उपत्यकामा बाँच्न मात्रै महिनामा १७ हजार
काठमाडौं, २६ साउन। काठमाडौं उपत्यकामा सामान्य जीवनयापन गर्न एक व्यक्तिले वार्षिक ४१ हजार रुपैयाँ कमाउनैपर्ने देखिएको छ । पाँच सदस्य भएको परिवारको मासिक खर्च भने १७ हजार रुपैयाँ देखिन्छ ।
केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्नेहरूका लागि गरिबीको रेखा ४० हजार नौ सय ३३ रुपैयाँलाई मानिएको छ । तथ्यांकअनुसार सामान्य जीवनयापन गर्न काठमाडौंमा प्रत्येक दिन एक व्यक्तिको एक सय १२ रुपैयाँ खर्च हुन्छ । प्रतिमहिना तीन हजार चार सय ११ रुपैयाँ खर्च हुन्छ । यो संख्या खाद्य र गैरखाद्य पदार्थमा हुने खर्च हो ।
तथ्यांकअनुसार काठमाडौंमा खाद्य सामग्रीअन्तर्गत एक व्यक्तिले एक वर्षमा १४ हजार ६ सय ९५ रुपैयाँ खर्च गर्छ । यस आधारमा एक व्यक्तिले प्रतिदिन ४०.२६ रुपैयाँ खर्च गर्छ । प्रतिमहिना भने एक हजार दुई सय सात रुपैयाँ खर्च गर्छ ।
खाद्य सामग्रीअन्तर्गत फाइन राइस, कोर्स राइस, बिटन राइस, मकै, गहुँ, कोदो पर्छन् । त्यस्तै, दालजन्यमा मास, मसुरो, चना पर्छन् । दूध तथा तेलजन्य पदार्थमा दूध, बेबी मिल्क, दही, घ्यु, वनस्पति तेल, तोरीको तेल पर्छन् । तरकारीजन्य पदार्थमा आलु, प्याज, काउली, गोलभेँडा, तितेकरेला, पिँडालु र परबल पर्छन् । फलफूलजन्य पदार्थमा केरा, आँप, स्याउ, कटहर, मौसम र मेवा पर्छन् । मासुजन्य पदार्थमा माछा, खसीको मासु, कुखुराको मासु र अन्डा पर्छन् । मिठाइजन्यमा चिनी, सक्खर र मिठाइ पर्छन् ।
गैरखाद्य पदार्थअन्तर्गत एक व्यक्तिले एक वर्षमा २६ हजार तीन सय २३ रुपैयाँ खर्च गर्छ । यस आधारमा प्रतिदिन गैरखाद्यअन्तर्गत ७२ रुपैयाँ खर्च हुन्छ । प्रतिमहिना दुई हजार एक सय ६३ रुपैयाँ खर्च हुन्छ । गैरखाद्य पदार्थअन्तर्गत घरभाडा, घरायसी सामान, घरायसी टिकाउ सामान, कपडा, बारम्बार हुने खर्च, शिक्षा खर्च, इन्धन खर्च, खैनी खर्च, चुरोट–बिँडी खर्च र तमाखु खर्च पर्छन् ।
गरिब घरपरिवार सहयोग समन्वय बोर्डका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार यो तथ्यांक देशको नगर–ग्रामीण संरचना, आवास, रोजगारी, आम्दानी, खर्चलगायतका क्षेत्रलाई आधार मानेर निकालिएको हो । उनले भने, ‘तथ्यांक निकाल्दा विभिन्न इन्डिकेटर प्रयोग गरिएका छन् । यसमा आम्दानी, खर्च, खाद्य र गैरखाद्यलगायका विभिन्न क्षेत्रलाई इन्डिकेटरका रूपमा प्रयोग गरिएका छन् ।’
प्रति महिना १७ हजार
उपत्यकामा सामान्य जीवनयापन गर्न पाँच सदस्य भएको परिवारका लागि प्रतिमहिना १७ हजार रुपैयाँ खर्च हुने देखिएको छ ।
तथ्यांक विभागले गरेको सर्वेक्षणका आधारमा उपत्यकामा सरदर एउटा परिवारमा पाँच सदस्य रहन्छन् । प्रतिवर्ष प्रतिव्यक्ति ४० हजार नौ सय ३३ रुपैयाँ खर्च हुने दरले पाँच सदस्य भएको परिवारमा प्रतिवर्ष दुई लाख ४६ हजार ६५ रुपैयाँ खर्च हुन्छ । यस आधारमा पाँच सदस्य भएको परिवारका लागि प्रतिमहिना १७ हजार ५५ रुपैयाँ खर्च लाग्ने देखिएको हो ।
खाद्य सामग्रीअन्तर्गत पाँच सदस्य रहेको परिवारका लागि ७३ हजार चार सय ७५ रुपैयाँ लाग्छ । यस आधारमा प्रतिमहिना पाँच सदस्य भएका परिवारका लागि ६ हजार एक सय २२ रुपैयाँ खर्च हुन्छ । गैरखाद्य सामग्रीअन्तर्गत पाँच सदस्य भएको परिवारका लागि प्रतिवर्ष एक लाख ३१ हजार ६ सय १५ रुपैयाँ खर्च लाग्छ । यस आधारमा प्रतिमहिना पाँच सदस्य भएको परिवारका लागि १० हजार नौ सय ६७ रुपैयाँ खर्च हुन्छ ।


