एयर एसियाको विमान सम्पर्कबिहीन
काठमाडौं, १३ पुस । इन्डोनेसियाको सुराबयादेखि सिंगापुरका लागि उडेको एयर एसिया इन्डोनेसियाको एयरबस ३३०–३०० विमान सम्पर्कबिहीन भएको छ। विमानमा १ सय ६२ जना यात्रु सवार थिए।
विमान स्थानीय समयअनुसार बिहान ६:१५ बजे जाकर्ता एयर ट्राफिक कन्ट्रोलको सम्पर्कमा नरहेको बताइएको छ। नागरिक उड्ड्यन कर्मचारीले विमान हराउनुभन्दा पहिले नयाँ रुटबारे सोधेको उल्लेख गरेका छन्।
एशिया क्षेत्रमा सस्तो भाडा दरमा उडान गर्ने एयर एसियाले विज्ञप्ति जारी गर्दै मौसमको खराबीका कारण निर्धारित रुटभन्दा विमान अर्कोतर्फ जान एयर ट्राफिक कन्ट्रोलसँग अनुमति मागेको उल्लेख गरेको छ। पाइलटले बाक्लो बादलका कारण ३२ हजार फिटबाट ३४ हजार फिटको उचाइमा जानलाई एयर ट्राफिक कन्ट्रोललाई सोधेका थिए। त्यसको केही समयपछि विमान सम्पर्कबिहीन भएको थियो।
विमानमा दुई जना पाइलट, क्याबिन क्र्यु र १५५ यात्रु छन्। विमानमा इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, फ्रान्स र सिंगापुरका नागरिक छन्।


