समस्यामा कृषि विकास बैंक
काठमाडौं, १३ पुस । प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति विवादले सरकारी स्वामित्वको कृषि विकास बैंक समस्यामा परेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत नवनियुक्त सिइओ लीलाप्रकाश सिटौलाले हाजिर गरेका छन् ।
सर्वोच्चका न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले ४ पुसमा सिटौलालाई २७ पुससम्म सिइओको हैसियतमा काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको थियो । ‘सर्वोच्चको आदेशविपरीत सिटौलाले हाजिर गरिरहेका छन् । सोही कारण बोर्डले कसैलाई निमित्त दिन सकेको छैन, जसले गर्दा बैंकको कामकारबाही प्रभावित भइरहेको छ,’ एक सञ्चालकले भने ।
आदालतको आदेशअनुसार नवनियुक्त सिइओ बिदामा बस्नुपर्ने वा नपर्ने भन्नेमै सञ्चालक समितिमा विवाद छ । एक पक्षले सिइओलाई काममा लगाउन नहुने बताइरहेका छन् भने अर्को पक्ष नियुक्तिको वैधानिकतामा अदालतले प्रश्न नगरेकाले हाजिर गर्न रोक्न नहुने अडानमा छन् ।
विवादका कारण सञ्चालक समितिले पनि कुनै निर्णय गर्न नसकेको एक सञ्चालकले बताए । ‘सञ्चालक समितिमा छलफल हुन्छ, तर विवाद भएपछि कुनै निर्णय हुन सक्दैन,’ उनले भने । सिटौलाले हाजिर गरिरहेकाले बैंक सञ्चालक समितिले कसैलाई पनि निमित्त सिइओको जिम्मेवारी दिन सकेको छैन । बैंकको प्रशासनिक प्रमुख भएर कायम गर्ने अधिकार सिइओलाई दिएको हुन्छ ।
३ करोड रुपैयाँसम्मको ऋण स्वीकृति गर्ने अधिकार सिइओलाई दिइएको छ । सिइओको विवादका कारण अहिले ऋण स्वीकृति पनि ठप्प भएको स्रोतले बतायो । बैंकका अध्यक्ष प्रमोदकुमार कार्कीले भने नियुक्तिको वैधानिकतामाथि अदालतले केही नबोलेकाले सिइओले गर्ने काम उपमहाप्रबन्धकलाई प्रत्यायोजन गरिएको बताए । ‘प्रशासनिक झन्झट भएको छ, तर बैंक ठूलो अप्ठ्यारोमा परेको छैन,’ कार्कीले भने ।
सञ्चालक समितिले बैंकका वरिष्ठ उपमहाप्रबन्धक अनिल उपाध्यायलाई निमित्तको जिम्मेवारी दिने तयारी गरेको थियो । तर, उपाध्याय पनि बिदामा बसेका छन् । बुढाथोकीलाई सिइओबाट हटाइएपछि उपाध्यायले निमित्तको जिम्मेवारी सम्हालेका थिए । स्रोतका अनुसार अप्ठ्यारो परेका वेला प्रयोग गर्न मात्रै खोजिएको भन्दै उपाध्याय बिदामा बसेका हुन् । उनी सिटौलासँगै सिइओको प्रतिस्पर्धामा थिए ।
बैंक सञ्चालक समितिले सिटौलालाई सिइओमा नियुक्त गर्ने निर्णय गत २८ मंसिरमा गरेको थियो । सिटौलाले २९ मंसिरबाट काम सुरु गरेका थिए । सिटौलाको नियुक्तिको विरुद्धमा हटाइएका सिइओ तेजबहादुर बुढाथोकीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
कार्यसम्पादन सन्तोषजनक नभएको उल्लेख गर्दै बैंक सञ्चालक समितिले सिइओलाई पदमुक्त गरेको थियो । पदमुक्त गर्ने निर्णय रोक्न अन्तरिम आदेशको माग गर्दै बुढाथोकी सर्वोच्च गएका थिए । बुढाथोकीको मागअनुसार सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै २७ पुससम्म सिटौलालाई काममा नलगाउन कृषि विकास बैंकका नाममा आदेश जारी गरेको थियो । ४ पुसमा जारी गरिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिने/नदिने भन्नेबारे अदालतले २७ पुसमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । २७ पुसको सुनुवाइपछि जारी अन्तरकालीन आदेश निरन्तरता भए बुढाथोकीलाई हटाउने निर्णय रिटको अन्तिम सुनुवाइबाट छिनोफानो नहुदासम्म स्थगन हुनेछ । अन्तरकालीन आदेश खारेज भए हटाउने निर्णय स्वत: कार्यान्वयनमा आउनेछ ।
राष्ट्र बैंकबाट अवकास पाएपछि अर्थमन्त्री डा. रामशरण महतले सिटौलालाई बैंकको सञ्चालकमा नियुक्त गरेका थिए । तर, सिइओ बन्ने पक्का भएपछि सिटौलाले सञ्चालकबाट राजीनामा दिएका मन्त्रालय स्रोतले बतायो । सञ्चालकबाट राजीनामा दिएर सिटौला प्रतिस्पर्धामा उत्रिएका थिए ।
अध्यक्ष कार्कीले अदालतबाट मुद्दाको टुंगो नलगाएसम्म बैंकमा समस्या आउन नदिन सञ्चालक समिति गम्भीर रहेको बताए । ‘बैंक कृषि क्षेत्रमा सरकारको विकास सहयात्री पनि भएकाले संरचना भत्किन नदिन सचेत छौँ,’ उनले भने ।
.jpg)

