यस्तो छ रितुका हत्यारा विमलेशप्रसाद यादवको बयान

कसरी हत्याको योजना बनाउनुभयो ?
शनिबार बिहान पशुपति गएँ । पूजा गरेर रातोपुल कोठामा आएँ । खाना खान मन लागेन । एकदम रिस उठिरहेको थियो । मेरो मन बौलाउन थाल्यो, दिमाग समाजभन्दा बाहिर गएको थियो । कस्तो–कस्तो लाग्न थाल्यो । अनि मैले चक्कु उठाएर कम्मरमा राखेँ । रितुको होस्टेलअगाडि गएर आधी घन्टा कुरेँ । त्यहीबीचमा ऊ साथीसँग आई । तीनजना साथीहरू थिए । ऊ बीचमा सारी लगाएर आएकी थिई । देखेपछि मलाई एकदम रिस उठेको थियो । मेरो दिमागले केही काम गरेन । ऊ आउनासाथ धोकेबाज भनेर चक्कुले हानेर भागेँ ।

त्यसपछि कता भाग्नुभयो ?
दुई–चार पाइला अगाडि गएर चक्कु फालिदिएँ । उसको होस्टेलको छेउबाट एउटा गल्ली रहेछ, त्यो गल्लीबाट पीपलबोट निस्किएँ । कमलपोखरीबाट ट्याक्सीमा बालाजु गएँ । त्यहाँ मोबाइल अफ गरेर राखिदिएँ, अर्काे मोबाइल लिएँ ।

किन हत्या गर्नुपर्‍यो ?
उसले मलाई धोका दिई । मैले आफ्नो मनलाई–चित्तलाई धेरै बुझाउन खोजेँ । तर, मैले मनलाई बुझाउन सकिनँ । जतिखेर पनि मलाई रिस उठ्ने । जतिखेर पनि उसको अनुहार मेरो मनमा खेल्न थाल्यो, दिमागमा नाच्न थाल्यो । न खाना रुच्ने, न राति निद्रा लाग्ने । त्यही भएर मैले यस्तो काण्ड गरेको हुँ । जिन्दगी नै यस्तो लाग्न थालेको थियो– म आफैँ मरुँ कि, कसलाई मारुँजस्तो भएको थियो । त्यही भएर आवेगमा गएर त्यस्तो गरिदिएँ । तर, अहिले म पछुताइरहेको छु ।

घटना घटाएपछि के–के गर्नुभयो ?
बालाजु गएँ । मोबाइल स्विच अफ गरेँ । पाँच–सात मिनेट फ्याक्ट्रीमा बसेँ । रक्सी खाएँ, बौलाउन थालेँ म । अनि मर्न धेरै प्रयास गरेँ, तर आफ्नो मृत्यु आफ्नै हातबाट हुँदो रहेनछ । एक त यो टेन्सन, अर्काे उसको माया–प्रीतिको टेन्सन, सँगसँगै घरपरिवारको पनि टेन्सन । यति जाँड खाएँ कि मेरो मृत्यु आफैँ हुन्छ भन्ने भयो । जाँड–रक्सी खाएर म आफैँ मर्न खोजेँ । घरि झुन्डिन, घरि गाडीमुनि जान मन लाग्थ्यो । तर, सकिनँ । आफ्नो मृत्युको योजना आफैँ बनाएको थिएँ, ऊ छैन भने म कसका लागि बाँच्ने, किन बाँच्ने, संसारमा ऊ नै मेरो लागि सबै कुरा थिई, तर मृत्युवरण गर्न सकिनँ ।

 के सोचेर छुरी हान्नुभयो त ?
मारी नै दिन्छु भनेरै हानेको हुँ । मैले उसलाई यति माया गरेँ, तर उसले धोका दिई । मैले उसका लागि के–के गरेँ, तर मलाई लास्टमा किन यस्तो धोका भयो ? तिमी मेरो बाउको नोकर थियौ, सात कक्षाको विद्यार्थी भनी । ट्याक्टर चलाउने, गाडी चलाउने, मचाहिँ पढे–लेखेको मान्छे भनी । जो मान्छेका लागि यति कुरा गरेँ, जिएँ–मरेँ–बाँचे, त्यो मान्छेले एक्कासि धोका दियो भने कस्तो होला भन्नुस् त ? के बाँकी रहन्छ जिन्दगीमा ?

रितुसँग बाटोमा कसरी भेट भयो ?
मलाई थाहा थियो कति बजे निस्कन्छे भन्ने । पहिला म उसलाई भेट्न जान्थेँ । ऊ कतिवेला कलेज जान्छे भन्ने थाहा थियो, त्यही थाहा पाएर पहिले नै गएर ड्याम्म हानिदिएको । त्यतिखेर मेरो दिमागमा अरू केही आएको थिएन । मलाई यस्तो लागिरहेको थियो कि त मेरो आफ्नै ज्यान जान्छ, कि त उसको ज्यान जान्छ । केही न केही हुन्छ मबाट भन्ने भएको थियो । भगवान्ले हो कि त्यस्तो गराएको मेरो मनले । के भन्नु अब उसको जिन्दगी नै यतिसम्म थियो वा मेरो तक्दिरमा नै यस्तै लिएर आएको थियो । संसारमा ऊ नै मेरा लागि सबै कुरा थिई ।

 त्यसरी धारिलो हतियार हान्दा देख्नेले केही भनेनन् ?
त्यतिखेर एउटा मान्छे मात्र थियो । एउटा बुढो–बुढो कालो ज्याकेट लगाएको मान्छे थियो नजिक । उनले केही गर्न सकेनन्, सायद उसका साथीहरू पनि डराए होला ।
(प्रहरीले लिएको भिडियो बयानमा आधारित)

,