विप्लव शक्ति प्रदर्शनको तयारीमा
काठमाडौं, १० पुस । नवगठित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबाट अलग भई नयाँ पार्टी गठन गरेपछि विप्लवले पहिलो पटक आफ्नो शक्ति प्रदर्शन गर्न लागेका हुन् । १२२ औं माओ दिवसको अबसर पारेर खुलामञ्चमा गर्न लागिएको कार्यक्रममा देशैभरीबाट कार्यकर्ता ल्याउने तयारी छ ।
विप्लव माओवादीले काठमाडौंका आधा दर्जन बढी स्थानबाट एकैसाथ र्याली निकाल्ने तयारी गरेको छ । केन्द्रीय नेताहरुका अगुवाईमा काठमाडौको ६ ठाउँबाट र्याली निकालिने प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
मुल र्याली सुन्धाराबाट निस्कने र उक्त र्यालीको पार्टी संयोजक विप्लवले नै नेतृत्व गर्ने भएका छन् । निर्धारित तालिका अनुसार लैनचौरबाट निकालिने र्यालीको नेतृत्व पार्टी प्रवक्ता विश्वकर्माले गर्नेछन् भने बबरमलहबाट निकालिने र्यालीको धर्मेन्द्र वास्तोला, डिल्लीबजारबाट निकालिने र्यालीको पदम राई, कालीमाटीबाट निस्कने र्यालीको सन्तोष बुढाले नेतृत्व गर्नेछन् ।
खुलामञ्चको र्यालीको भने इश्वरी दाहाल, चित्रबहादुर आले, तिलक परियार, अनिल विरही तथा माइला लामाले गर्ने अगुवाई गर्ने माओवादीले जनाएको छ ।

