विप्लवविनाका वैद्य

काठमाडौं, २५ मंसिर । नेकपा–माओवादी विभाजन भएपछि अध्यक्ष मोहन वैद्य किरणमाथि ठूलो संगठनात्मक दबाब सिर्जना भएको छ । संगठन बलियो नबन्दै तथा पार्टीले अघि सारेको आन्दोलन नयाँ चरणमा प्रवेश नगर्दै युवा नेताहरूसहितको समूह हिँडेपछि उनी दबाबमा परेका छन् । नेतृत्वले ‘क्रान्तिकारी पार्टी निर्माण गर्न नसकेको’ आरोप लगाउँदै सचिव नेत्रविक्रम चन्द विप्लव समूहले पार्टीसित सम्बन्धविच्छेद गरेको थियो । उनको संयोजकत्वमा नयाँ पार्टी ‘नेकपा ९माओवादी०’ गठन भएको छ । 

 माओवादीका पूर्वनेता एवं क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले विप्लवको सम्बन्धविच्छेदले वैद्यमाथि ठूलो राजनीतिक दबाब पैदा गरेको बताए । ‘वैद्यजीमाथि नेतृत्व कुशलताको प्रश्न उठेको छ, पहिलो चरणमा उहाँले जानीजानी नेतृत्व प्रचण्डलाई हस्तान्तरण गरेको भन्नुभएको थियो, तर अहिले वैचारिक धरातलअनुसार नेतृत्व गर्न नसकेको भनेर विप्लवले प्रश्न उठाएपछि उहाँमाथि दबाब परेको छ,’ थापाले भने, ‘अब समस्या विप्लवलाई भन्दा वैद्यलाई बढी छ, नेकपा–माओवादी गठनका सूत्रधार नै निस्केपछि अब के गर्ने भन्ने समस्या वैद्यजीलाई परेको हुनुपर्छ ।’

 सेक्टरकाण्डपछि वैद्यले महामन्त्रीबाट राजीनामा दिएर प्रचण्डलाई नेतृत्व सुम्पेका थिए । ‘भिन्दाभिन्दै स्पेसभन्दा पनि सबै माओवादी एक ठाउँमा हुँदा मात्र स्पेस सुरक्षित हुन्छ,’ थापाले भने । चुनावी राजनीतिमा एकीकृत माओवादी र संघर्षको राजनीतिमा विप्लवको नयाँ पार्टी हाबी हुनसक्ने विश्लेषकहरू बताउँछन् । सर्वपक्षीय राजनीतिकसभाको माग र सामान्य विरोधका कार्यक्रमबाट मात्रै नेकपा–माओवादीले ‘राजनीतिक स्पेस’ बनाइराख्न कठिन देखिने उनीहरूको विश्लेषण छ । विप्लव नेकपा–माओवादी गठनका सूत्रधारमध्येका एक हुन् । नयाँ पार्टी गठनसँगै उनले सडकमा आफ्नो उपस्थिति जनाउने संकेत दिएका छन् । ११ पुसमा उनले खुलामञ्चमा सभा गर्ने योजना सार्वजनिक गरिसकेका छन् । 

वैद्य माओवादीले भने सडक संघर्षका कार्यक्रम तय गर्न सकेको छैन । बरु, प्रधानमन्त्री सुशील कोइरालालाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै माग पूरा नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको छ । नेकपा–माओवादीका नेताहरू भने नेतृत्वमाथि कुनै दबाब नपरेको दाबी गर्छन् । पोलिटब्युरो सदस्य नारायणप्रसाद शर्माले विगतमा नेतृत्वले ल्याएका योजना विप्लव समूहले कार्यान्वयन गर्न नदिएर असफल पार्ने कोसिस गरेको बताए । ‘कार्यक्रम नभएको होइन, कार्यान्वयनमा अवरोध भएको हो,’ उनले भने, ‘नेतृत्व उदार हुँदा अनुशासन पालना नगर्ने समस्या आयो, अब कार्यक्रम गर्न कुनै दबाब हुँदैन ।’ वर्षा र चाडपर्वले पछिल्ला चार–पाँच महिना प्रभावकारी आन्दोलन नभएको र प्रभावकारी आन्दोलन गर्ने वेला विप्लव समूहले सम्बन्धविच्छेद गरेको उनले बताए । नेकपा–माओवादी गठन गरेयताका अढाइ वर्ष वैद्यका लागि राजनीतिक, वैचारिक, व्यावहारिक र प्राविधिक हिसाबले तनावपूर्ण बनेको पार्टीकै केही नेताहरू बताउँछन् । आफ्नो पहिचान र अस्तित्वका लागि नेकपा–माओवादीले ‘एन्टिकरेन्ट पोलिटिक्स’ गरेको थियो । तर, विप्लवको सम्बन्धविच्छेदले त्यो ‘विरासत’ वैद्यबाट बाहिर जानसक्ने उनीहरूको बुझाइ छ । विप्लवले वैद्यमाथि नेकपा–माओवादी गठनपछिको राजनीतिलाई ठीक ढंगले अगाडि बढाउन नसकेको आरोप लगाएका छन् । सम्बन्धविच्छेदको पत्रमा विप्लवले ‘किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने र वर्गसंघर्षको नेतृत्व गर्न नसक्ने’ उल्लेख गरेका छन् । 

‘किरणलगायतका कमरेडहरूको भूमिकाले पार्टीको गत्यावरोध झन् बढ्ने’ भन्दै उनले किरण नेतृत्वको पार्टीमाथि नै प्रश्न उठाएका छन् । एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले विप्लवको सम्बन्धविच्छेदले क्रान्तिकारी आन्दोलनमा क्षति पुर्‍याउने बताए । ‘कम्युनिस्ट आन्दोलनमा टुटफुट र विभाजन विश्व एवं नेपालकै रोग हो, जनयुद्धपछि एकमत भएको वामपन्थी जनमत क्रमशस् भत्किन थालेको छ,’ उनले भने, ‘यसले वैद्यजी एक्लैलाई भन्दा पनि वामपन्थी कित्तामा नोक्सान पुर्‍याउँछ । यसले सर्वहारा वर्गलाई नभई प्रतिक्रान्तिकारीलाई फाइदा पुर्‍याउँछ, वैद्यजीमाथि नैतिक दबाब त बनाउन नै ।’ विप्लव समूहले सम्बन्धविच्छेद गरेर नयाँ पार्टी गठन गरे पनि पार्टीको मूल नेतृत्वमा भने वैद्यकै पकड छ । ‘यो उहाँको राजनीति अगाडि बढाउने आधार हो,’ उनीनिकट एक केन्द्रीय सदस्यले भने । वैद्यसँग उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा बादल, सचिव देव गुरुङ, प्रवक्ता पम्फा भुसाल, पोलिटब्युरो सदस्यहरू नारायण शर्मा, हितमान शाक्य, हरिभक्त कँडेलजस्ता नेता छन् । ४३ सदस्यीय केन्द्रीय समितिमा १२ जना विप्लवतिर गए पनि अरू संस्थापन पक्षमै छन् । 

वैद्यका समस्या 
– किरणले दोस्रो तहमा बसेर मूल नेतृत्वको आलोचना गर्दै दुई दशकदेखि राजनीति गरिरहे । तर, नेकपा–माओवादीको विवाद व्यवस्थापन गर्ने जिम्मा आफँैले लिनुपर्‍यो । ‘उहाँले दोस्रो, तेस्रो तहको भूमिका राम्रोसँग पूरा गर्नुभएको थियो, तर आफँै पहिलो व्यक्ति हुनुपरेपछि त्यति प्रस्ट हुन सक्नुभएको छैन,’ माओवादीका एक पोलिटब्युरो सदस्यले भने, ‘दोस्रो व्यक्ति हुँदा जवाफ दिनुपर्दैनथ्यो, नयाँ पार्टीपछि सबै कुराको जवाफ दिनुपरेको थियो छ ।’ उनी नेतृत्व हस्तान्तरण गर्नसक्ने अवस्थामा पनि छैनन् । 
– अन्तर्विरोध दर्शन राम्ररी पढेका छन् किरणले । उनले पार्टीको आन्तरिक पंक्तिमा यो विषयमा लामो छलफल र बहस गर्न सक्छन् । तर, अन्तर्विरोध व्यवस्थापन र हल गर्ने विषयमा उनी आफैँ भने कमजोर देखिए । यसैकारण पार्टीको सानो–सानो विवाद पनि सहजै हल गर्न सकेनन् । 
– नेता भएपछि खुलेर बोल्नुपर्छ र राजनीतिक रूपले अलिकति बाक्लो भेटघाट गर्नुपर्छ । तर, किरणमा यो स्वभाव छैन । उनमा अन्तर्मुखी स्वभाव छ । यसले उनी र कार्यकर्ता तथा अन्य पार्टीबीचको दूरी अलि लामो छ । यो पार्टीपंक्तिमा त्यति रुचाइएको छैन । 
 – कार्यकर्ता आफ्नो नेतृत्व सत्तामा पुगोस् भन्ने महत्त्वाकांक्षा राख्छन् र देशलाई नयाँ गति देओस् भन्ने चाहन्छन् । तर, किरणले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री केही हुन्नँ भनेका छन् । 
 – उनी नेता मात्र बन्न चाहन्छन् । देशलाई नेतृत्व दिने नेता खोजेका कार्यकर्ताका लागि उनको अभिव्यक्ति बाधकजस्तो देखिन्छ । कार्यकर्ताबीचको समन्वय र अन्तर्संघर्ष व्यवस्थापनमा उनले निर्णायक हस्तक्षेप गर्न सकेनन् । झमेलाको भारी पार्टी विभाजनअघिदेखि नै अध्यक्ष वैद्यमाथि दर्जनौँ झमेला थिए, जसलाई उनले व्यवस्थापन गर्न सकेका थिएनन् । 

एमाओवादीबाट अलग भई नेतृत्व सम्हाल्दा उनी खुसी थिएनन्, बरु बाध्यात्मक रूपमा नेतृत्व लिएका थिए । नयाँ पार्टी गठनयता उनी न चुनाव स्विकार्ने अवस्थामा रहे न विद्रोहको आधार नै बनाउन सके । पार्टी सडक–संघर्षमा गए पनि संघर्ष प्रभावकारी नभएकोमा उनी तनावमा थिए । उनलाई आर्थिक व्यवस्थापनको झमेला पनि उस्तै थियो, अहिले पनि छ । किनभने सम्बन्धविच्छेदअघिसम्म त्यसको जिम्मा विप्लवले नै लिएका थिए । ६७ वर्षीय किरण शारीरिक रूपमा पनि कमजोर हुँदै गएका छन् । आफैँ सडकमा नेतृत्व गरेर हिँड्न सक्ने अवस्थामा पनि छैनन् । 

संगठन विस्तार र आन्दोलनका लागि दौडधुप गर्न नसक्दा त्यसको फाइदा पार्टीका अन्य नेताहरूले उठाइरहेका छन् । ५ असार ०६९ मा नेकपा–माओवादी गठन भएयता राजनीतिक लाइनमा नेतृत्व अस्पष्ट भएको आरोप उनीमाथि लाग्ने गरेको छ । चुनाव बहिष्कारदेखि अन्य संघर्षका कार्यक्रम नतिजाउन्मुख नहुँदा त्यसको दोष पनि वैद्यमाथि नै थोपरिने गरेको छ । ‘सानोमा त सपना पनि सानासाना नै हुने रहेछन् । आर्थिक र पारिवारिक कारणले पनि सपना ठूला नहुँदा रहेछन् । कुनैवेला म एउटा असल मास्टर हुने सपना देख्थेँ,’ नयाँ पत्रिकासँगको एउटा अन्तर्वार्तामा उनले भनेका थिए, ‘परिस्थितिले सपना भत्काइदियो र जीवनमा नयाँ सपना देख्न थालेँ । १७र१८ वर्षको युवा उमेरमा क्रान्तिमा लाग्ने र देश र जनताको सेवक बन्ने सपनाले पछ्यायो ।’

,