प्रचण्डको अर्को गठबन्धन
काठमाडौं, २७ मंसिर । राजनीतिक समितिको नेतृत्वबाट हटे लगत्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा १९ दलीय संघीय लोकतान्त्रिक गठबन्धन निर्माण गरेका छन्।
गत असोज २२ गते प्रमुख राजनीतिक दलबीच भएको सहमतिमा एमाओवादी अध्यक्ष प्रचण्डले दुई महिना राजनीतिक समितिको नेतृत्व गर्ने उल्लेख थियो। उक्त सहमति अनुसार समितिमा प्रचण्डको नेतृत्व मंसिर २२ गते नै सकिइसकेको छ। समितिमा आफ्नो नेतृत्व गुमे लगत्तै प्रचण्डले शुक्रबार फेरि आफ्नै नेतृत्वमा अर्को गठवन्धन बनाएका हुन्।
'शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न सहयोग पुर्याउन र राजनीतिक दलबीचमा पारस्परिक समझदारी विकसित गर्ने कार्यमा मद्दत गर्न' राजनीतिक समिति गठन भएको थियो। समानुपातिक समावेशी प्रतिनिधित्व एवं पहिचान र सामर्थ्यको मुद्दा उल्टने अवस्था उत्पन्न भएकाले गठबन्धन निर्माण गरिएको १९ दलीय गठबन्धनले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ।
व्यर्थै गयो प्रचण्डको दुई महिना
दुई महिना प्रचण्ड संयोजक रहँदा समितिको बैठक केबल तीन पटकमात्र बसेको थियो। राजनीतिक समितिले सचिवालय स्थापना गर्न र कर्मचारी ब्यवस्था गर्न सरकारलाई आग्रह गरे पनि सरकारले त्यसतर्फ ठोस पहल गरेको थिएन।
प्रचण्ड नेतृत्वको गठबन्धनमा संविधानसमा रहेका अधिकांश मधेसकेन्द्रित दल सहित १९ दल सहभागी छन्।यस्तै प्रकृतिको गठबन्धन एमाओवादीले पहिलो संविधानसभा अघि समेत गठन गरेको थियो। तर अहिले उक्त गठबन्धन निष्क्रिय छ।
कुन कुन दल छन् गठबन्धनमा?
गठबन्धनमा एकीकृत नेकपा माओवादीसहित संविधानसभामा रहेका १९ दल आवद्ध छन्। एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धनमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी आवद्ध छन्।
यस्तै संघीय समाजवादी पार्टी, नेपाल, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा,समाजवादी जनता पार्टी, नेपाली जनता दल, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाः राष्ट्रिय पार्टी, संघीय सद्भभावना पार्टी, मधेस समता पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र दलित जनजाति पार्टी, नेपाल आवद्ध छन्।
किन गठन भयो गठबन्धन?
'विगतमा पछाडि पारिएका समुदायलाई संविधानले प्रत्याभुत गरी ब्यवहारमा लागू भइसकेको अधिकारबाट समेत बञ्चित गराउने षड्यन्त्र भइरहेको अवस्थामा प्राप्त उपलब्धीको रक्षा गर्न' गठनबन्धन निर्माण गरिएको गठबन्धनका संयोजक प्रचण्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
एमाओवादी लगायतका मधेस केन्द्रित दलहरुले नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ संविधानमा रहने निर्वाचन प्रणालीमा तल्लो सदन प्रत्यक्ष निर्वाचित गर्ने सहमति गरेपछि त्यसको विरोध गर्दै आएका छन्।
उनीहरुले समावेशी सिद्धान्तबाट कांग्रेस र एमाले पछाडि हटेको भन्दै मिश्रित निर्वाचन प्रणालीको ब्यवस्था गर्न माग गर्दै आएका छन्।
यसअघि गत असोज २१ गते कांग्रेस र एमालेको सत्तारुढ गठबन्धनले बहुमतका आधारमा पेल्न खोजेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चा, साना दलको पहिचानमा आधारित सङ्घीय गठबन्धन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा आवद्ध दलहरुले असोज २४ गतेदेखि असोज ३१ गतेसम्म विभिन्न स्थानमा विरोध प्रदर्शन र जनसभा गर्दै आएका थिए।

