एएफसीको कारबाहीमा एन्फा
काठमाडौं, २० मंसिर । एएफसी यू–१६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी खेलाएको प्रमाणित भएपछि नेपाली युवा टोलीले अन्तर्राष्ट्रिय फुटबलमा निकालेको उपलब्धि छायाँ परेको छ ।
यसअघि विमल घर्तीमगरको नेतृत्वमा नेपालले निकालेको सफलताको सबैले तारिफ गरेका थिए । एशियाली फुटबलको सर्वोच्च संस्था एएफसीले नेपालमाथि २ हजार डलरको कारबाही गरेपछि आवश्यकताभन्दा बढी उमेरका खेलाडीलाई सहभागी गराएको रहस्य खुलेको हो । एएफसी यू–१६ च्याम्पियनसिपको नियमावली अनुसार धारा २२ (२) को उल्लंघन गर्दै एन्फाले बढी उमेरका खेलाडीलाई सहभागी गराएको एएफसीले जनाएको छ ।
एन्फामाथि प्रतियोगिताको अनुशाशनसम्बन्धी धारा ५५ ले निर्धारण गरेको कारबाही गरिएको छ । त्यसअनुसार अब अखिल नेपाल फुटबल संघले एएफसीलाई २ हजार डलर नगद जरिवाना बुझाउनुपर्ने छ । ३० दिनभित्रै जरिवाना तिर्नका लागि एएफसीले एन्फालाई निर्देशनसमेत दिएको छ ।
नेपालले उज्वेकिस्तान र उत्तर कोरियाविरुद्ध खेलेको खेलका सम्बन्धमा मात्रै एएफसीले निर्णय सुनाएको छ । छनोटदेखि नै नेपालमाथि कारबाही गर्दा प्रतियोगिताका सबै नतिजामा प्रभाव पर्ने भएकाले उत्तर कोरिया र उज्वेकिस्तानविरुद्धको खेलमा मात्रै कारबाही सुनाइएको हो ।
उज्वेकिस्तानविरुद्ध एक एकको बराबरी खेलेको नेपाली टोली उक्त खेलमा ३–० ले पराजित भएको निर्णय गरिएको छ । उत्तर कोरियाविरुद्ध भने नेपाल ४–१ ले पराजित भएको थियो ।
छनोटदेखि नै निकालेको थियो अस्वभाविक नतिजा
बढी उमेरका खेलाडी खेलाएको नेपालले प्रतियोगिताको छनोटबाटै आश्चर्यजनक नतिजा निकालेको थियो । नेपालले प्रतियोगिताको छनोटमा बहराइन र तुर्केमिनिस्तानमाथि जित निकालेको थियो । इराकलाई बराबरीमै रोकेको थियो । त्यसयता आफ्नो समूहमा शीर्ष स्थानमा रहेर प्रतियोगिताका लागि छनोट भएको नेपालले प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेको थियो । प्रतियोगितामा उज्वेकिस्तानसँग बराबरी खेलेको नेपाल कुवेतलाई हराएपनि उत्तर कोरियासँग पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो ।
प्रतियोगितामा सन् १९९८ जनवरी १ वा त्यसपछि जन्मिएका खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउने नियम भएपनि नेपालले बढी उमेरका खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको हो । पछिल्लो समय एकपछि अर्को खराब व्यवहारका कारण नेपाली फुटबल आलोचनाको घेरामा छ । एन्फा अध्यक्ष गणेश थापा फिफाको छानविनका क्रममा निलम्बनमा छन् । एशियाली खेलकुद प्रतियोगितामा म्याच फिक्सिङ खेलेको आरोपमा नेपालको यू–२३ टोलीसमेत छानविनमा छ ।


