सीमाङ्कन टुङ्गो लाग्यो तर यी तीन विषयले अझै अड्कायो
काठमाडौँ , २३ साउन । प्रमुख दलहरुले अत्यन्तै पेचिलो विषयका रुपमा रहेको सीमाङ्कनलाई शनिबार टुङ्गोमा पुर्याएको बताएका छन्। एमाओवादी र फोरम लोकतान्त्रिकले फरक मत राखेर जाने भएपछि सीमाङ्कनमा सहमति जुट्न सम्भव भएको हो।
यद्यपि अझै तीन विषयले पूर्ण सहमति जुट्न रोक लगाएको अवस्था छ। यी तीन विषय अझै छलफलमा रहेको प्रतिवेदन विशेष समितिले संवाद समितिलाई बुझाउने तयारी गरेको छ।
तीन विषय?
कांग्रेस उपसभापति रामचन्द्र पौडेलका अनुसार धर्म निरपेक्षता, संवैधानिक अदालत र थ्रेसहोल्डको विषय अझै निरन्तर छलफलमा छ। यसमध्ये अघिल्ला दुई विषयमा दलहरुबीच यसअघि सहमति भइसकेको थियो। तर जनताको सुझावसहित मस्यौदा परिमार्जन गर्ने क्रममा फेरि यी विषय उठेका हुन्।
६ प्रदेशको सीमाङ्कन टुङ्गो लाग्यो
पौडेलले दलहरुबीच ६ प्रदेशको सीमाङ्कनको टुङ्गो लागेको जानकाारी दिए। चार दिनदेखि लगातार छलफलमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबीच तराईमा दुई र पहाडमा चार प्रदेश बनाउने सहमति भएको हो।उनले दिएको जानकारी अनुसार नवलपरासी र बाग्लुङ जिल्ला टुक्रिएको छ भने अरु जिल्लाहरु यथावत् छन्।
कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिममा नै राखिएको छ जसलाई एमाओवादी र फोरम लोकतान्त्रिकले फरक मत राखेका छन्। रुकुमको रुकुमकोटलाई कुन प्रदेशमा राख्ने भन्ने विषयमा भने अझै छलफल चलिरहेको पौडेलले बताए।
पूर्वको तराइ प्रदेशमा पहाडी जिल्ला समावेश गरिएको छैन भने नवलपरासीदेखि पश्चिमका तराइ प्रदेशमा लुम्बिनी र राप्ती अञ्चलका जिल्लाहरु पनि समावेश गरिएको छ। दलहरुबीचको यस सहमतिमा हस्ताक्षरको तयारी भएको छ।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई तराइ प्रदेशमा राख्ने वा सुदूरपश्चिमलाई अखण्ड बनाउने भन्ने लामो बहसपछि त्यसलाई अखण्ड नै राखिएको छ। नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भागलाई गण्डकी र धौलागिरी अञ्चलका जिल्लाहरुसँग जोडिएको छ। लुम्बिनी अञ्चललाई अखण्ड राखेर तराइका जिल्लाहरुसँग जोडिएको छ।
संविधानसभाको बैठक भोलि
दलहरुबीच सहमति हुने हुने जस्तो हुने फेरि नहुने जस्तो हुने भएपछि आज संविधानसभाको बैठक कयौँ पटक सारियो। सुरुमा दलहरुबीच सहमति नहुने जस्तो भएपछि विज्ञप्ति निकालेर भोलिका लागि सारिएको संविधानसभाको बैठक फेरि सहमति जुट्ने जस्तो भएपछि साँझ ६ बजे बस्ने भनियो। त्यसपछि नौ बजेका लागि सारियो। फेरि सहमति नहुने देखिएपछि आइतबार दिउँसो १ बजेका लागि सारिएको छ।


