कहिले जुर्ला लगन ?
काठमाडौं । अहिले मंसिर महिना । खासमा यो महिनालाई बिहेको मौसमका रूपमा बुझिन्छ । मंसिर सकिनै लागेको छ । उमेर पुगेर पनि अविवाहित रहेका हिरोइनको च्यानाकुटी–च्यानाकुटी झ्याइँ यसपालि देख्न नपाइने लगभग पक्का भएको छ ।
हुन त बिहे गर्न मंसिरै कुर्नुपर्छ भन्ने छैन । मन, परिस्थित मिले जति नै उमेर घर्किए पनि जुनसुकै महिनामा पनि बिहे हुन्छ । आधा शताब्दी उमेर खाएपछि अभिनेता राजेश हमालले गत जेठमा बिहे गरे । आर्यन सिग्देलले वैशाखमा सपना भण्डारीको सिउँदो रंगाए । रेजिना उप्रेतीले फागुनमा झ्याइँ पारिन् । हमालकै उमेर हाराहारीमा मिथिला शर्माले गत असारमा पूर्वप्रहरी प्रमुख मोतीलाल बोहराको सिन्दुरले सिउँदो रंगाइन् । अभिनेता हमालको बिहेले भने धेरैलाई प्रेरणा दियो । कतिपयले भने– ५० को उमेरमा पनि त बिहे हुनसक्छ नि । अहिले केको हतार ?
अविवाहित हिरोइनहरू पनि अचेल अभिनेता हमाल र अभिनेत्री शर्माको उमेर र बिहेको कुरा गरेर आफ्नो बिहेबारे पन्छन खोज्छन् । ‘बिहे गर्न केको हतार ?’ नायिका नन्दिता केसी भन्छिन्, ‘हमाल दाइ, मिथिला दिदीले त हतार गर्नुभएन । म त सानै छु ।’ नन्दिता बलिउड सुपरस्टार शाहरूख खानझैँ बेहुलोको पखाइमा छिन् रे । ‘मेरो सपनाको राजकुमार शाहरूखजस्तो हुनुपर्छ,’ नन्दिता भन्छिन्, ‘तर, मैले अहिलेसम्म मेरो सपनाको राजकुमार भेटेकी छैन । त्यही भएर त बिहे नगरेकी ।’
सुष्मा कार्की पनि अविवाहित छिन् । पहिला लामो समय निर्देशक सुदर्शन थापाको प्रेममा रहेकी उनी ब्रेकअपपछि नरेन शाहीको प्रेममा परिन् । कुरा बिहेसम्म पुग्दा नपुग्दै नरेनसँग पनि उनको ब्रेकअप भयो । हाल आफू सिंगल रहेको बताउने सुष्माले बिहेबारे सोचेकी छैनन् रे । ‘खै कहिले गर्छु बिहे, थाह छैन,’ उनी भन्छिन्, ‘लगन आएपछि आफैँ हुन्छ । किन आत्तिनु ?’
निर्देशक सुदर्शन भने पछिल्लो समय पूजा शर्माको प्रेममा छन् । थ्री लभर्सबाट फिल्मी करिअर सुरु गरेकी पूजा उनै हुन् जसले सुदर्शनको मधुमास, अझै पनि र हाल चंखे शंखे पंखे फिल्ममा प्रमुख भूमिका निभाइरहेकी छिन् । उनीहरूले कहिले बिहे गर्छन् ? त्यो भने उनीहरूलाई नै थाह छैन ।
यसपालिको मंसिरमा बिहे गर्ने जोडीमा परेका छन्– कोरियोग्राफर, फोटोग्राफर तथा लुट कम्पनीका निर्देशक सुरज चन्द ठाकुर र नवनायिका सिमरन पोखरेल । सुरज र सिमरनले २० मंसिरमा बिहे गरेका हुन् । एकताकाकी चर्चित नायिका पूजा चन्दका पति सुरजको यो दोस्रो बिहे हो । उनको एक दशकअघि नै पूजासँग सम्बन्धविच्छेद भएको थियो । त्यसपछि केही समय सुरज रिया कार्की नामक अभिनेत्री, मोडलसँग प्रेममा थिए । सिमरन भने दीपक श्रेष्ठले निर्माण गरेको प्रदर्शन हुन बाँकी फिल्म वाचाकी हिरोइन हुन् । सुरज र सिमरनले प्रेमपछि मागी बिहे गरेको बताउने गरेका छन् ।
अविवाहित नायिकामा पर्छिन् नीता ढुंगाना । तर, उनले आफू र नवअभिनेता अमेश भण्डारी गहिरो प्रेममा रहेको सार्वजनिक गरिसकेकी छिन् । बिहे भने अर्काे वर्ष धुमधामसँग गर्ने रे । अनु शाह पनि अविवाहित छिन् । घरबाट बिहे गर्न दबाब आउने गरेको भए पनि आफूले खोजेकोजस्तो जीवनसाथी नभेटाएकाले सिंगल रहेको दाबी उनको छ ।
गरिमा पन्त भने बिहेभन्दा करिअरमा केन्द्रित भएको बताउँछिन् । ‘बिहे त गरुँला नि,’ उनी भन्छिन्, ‘यो मंसिर गए अर्काे आउँछ । अर्काे गए फेरि अर्काे आउँछ । त्यसैले म अहिले करिअरमै कन्सन्ट्ेरट छु ।’ उमेर बढ्दै गएकाले घरपरिवारबाट बिहेका लागि दबाब आइरहने भए पनि आफू भने अहिले नै बिहे गरिहाल्ने पक्षमा नरहेको उनको दाबी छ ।
पूजना प्रधानको पनि बिहे भएको छैन । निशा अधिकारी र क्रिकेटर शरद भेसवाकर प्रेममा छन् । हर्षिका श्रेष्ठ पनि अविवाहित छिन् । तर, आफू आफ्नै जातिको केटासँग प्रेममा रहेको बताउँछिन् उनी । केही समयपछि ब्वायफ्रेन्डसँगै बिहे गर्ने योजना छ उनको ।
कतिपय भने भित्रभित्रै बिहे गरिसके पनि बाहिर ‘अविवाहित’ भन्न मन पराउँछन् । यो मामिलामा हिरोइन मात्र होइन, हिरो, निर्देशक, निर्माताहरू पनि कम छैनन् । कतिपय हिरोइन भने लिभ–इन–रिलेसनसिपमा छन् । तर, ‘करिअर बिग्रिन्छ’ भन्दै खुल्न चाहँदैनन् ।



