.com

,