मोदी भारतमै असुरक्षित

श्रीनगर (भारत) – सार्क शिखर सम्मेलनको केन्द्रमा रहेका भारतीय प्रधानमन्त्री जति नेपालमा सुरक्षित थिए त्यति सुरक्षित आफ्नै मुलुकमा पनि नरहेको देखिएको छ। सार्क मुलुकबाट आएकामध्ये नेपालमा असुरक्षितमध्ये चौथो स्थानमा थिए मोदी। त्यसैले नेपालका सुरक्षा निकाय मोदीभन्दा अरु राष्ट्र/सरकार प्रमुखको सुरक्षामा सचेत थिए।

नेपालमा सुरक्षित मोदी आज आफ्नै मुलुकको श्रीनगरमा छन्। उनको श्रीनगर र्‍यालीमा उनको सुरक्षाका लागिमात्रै ४ हजार सुरक्षाकर्मी खटाइएको टाइम्सअफइन्डियाले जनाएको छ। 'हामी प्रधानमन्त्री मोदीको सुरक्षाका विषयमा कतै पनि चुक हुन दिन्नौ,' आइएएनएसलाई उदृत गर्दै पत्रिकाको अनलाइन एडिसनले लेखेको छ, 'गत शुक्रबार यहाँ नजिकैको गाउँमा भएको आतंकवादी हमलाले हामीलाई सचेत रहन बाध्य पार्‍यो।'

केन्द्र र राज्यका तर्फबाट गरी कूल ४ हजार सुरक्षाकर्मी मोदीको सभास्थलकै लागि खटिएका हुन्। मोदीले शेर ए कास्मिर क्रिकेट मैदानमा चुनावी सभालाई सम्बोधन गर्दैछन्।

'मोदीको सुरक्षाका लागि सहरको अन्य क्षेत्रमा खटाइएबाहेक ४ हजार सुरक्षाकर्मी यहाँ खटाइएको हो,' सुरक्षा अधिकारीले भनेका छन्, 'सुरक्षाका लागि धेरै ठाउँमा कन्सर्टिना (सुरक्षा दुवैतिर धार भएको काँडेतार) तार लगाइएको छ।'

सहरको विभिन्न भागमा सुरक्षा चेकपोस्टहरु खडा गरिएका छन्। सुरक्षा फौजको व्यापक परिचालन गरिएको छ। गुप्तचर संस्थाहरुलाई चौकन्न रहन निर्देशन दिइएको छ।

यतिमात्र होइन मोदीको सुरक्षाका लागि पाँच स्टेसनमा प्रहरीलाई परिचालन गरी निषेधित क्षेत्र घोषणा गरिएको छ।  

,