सीमामा दु:ख पाए ११३ मा फोन गर्नुस्

काठमाडौं, ६ मंसिर । भारत जाँदा/आउँदा सीमामा दु:ख पाउनुभएको छ ? छ भने १११४ नम्बर नबिर्सनुहोस् । सीमामा कुनै समस्या भएमा १११४ मा फोन गरे प्रहरीले तपार्इंलाई सहयोग गर्नेछ । सशस्त्र प्रहरी बलले भारतसँगको सीमामा ओहोरदोहार गर्दा हुने दुव्र्यवहारलगायत समस्या हल गर्न हटलाइन सञ्चालनमा ल्याएको हो । चौबीसै घन्टा उक्त हटलाइनमा फोन गर्न सकिने र प्रहरीले सहयोग गर्ने बलले जनाएको छ । 

पैसा नलाग्ने उक्त नम्बरमा फोन गरेपछि नजिकै खटिएका सशस्त्र प्रहरी सहयोग गर्न आउनेछन् ।  सीमावर्ती विभिन्न नाकामा यात्रा गर्दा सर्वसाधारणले दु:ख पाउने गरेको समस्या सुनिएपछि सशस्त्र प्रहरी बलले हटलाइन सेवा सुरु गरेको हो । त्यसका लागि नम्बरसहितको साइन बोर्ड पनि सशस्त्र प्रहरीले विभिन्न ६६ स्थानमा राखेको छ ।  सीमामा भारतीय सीमा सुरक्षा बल, नेपालकै सुरक्षाकर्मी तथा आपराधिक समूहबाट नेपालीले दु:ख पाउँदै आएका छन् । 

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा हालै सम्पन्न ‘नेपाल–भारत समन्वय बैठक’ मा रोजगार, व्यापार तथा कामविशेषले सीमा वारिपारि गर्दा नेपाली नागरिक सीमाक्षेत्रमा सुरक्षाकर्मी तथा अन्य व्यक्तिबाट दुव्र्यवहारमा परेको विषयमा छलफल भएपछि समाधानका लागि दुवै देशले पहल गर्ने सहमति भएको थियो । यसै क्रममा दुवै देशको सुरक्षा निकायको फोन नम्बर उल्लेख गरिएको साइनबोर्ड सीमावर्ती इलाकामा राखिएको हो । सीमा सुरक्षाको जिम्मेवारी सरकारले सशस्त्र प्रहरीलाई दिएको छ ।
 

,