‘१० को माल’ भन्दै विद्यार्थीलाई दिइँदैन लिफ्ट माइक्रोबस


काठमाडौं, ७ पुस । राजधानीका कलेजमा बिहानी सिफ्टमा पढ्ने विद्यार्थी तथा पढाउने शिक्षक माइक्रोबसको ‘सिन्डिकेट’को मारमा पर्ने गरेका छन् । भाडा छुटको सुविधा दिनुपर्ने भएपछि व्यवसायीले माइक्रो नचलाउँदा विद्यार्थी तथा शिक्षक मारमा परेका हुन् ।

चक्रपथबाहिरका विभिन्न स्टेसनबाट रत्नपार्क भित्रने माइक्रोबसले यस्तो गर्ने गरेका छन् । बिहानी ‘सिफ्ट’मा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकका लागि ५:४५ देखि ६:१५ को अवधि कलेज जाने ‘पिक आवर’ हो । तर, यही अवधिमा व्यवसायीले माइक्रो नै सञ्चालन गर्दैनन् । सञ्चालन गरेकाले पनि ‘१० को माल, छाड्दे’ भन्दै माइक्रोमा चढाउन अस्वीकार गर्ने गरेको विद्यार्थीको गुनासो छ । 

लामो आन्दोलनपछि सरकारले विद्यार्थीलाई भाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको थियो । यसबापतको सुविधा सरकारले व्यवसायीलाई उपलब्ध गराउँदै आएको छ । छुटअन्तर्गत विद्यार्थीले माइक्रोलाई १० रुपैयाँ तिर्ने गर्छन् ।

बिहान कलंकी, बालाजु, ग्वार्को, कोटेश्वर, चाबहिल, नारायणगोपाल चोक र गोंगबु क्षेत्रबाट अत्यधिक विद्यार्थी राजधानी भित्रन्छन् । ‘पिक आवर’मै माइक्रो नचल्दा विद्यार्थी चोकचोकमै अलपत्र हुने गरेका छन् । माइक्रोकै कारण निर्धारित समयमा पुग्न नसक्दा विद्यार्थीले कलेजको कारबाहीसमेत भोग्नुपर्ने बाध्यता छ । राजधानीका कलेजमा बिहानी ‘सिफ्ट’को पढाइ भ्याउन ६:३० बजेभित्रै कलेज प्रवेश गरिसक्नुपर्ने नियम छ । निर्धारित समयमा प्रवेश गर्न नसक्ने विद्यार्थी कारबाहीस्वरूप कलेजबाहिरै बस्नुपर्छ ।

मध्य बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेज पत्रकारिता विभागका प्रमुख घमराज लुइँटेलले माइक्रोबसको ‘सिन्डिकेट’का कारण बिहानी सत्रमा अध्ययन गर्ने विद्यार्थी मारमा पर्ने गरेको बताए । चक्रपथबाहिरबाट आउने विद्यार्थी माइक्रोबाट हुने ‘सिन्डिकेट’को मारमा पर्ने गरेको लुइँटेलको भनाइ छ । ‘बिहानीपखका विद्यार्थी ६:३० मा कलेज पुगिसक्नुपर्छ । त्यसो हुँदा ५:४५ देखि ६:१५ सम्मको आधा घन्टा विद्यार्थीको ‘पिक आवर’ हो । तर, माइक्रोबस त्यही वेला बन्द हुन्छ । चलेकाले पनि विद्यार्थी बोक्दैनन् । १० को माल रहेछ छाड्दे भन्दै विद्यार्थी नबोकेको साक्षी त मै’छु,’ लुइँटेलले भने । 

सबैभन्दा धेरै विद्यार्थी कलंकी र बालाजुचोकमा अलपत्र हुने गर्छन् । लुइँटेलले भने, ‘म आफैँ कलंकी बस्छु । अध्यापनका लागि म पनि माइक्रोबाटै कलेज आउने गर्छु । कलंकी चोकमा रुँदै गरेका अलपत्र विद्यार्थी प्रत्येक दिन देखिन्छन् । माइक्रो नचल्दा म आफैँ नै कलेज ढिला पुग्छु ।’ माइक्रोबस ‘सिन्डिकेट’को विषयमा ट्राफिक प्रहरीदेखि प्रधानमन्त्री कार्यालयमा हारगुहार गर्दासमेत समाधान नभएको दुखेसो लुइँटेलले गरे । उनले भने, ‘अति भएपछि ट्राफिकलाई भनेँ, प्रधानमन्त्री कार्यालयका सचिवलाई टेलिफोन गरेँ, प्रहरीमा उजुरी गरेँ, तर केही सीप लागेन ।’ 

मदन भण्डारी कलेजकै अर्का प्राध्यापक कृष्ण अधिकारीका अनुसार सामाखुसी र महाराजगन्ज चोकमा समेत बिहानको समयमा माइक्रो चल्दैनन् । उनले भने, ‘६ बजे विद्यार्थीको चाप अत्यधिक हुन्छ । तर, त्यही वेला माइक्रो चल्दैन । अधिकांश कलेज चक्रपथभित्र छन् । सबै भित्री सडकमा ठूला बस जाँदैनन् । यसो हुँदा माइक्रो चढ्नुको विकल्प नै छैन । तर, यही वेला माइक्रोले अड्को थाप्छ ।’ 

कलंकीमाई ग्यास सार्वजनिक माइक्रोबस समन्वय समितिका सचिव विजय महर्जनले केही महिनाअघि त्यस्ता समस्या भए पनि अहिले रोकिएको दाबी गरे । उनले भने, ‘केही महिनाअघि बिहान माइक्रो नचल्ने भन्ने गुनासो आयो । हामीले छानबिन गर्‍यौँ । दोषीलाई कारबाही पनि गर्‍यौँ । तर, अहिले त्यस्तो छैन । बिहान माइक्रो सहज रूपले नै चलेका छन् ।’

,