बायोमेट्रिक लागु

काठमाडौं, २५ साउन । मलेसिया जाने नेपाली कामदारका लागि बायोमेट्रिक प्रणाली अन्तर्गतको बायोमेडिकल शुरु भएको छ । श्रम तथा रोजगार मन्त्रालय र संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले शर्तसहित लागु गर्न अनुमति दिएपछि लागु भएको हो ।

यसअघिनै लागूको अन्तिम तयारीमा रहेको यो प्रणाली समितिकै निर्देशनमा रोकिएको थियो । समितिले केही दिन अगाडि श्रम तथा रोजगार मन्त्रालयलाई बायोमेट्रिक प्रणाली केही शर्तसहित लागू गराउन सकिने निष्कर्षसहितको एक प्रतिवेदन बुझाउदै यसलाई लागू गर्ने ढोका खोलिदिएको हो । 

गत माघमा मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणका क्रममा गरिन लागिएको बायोमेट्रिक प्रणालीका विषयमा छानबिन गर्नुपर्ने भन्दै यसलाई तत्काल लागू नगराउन समितिले श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएपछि यो रोकिएको थियो ।

समितिले बायोमेट्रिककोे विषयको अध्ययन तथा छानविनका लागि समितिका सदस्य जितेन्द्रदेवको संयोजकत्वमा एक उपसमिति नै गठन गरि आफ्नो काम थालेको थियो । यसैको अध्ययन पश्चात समितिले ५ पृष्ठको प्रतिवेदन श्रम तथा रोजगार मन्त्रालयलाई बुझाएको हो । समितिका सदस्य जितेन्द्रदेवको संयोजकत्वमा रहेको टोलीले बायोमेट्रिक लागू गर्नुपर्ने कारणसहितको प्रतिवेदन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई बुझाएको होे ।

समितिका सभापति प्रभु साहले अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाएको जनाउदै केही शर्तसहित बायोमेट्रिक लागू गर्दा राम्रो हुने प्रतिक्रिया दिएका थिए । मलेसियाले आफुले कामदार आपूर्ति गर्दै आएको १५ वटै मुलुकमा एकसाथ बायोमेट्रिक प्रणाली लागू गर्ने प्रयास गरेपनि पाइलट प्रोजेक्टका रुपमा शुरुमा नेपाल र बंगलादेशमा लागू गर्न लागेको हो ।

मलेसियाले बेस्टिनेट डिएचटी आइएनएटी कम्पनीमार्फत् यो प्रणाली लागू गराउन लागेको हो । उक्त ‘फरेन वर्कस सेन्टरलाइज म्यानेजमेन्ट सिस्टम सफ्टवयर’ लगायतका उपकरणलाई करिब ८ लाख लाग्ने तथा उक्त उपकरण बेष्टिनेटसँग खरिद गर्नुपर्ने प्रावधान थियो । उक्त उपकरण नेपालका ३९ वटा स्वास्थ्य संस्थाले जडान गरि बायोमेट्रिक प्रणाली अन्तर्गत मेडिकल गर्न थालेको नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले जानकारी दिए ।

यता मन्त्रालयले बायोमेट्रिक प्रणालीलाई छ महिना परीक्षणकाल तोकेर अनुमति दिएको छ  । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बायोमेट्रिक प्रणाली परीक्षणकालका रूपमा लागू हुने बताए । नेपाल स्वास्थ व्यवसायी महासंघको अगुवाइमा बायोमेट्रिक हाल ३९ वटा मेडिकलमा बायोमेट्रिक प्रणाली जडान गरिएको छ भने अन्यलाई चाडै अनुमति प्रदान गर्ने बेस्तिनेटले जनाएको छ ।

,