निर्वाचन भाडन खोजियो: प्रचण्ड

३० साउन,

 एकीकृत नेकपा (एमाओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन मुद्दालाई उचालेर संविधानसभा निर्वाचनको प्रक्रिया भाडन खोजिएको आरोप लगाएका छन् ।

पेरिसडाडा स्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनले द्वन्द्व पीडितका नाममा गोरखाका कृष्णप्रसाद अधिकारीको घटनालाई नाटकीय रुपमा प्रचार गरिएको र समग्र शान्ति प्रक्रियाको जगलाई नै भत्काउन खोजिएको आरोप लगाए । जनयुद्धको समयमा २०६१ सालमा भएको अधिकारीको घटनामा स्थानीय चितवन पार्टीले त्यति बेलै स्पष्ट पारिसकेको जनाउदै उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रभित्र पर्ने सो घटनालाई अनुचित रुपमा उचालिएको बताए ।

सो घटना सँग कुनै पनि सरोकार नै नभएकी एमाओवादी सम्बद्ध नेवा राज्य समिति सदस्य जानुका पौडेल लगायतका नेता–कार्यकर्तालाई आरोपित गरिनु, उनीहरुलाई सार्वजनिक रुपमा गाली–बेइज्जती गरिनु, अपहरणको धम्की दिनु जस्ता प्रकरण अदृश्य गुरुयोजना अन्तर्गत भइरहेको समेत उनको भनाइ छ । अध्यक्ष प्रचण्डले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश विरुद्ध लागेका व्यक्ति र शक्तिहरु नै दोस्रो संविधानसभा निर्वाचनको मुखमा अधिकारीको मुद्दा चर्काउन क्रियाशील देखिनुले सङ्क्रमणकालीन राजनीतिक अवस्था र शान्ति प्रक्रिया भाड्ने गम्भीर षड्यन्त्र भइरहेको सबैले बुझ्नु जरुरी छ ।’

आफ्ना कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारवाही गरिनुपर्ने माग गर्दै केही दिनदेखि आमा गङ्गामाया अधिकारी र बाबु नन्दप्रसाद अधिकारी वीर अस्पतालको आकस्मिक कक्षमा अनसनमा बसेका छन् ।