सुर्खेतमा कर्फ्यु : एकको मृत्यु, जुम्लामा प्रदर्शन नियन्त्रण बाहिर
सुर्खेत, २५ साउन ।अखण्ड मध्यपश्चिम र सुर्खेतलाई संघीय राजधानी बनाउन माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक हुँदा एकजनाको ज्यान गएको छ ।
आइतबारदेखि सुरु आन्दोलन अनियन्त्रित हुँदै गएपछि स्थानीय प्रशासनले आज (सोमबार) साढे एक बजे कर्फ्यु लगाएको थियो । कर्फयू उल्लंघन गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको हो ।
मृतकको पहिचान हुन सकेको छैन । उनको शव अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भिड नियन्त्रण गर्न हवाइ फायर गरिँदा घटना भएको बताए । 'के कति क्षति भयो भन्नेबारे अहिले विस्तृत जानकारी आएको छैन,' उनले भने । कर्फयू राति ९ बजेसम्मको लागि लगाइएको उनले बताए ।
आन्दोलनकारीले सुरुमा झुप्रा बृहत खानेपानी आयोजनाको कार्यालयमा तोडफोड गरेका थिए । त्यसपछि उनीहरु जिल्ला प्रशासन कार्यालयतिर गएका थिए । अनियन्त्रित आन्दोलनले जिल्ला विकास समितिको कार्यालय, नगरपालिका कार्यालय, सभासद एवं कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा समेत आगजनी गरेका छन् । खड्काको घरमा रहेका गाडी र जिल्ला प्रहरीप्रमुखको गाडीसमेत आगजनी गरेका प्रहरीले जनाएको छ ।
जुम्लामा प्रदर्शन नियन्त्रण बाहिर
अखण्ड कर्णालीको माग गर्दै जुम्लामा शुरु भएको आन्दोलन प्रहरी प्रशासनको नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले सेनासँग सहयोग मागेको छ ।
कर्णालीका पाँचै जिल्ला एउटै प्रदेशमा हुनुपर्ने माग गर्दै जुम्लामा विहानैदेखि आन्दोलन जारी छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा केही घाइते भएका छन् ।
स्थिति नियन्त्रण बाहिर गएपछि सेनाहरु सडकमा देखिएका थिए । स्थानीय प्रशासनले सेना लगाएर अखण्ड कर्णालीको माग दबाउन खोजेको भन्दै प्रदर्शनकारी आक्रोशित भएका छन् ।