मेलम्ची ६ महिना सर्यो
काठमाडौं, ६ पुस । उपत्यकाबासीको घरका धारामा मेलम्चीको पानी तोकिएभन्दा ६ महिना ढिलो मात्रै पुग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले १४ असोज ०७३ मा मात्रै उपत्यकामा पानी वितरण गर्न सकिने संसदीय समितिलाई जानकारी गराएको छ ।
यसअघि आयोजनाले १ वैशाख ०७३ मा मेलम्चीको पानी उपत्यकाबासीको घरमा पुग्ने घोषणा गरेको थियो । सुरुङ निर्माणमा ठेकेदार कम्पनीले ढिलो गरेकाले ६ महिना ढिलो हुने आयोजनाले जनाएको छ ।
संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोली मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणबारे शुक्रबार स्थलगत अनुगमनमा गएको थियो । सो क्रममा आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले प्रगति–विवरण बुझाउँदै ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गरेको बताएका हुन् ।
‘ठेकेदार कम्पनीले सुरुङ निर्माणमा ढिलाइ गरेको छ,’ भट्टराईले भने, ‘भौगोलिक अनविज्ञता, कमसल विस्फोटक पदार्थ, दक्ष जनशक्ति अभावलगायतका कारण ठेकेदार कम्पनीले सुरुङ निर्माणमा ढिला गरेको छ, सुधार हुँदै छ ।’
यसअघि तोकिएको समयअनुसार उपत्यकामा १ वैशाख ०७३ भित्र पानी ल्याउन ठेकेदार कम्पनीले दैनिक ४० मिटरका दरले सुरुङ खन्नुपर्ने थियो । तर, ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दी रेभेन्ना)ले दैनिक २५ मिटरका दरले मात्रै सुरुङ खन्दै आएको छ ।
आयोजनाको सुरुङमार्गको कुल लम्बाइ २६.६ किमि छ । हालसम्म १०.६२६ किमि सुरुङ मात्र खनिएको छ । यसअघिको चिनियाँ ठेकेदार कम्पनीले सात किमि खनेको थियो भने हालको कम्पनीले ३.६२६ किमि मात्र सुरुङ खनेको छ । अब करिब १६ किमि सुरुङ खन्न बाँकी नै छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि डा. रोबर्ट सेचमिजले सुरुङ खन्ने क्रममा भेटिएका चट्टान र कमसल विस्फोटक पदार्थका कारण लक्ष्यअनुरूप काम हुन नसकेको बताए । ‘अनुमान गरिएभन्दा फरक प्रकृतिको चट्टान भेटियो । तर, विस्फोटक पदार्थ कमसल भए,’ सेचमिजले भने, ‘४० प्रतिशत जनशक्ति नेपाली छ । तर, दक्ष छैन । दक्ष र अदक्ष जनशक्तिबीच सन्तुलन गर्न भाषा मिलेन । काम भइरहेको छ, समयमै सक्ने प्रयासमा छौँ ।’
चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले छाडेपछि ३१ असार ०७० बाट इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले आयोजना निर्माणको ठेक्का लिएको छ । ठेक्का सम्झौतामा ठेकेदार कम्पनीले सबै काम ३६ महिना १५ दिनमा सक्नुपर्ने उल्लेख छ । सम्झौतायता कम्पनीले १४ महिना १५ दिन काम गरिसकेको छ ।
चार स्थानबाट सुरुङ खनिँदै
ठेकेदार कम्पनीले मेलम्चीको पानी काठमाडांै ल्याउन चार भागमा विभाजन गरी सुरुङ खन्दै आएको छ । अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलबाट सुरुङ खन्ने काम भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अम्बाथानदेखि ग्याल्थुमसम्म आठ, ग्याल्थुमदेखि सिन्धुसम्म ८.५ किमि र सिन्धुदेखि सुन्दरीजलसम्मको लम्बाइ १०.१ किमि छ । विभाजन गरिएका चारवटै स्थानसम्म जाने मार्ग भने खनिसकिएको छ ।
आयोजनाको लागत सात अर्ब ७२ करोड ३४ लाख ७१ हजार तीन सय ४२ रुपैयाँ छ । ६ महिनाअघि नै काम सके आयोजनाले ठेकेदार कम्पनीलाई प्रतिदिन ३८ लाख ६१ हजार सात सय ३५ का दरले ६ महिनाको एकमुष्ठ ६९ करोड ५१ लाख १२ हजार तीन सय रुपैयाँ बनोस दिने भनेको थियो । तर, काम नसकिने भएपछि ठेकेदार कम्पनीले बोनस पाउने सम्भावना कम छ ।
‘काम चाँडो होस् भन्ने उद्देश्यले बोनस रकम दिने भनेका थियौँ,’ आयोजनाका कार्यकारी निर्देशक भट्टराईले भने, ‘तर अब सबै बोनस रकम नपाउने भएको छ । त्यो रकम अब आयोजनामा नै खर्च हुनेछ ।’
निर्माणाधीन सो आयोजनामा सबैभन्दा धेरै एसियाली विकास बैंक (एडिबी)को लगानी छ । आयोजनाको रिपोर्टअनुसार एडिबीले १०३.८ मिलियन अमेरिकी डलर लगानी गरेको छ । नेपाल सरकारले ७३.९ मिलियन अमेरिकी डलर लगानी गरेको छ । त्यस्तै, जापानी दातृ निकाय जेबिकले ४७.५ मिलियन र जाइकाले १८ मिलियन अमेरिकी डलर लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार एनडिएफले १०.५ मिलियन र ओपेकले १३.७ मिलियन अमेरिकी डलर लगानी गरेको छ । यसमध्ये जाइकाको अनुदान रकम हो । बाँकी दातृ निकायको ऋण लगानी हो ।


