सरकार–३३ दल बैठक सकारात्मक, अर्को बैठक आइतबार
भदौ १ : सरकार र नेकपा–माओवादीसहित ३३ दलबीच भएको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् । बैठकपछि सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले आजको वार्ताले दुवै पक्षबीच विश्वासको वातावरण बनेको र वार्ता सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँले मङ्सिर ४ गतेको संविधान सभा निर्वाचनलाई ध्यानमा राखी वार्ता प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्नुभयो ।नेकपा–माओवादीका सचिव देव गुरुङले आजको वार्ताले विश्वासको वातावरण तयार पारेको, सरकारको भूमिका कस्तो हुने र सङ्क्रमणकालको समाप्ति आवश्यक छ भन्ने विषयमा केन्द्रित रही छलफल भएको बताउनुभयो । उहाँले आफूहरुले राखेको १८ बुँदे मागका बारेमा छलफल भएको, ती माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको र मागको अन्तरवस्तुका बारेमा छलफल भएको बताउनुभयो ।
आजको छलफल सकारात्मक भएको र मागको विषयमा थप छलफल गर्न अर्को बैठक पर्सि आइतबार ३:०० बजे पुनः बस्नेछ । बबरमहलस्थित शान्ति कोषको कार्यालयमा भएको वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री माधवप्रसाद घिमिरे, सञ्चारमन्त्री माधवप्रसाद पौडेल र स्वास्थ्य मन्त्री विद्याधर मल्लिक सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै, ३३ दलको तर्फबाट नेकपा–माओवादीका सचिव देव गुरुङ, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य पासाङ शेर्पालगायतको सहभागिता रहेको थियो ।
स्रोत: अन्य पत्रीका

