ओली-प्रचण्ड दुरी घटाउन प्रधानमन्त्रीको पहल
काठमाडौं, १०, पुस । प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीच देखिएको अविश्वासको वातावरण र दुरी घटाउन पहल थालेका छन्।
दलहरुबीच देखिएको अविश्वास र आरोप प्रत्यारोपको अवस्था चिर्न प्रधानमन्त्री कोइरालाले बिहीबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टाछुट्टै छलफल समेत गरेका छन्। भेटमा कोइरालाले दुवै नेतासँग संविधान जारी गर्ने मिति नजिकएको भन्दै सहमति निर्माणका लागि जुट्न आग्रह गरेका थिए।
नेकपा एमालेका अध्यक्ष प्रचण्ड र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड एक अर्का विरुद्ध आरोप र आक्षेप लगाउने हदमा पुगेका थिए। कोइरालासँगको भेटपछि एमाओवादी अध्यक्ष प्रचण्डले संविधानका अर्न्तवस्तुमा छलफल नभएको बताए। 'संविधानका विवादित विषयमा छलफल भएन', प्रचण्डले भने, 'हिजोको सहमति अनुसार छलफल भएको हो।'
बुधबार बेलुका मधेश केन्द्रीत दलहरु सहित बसेको प्रमुख तीन दलको बैठकमा दलहरुबीचमा देखिएको अविश्वास कम गर्ने र आरोप प्रत्यारोपमा नलाग्ने सहमति भएको थियो। प्रधानमन्त्री कोइरालाले बिहान नै एमाले अध्यक्ष ओलीसँग समेत भेट गरेका छन्। भेटमा निर्धारित समयमै संविधान जारी गर्न विश्वासको वातावरण बनाउने विषयमा केन्द्रीत भएको ओलीले बताए। 'निर्धारित समयमै संविधान जारी गर्न दलहरुसँग विश्वासको वातावरण बनाउने सम्बन्धमा छलफल भयो', ओलीले भने, 'सहमतिका लागि एमाले तयार भएको छ।'
ओलीले एमाओवादीले आफूहरुको सात प्रदेशको अवधारणाको विरोध गरेको विरोध जनाए। सहमति हुनेखालका प्रस्ताव ल्याउनुस्, छलफल गरौँ, ओलीले भने, 'विरोध गर्नेमात्र नभएर सहमति हुनेखालका प्रस्ताव ल्याएर छलफल गर्दा पो उपयुक्त हुन्छ।'
तोकिएकै मितिमा संविधान
यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले भने तोकिएकै मितिमा संविधान जारी हुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन पुगेका पेसागत सञ्जालका पधकारीसँग कोइरालाले दलहरूको सहमतिमै माघ ८ गते संविधान जारी हुने दावी गरेका हुन्। 'पछिल्लो समय दलहरूबीच सहमतिका लागि सकारात्मक छलफल भइरहेको छ', कोइरालाले भने।


