कांग्रेसका भातृसंस्था लथालिंग

काठमाडौं, ३ पुस । कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले विद्यार्थी राजनीतिबाट आएका नेता स्थापित छन् । तर, यतिवेला चरम गुटबन्दीले नेविसंघ महाधिवेशन सातपटकसम्म स्थगित हुँदा नेतृत्वका लागि पर्खिएका विद्यार्थी नेताको उमेर ढल्कन थालेको छ । नेविसंघ मात्र होइन, कांग्रेसका कुनै पनि भातृसंगठनको महाधिवेशन समयमा नै हुन सकेको छैन ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा संस्थागत निर्णय नहुनु, गुटबन्दी, विचारभन्दा व्यक्तिवादी प्रवृत्ति हावी हुनुलगायतका कारण भातृसंस्था अन्योलमा परेको बताए । ‘वर्षौंसम्म पार्टी संगठनका महत्त्वपूर्ण भातृसंस्थाहरू तदर्थवादमा चल्नु दुर्भाग्यपूर्ण छ,’ केसीले नयाँ पत्रिकासँग भने, ‘संस्थागत निर्णयको अभाव, गुटबन्दी र विचारभन्दा व्यक्तिवादी प्रवृत्ति हावी हुनु प्रमुख कारण हुन् ।’

पार्टी नेता उत्पादन गर्ने संस्था वर्षौंदेखि शिथिल हुनुले नेतृत्वको विधि, पद्धति र लोकतन्त्रको खिल्ली उडाएको केसीको भनाइ छ । ‘वर्षौंसम्म संगठनलाई यसरी अन्योलमा छोड्दा नयाँ नेतृत्वको विकास हुन सकेन । तत्काल विधि, पद्धति र प्रवृत्ति नसुधारे थप अन्योल छाउँछ,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले हचुवा र हल्का मनोवृत्तियुक्त नेतृत्वका कारण महत्त्वपूर्ण तीनवटा भातृसंस्था अन्योलपूर्ण बनेको बताए । ‘कांग्रेसमा हल्का र हचुवा मनोवृत्ति भएको नेतृत्वका कारण नेविसंघ, तरुण दल र महिला संघजस्ता महत्त्वपूर्ण भातृसंस्थामा अपुरणीय क्षति देखिन थालेको छ,’ भण्डारीले भने, ‘नेतृत्व जन्माउने बाटो नै बन्द गर्ने शैलीप्रति पार्टी नेतृत्व नतमस्तक हुनु दुर्भाग्यपूर्ण हो ।’

नेविसंघमा गुट र उपगुटले समस्या
नेविसंघमा संस्थापन पक्ष, र देउवा पक्षका साथै यी गुटभित्रको उपगुटको खिचातानीका कारण महाधिवेशन अन्योलमा छ । भातृसंस्था कसले हत्याउने भन्ने होडका कारण सातपटकसम्म महाधिवेशन घोषणा हुने र स्थगित हुने क्रम चलिरहेको छ ।

 नेविसंघका अध्यक्ष रञ्जित कर्णले नेता शेरबहादुर देउवा पक्षले झमेला झिक्दा महाधिवेशन हुन नसकेको बताए । ‘नेविसंघमा १३ जिल्लामा अधिवेशन नहुँदा पनि महाधिवेशन भएको इतिहास छ । तर, अहिले मुख्य विवाद दुई/तीन जिल्लामा मात्र भए पनि महाधिवेशन गर्न नसक्ने जस्तो देखियो,’ कर्णले नयाँ पत्रिकासँग भने, ‘भागबण्डा मिल्दा पनि देउवा पक्षले आफू अनुकूल नभएको भन्दै बखेडा झिकेपछि समस्या देखियो ।’ विमलेन्द्र निधिले धनुषा, सहमहामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत र बालकृष्ण खाँडले कपिलवस्तुमा अनावश्यक विवाद निम्त्याइदिएको आरोप उनले लगाए ।

६ महिनाभित्र महाधिवेशन गराउने गरी प्रदीप पौडेल नेतृत्वको समिति भंग गराई कर्णको नेतृत्वमा तदर्थ समिति बनाइएको थियो । उनी नेतृत्वमा आएको दुई वर्ष बितिसकेको छ । नेविसंघमा लामो समयदेखि प्रतिनिधि विवाद चलिरहेको छ । अझै ११ जिल्लामा प्रतिनिधि छनोट गर्न बाँकी छ । सिरहा, धनुषा, रौतहट, पर्सा, रुपन्देही, कञ्चनपुर, सुर्खेत, कास्की, र मुस्ताङसहितका जिल्लामा प्रतिनिधि चयनमा संस्थापन पक्षका कारण विवाद रहेको विद्यार्थी नेता ऋषिकेशजंग शाहले जानकारी दिए । देउवा पक्षका नेता रहेका शाहले महाधिवेशन गर्न समस्या नरहेको बताए ।

नेविसंघ २०२७ सालमा स्थापना भयो । यसबीचमा २२ वटा महाधिवेशन हुनुपर्ने हो । तर, ११औँ महाधिवेशन गर्ने तयारी सातौँपटक अवरुद्ध भइसकेको छ ।

तरुण दलमा नीतिगत समस्या
दुई पार्टी एकीकरण भएपछि कांग्रेसको युवा संगठन तरुण दलको एकता महाधिवेशन हुन सकेको छैन । केही नीतिगत व्यवस्था प्रस्ट नहुँदा महाधिवेशन हुन नसकेको हो ।

पार्टी एकता हुनुअघि ०६२ सालमा संस्थापनले जनकपुरमा र शेरबहादुर देउवा पक्षले ०६४ सालमा चितवनमा अधिवेशन गरेका थिए । भागबण्डाका आधारमा देउवाको पक्षमा परेको तरुण दलमा उदयशमशेर राणा अध्यक्ष भएको तीन वर्ष बितिसकेको छ ।

यसअघि १० देखि १२ मंसिरमा महाधिवेशन तोकिए पनि सार्क सम्मेलन परेको भन्दै अन्तिम समयमा महाधिवेशन स्थगित गरिएको थियो । पार्टीसँग सल्लाह गरी महाधिवेशनको मिति छिट्टै तोकिने अध्यक्ष राणाले बताए । तर, अधिकांश जिल्लामा अधिवेशन नै गरिएको छैन । कात्तिकअगावै ७५ वटै जिल्ला अधिवेशन सक्नुपर्ने भए पनि करिब २७ जिल्लामा मात्र सकिएको छ ।

४५ सदस्यीय कार्यसमिति रहेको दलमा पुरानो कार्यसमितिको सदस्यले महाधिवेशनमा उम्मेदवारी दिन पाउने वा नपाउने भन्नेमा विवाद छ । पुरानाले पुन: सदस्यमा लड्न पाउनुपर्ने र नयाँ आकांक्षीले पुराना दोहोरिन नहुने मत राखेपछि समस्या आएको तरुण दलका केन्द्रीय सदस्य मेखलाल श्रेष्ठले जानकारी दिए ।

महिला संघको महाधिवेशन पनि सर्‍यो
मंसिरको दोस्रो साताका लागि तोकिएको कांग्रेसको भगिनीसंगठन महिला संघको महाविधेशन पनि हुन सकेन । सार्क सम्मेलनको कारण देखाउँदै संघले १० देखि १२ फागुनमा तेस्रो महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको अध्यक्ष डा. डिला संग्रौलाले बताइन् । पुसभरमा सबै जिल्ला, क्षेत्र र नगरको अधिवेशन गराउने दाबीसमेत उनले गरिन् ।

अरू भातृसंगठन पनि उस्तै
महाधिवेशन गराउन नसकेपछि ०६८ असोजमा नेविसंघसहितका भातृसंगठन विघटन भए । तर, महाधिवेशन आयोजक समिति गठन गरेको दुई वर्ष बितिसक्दा पनि कुनैले पनि महाधिवेशन गर्न सकेका छैनन् ।

ठूला तीनबाहेक प्रजातन्त्र सेनानी संघ, आदिवासी जनजाति संघ, मगर संघ, किसान संघले पनि महाधिवेशन गर्न सकेका छैनन् । १२ वर्षअघि पहिलो महाधिवेशन गरेको सेनानी संघको महाधिवेशन अझै भएको छैन ।
जनजाति संघमा देशभरका गाउँ, क्षेत्र, नगर र जिल्लामा अधिवेशन हुन सकेको छैन । यही माघभित्र गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशन गरिसक्ने सभापति इन्द्रबहादुर गुरुङले जानकारी दिए । बाहुन–क्षेत्री जिल्ला सभापति भएको जिल्लामा जनजाति संघलाई सकारात्मक रूपले नहेरिदिँदा समस्या आएको उनको भनाइ छ । किसान संघमा पनि पुरानाले लड्न नपाउने भएपछि कार्यसमितिका सदस्य नै महाधिवेशनका लागि इच्छुक छैनन् ।

,