नयाँ पत्रिकाको‘न्यानो बाँडौं’ अभियान

काठमाडौ, ११ पुस । नयाँ पत्रिका दैनिकले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत जाडो र शीतलहरले प्रभावित जनताका लागि कम्बल संकलन अभियान थालेको छ ।

हरेक बर्षजसो चिसोका कारण सयौं नेपालीले ज्यान गुमाइरहेको अवस्थामा नयाँ पत्रिका दैनिकले उनीहरुका लागि न्यानो बाँड्ने अभियान थालेको हो । ‘१० हजार कम्बल बाँड्ने हाम्रो लक्ष्य हो’ नयाँ पत्रिका दैनिकका अध्यक्ष एवं सम्पादक कृष्णज्वाला देवकोटाले भने- पहिलो र दोस्रो दिनमा उत्सासहजनक सहभागिता देखिएको छ ।’

अभियानअन्तर्गत पहिलो दिन ६ सय १६ थान कम्बल संकलन भएको छ भने दोस्रो दिन ८ सय ३५ थान कम्बल संकलन भएको छ । यो अभियानमा एमाओवादी नेता डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका सभासद गगन थापालगायतले ऐक्यवद्धता जनाउँदै परोपकारी काममा हातेमालो गर्न आह्वान गरेका छन् । भट्टराईले आफ्नो तलबबाट २ सय थान कम्बल दिने ट्वीटरमार्फत् घोषणा गरेका छन् ।

यस्तै सभासद् गगन थापाले पनि २ सय थान कम्बल दिने घोषणा गरेका छन् । चिसोमा कठाङ्गि्रएका जनतालाई न्यानो बाँड्ने चाहनेहरुले आफैं कम्बल किनेर वा कम्बल किन्ने पैसा नयाँ पत्रिकालाई दिएर अभियानमा सहभागि हुन सक्नेछन् ।

एक हजार ७ सय रुपैयाँमा नयाँ पत्रिका दैनिकको बाषिर्क ग्राहक बनेमा त्यही रकमबाट नयाँ पत्रिकाले एक थान कम्बल चिसो पीडित जनतालाई दिने देवकोटाले जानकारी दिए ।

कम्बल दिन चाहने दाताले नयाँ पत्रिकाको फोन न. ९८४३७७०२८३/९८१८४४९३१६ मा सम्पर्क गरी नयाँपत्रिकाकर्मीलाई घरमै बोलाउन सकिने छ । बिदेशमा बस्ने दाताहरुले letters@nayapatrika.com मार्फत् सम्पर्क गरी कम्बल दिने तरिकाबारे जानकारी पाउन सकिनेछ ।

,