एमाले मैले फुटाएको हुँ : खुमबहादुर
लामो समय छायामा परेका कांग्रेस नेता खुमबहादुर खड्का अहिले फेरि चर्चामा छन् । भ्रष्टाचार अभियोगमा झन्डै डेढ वर्ष जेल बसेर फर्केपछि उनी कांग्रेसको मूल धारभन्दा अलिक फरक हिन्दू राज्यको अभियन्ताका रूपमा सक्रिय छन् ।
पटक–पटक मन्त्री बनेका र देशको शक्तिशाली गृहमन्त्री बनेका खड्कामाथि ०५४ सालमा एमाले विभाजनको आरोप पनि छ । जसलाई उनी १७ वर्षपछि पनि हाकाहाकी स्विकार्छन् । ‘हो, एमाले मैले फुटाएको हुँ । नफुटाएको भए कांग्रेस अहिलेसम्म सकिइसक्थ्यो,’ उनले खुलस्त भने ।
खड्काका अनुसार एमालेका तत्कालीन विद्रोही नेता वामदेव गौतम र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच सरकार र चुनावमा मिलेर जाने सहमति भएको थियो । ‘तर, वामदेवजीहरूमाथि ठूलो धोका भयो,’ खड्का थकथक मान्छन् । त्यसमाथि एमाले फुटाएको भन्दै तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले दिएको श्राप आफूलाई लागेको पनि उनी ठान्छन् । साँच्चै मलाई पापै लाग्यो । नत्र अहिले मेरो यस्तो रोल हुन्न थियो होला । म यसरी कोठामा थन्किएर बस्ने हुन्थें र ?’
पुख्र्यौली घर सल्यान हो । बाजे–बुबाहरू दाङ झरेका । दाङको धर्ना गाविस–६ मा घर छ । २००८ मा म त्यहीँ जन्मिएँ । खातापिता परिवारकै मान्छे हुँ । जग्गाजमिन पर्याप्त थियो । छुट्टिँदा नै मेरो भागमा १६ बिघाभन्दा धेरै खेत थियो । एक बिघाजतिमा त फूलबारी थियो ।
बाल्यकालमा गाईभैँसी चराउन जाने, दाउरा खोज्ने, घाँस काट्ने काम गरियो । गाउँकै स्कुलबाट चार कक्षा पास गरँे । त्यो स्कुल भत्किएपछि सवा घन्टा टाढाको निम्नमाध्यमिक विद्यालयमा भर्ना भएँ । नजिकै डेरा गरेर बस्थँे । आठ कक्षा त्यहीँबाट पास गरेर सदरमुकाम घोराहीको पद्मोदय स्कुलमा भर्ना भएँ । त्यहीँबाट म राजनीतितिर तानिएँ ।
सुरुमा कम्युनिस्ट भएँ
नौ कक्षामा पढ्दै गर्दा कम्युनिस्ट–काँग्रेस भन्ने थाहा भयो । रश्मि नेपाली (जनमोर्चाको नेता हुनुहुन्छ) उतिवेलाको जल्दोबल्दो नेता हुनुहुन्थ्यो । सदरमुकाममा कांग्रेस भन्ने कोही थिएनन् । जता हेर्यो कम्युनिस्ट मात्रै । म पनि स्वाभाविक रूपले रश्मिको पछाडि लागें । औपचारिक रूपमा सदस्यता नलिए पनि कम्युनिस्टहरूकै पछि–पछि हुन्थेँ ।
मेरो परिवार भने कांग्रेस समर्थक थियो । मेरो ठूलो दाइ १७ सालमा ३ वर्ष जेल बसेको, माइलो दाइ निर्वासन बसेको तीन वर्ष । ठूलोबुबाको छोरा पनि जेल बसेको । ठूलोबुबाको काइँलो छोरा पनि निर्वासनमा बसेको । मेरो बुबाले कहिले पनि पञ्चायतमा भाग लिनुभएन । उहाँ राणाकालको थानेदार । २००७ मा क्रान्ति सफल भएपछि राजीनामा गरेर पार्टीमा लाग्नुभएको थियो ।
मेरो घरनजिकै निमाकान्त दाहालको परिवार थियो । पूरै परिवार पढेलेखेको । उहाँले मेरो बुबालाई भन्नुभएछ– तपार्इं कांग्रेस, तपार्इंका परिवारका अरू सदस्य जेलनेल झेलेका, प्रवास बसेका, तपाईंको कान्छो छोरा (त्यतिवेला भाइ जन्मिएको थिएन, मलाई कान्छा–कान्छा भन्थे) भने कम्युनिस्टमा लागेको छ । अरू के–के भन्नुभयो खै ? दसैँको टीका थाप्न घर गएका वेला बुबाले सोध्नुभयो– तँ त कम्युनिस्ट भइस् रे । किन कम्युनिस्ट भइस् ? मैले बुबासँग कहिल्यै झुट बोलिनँ । ‘हो’ मात्रै भनेँ । उहाँले ‘निमाकान्त दाहालले भनेअनुसार गरेस्’ भन्नुभयो । मैले ‘हुन्छ’ भनेँ । त्यसपछि मेरो कम्युनिस्टसँग दूरी बढ्न थाल्यो । ०२३ मा हामी १८ जना केटाले कांग्रेसको सदस्यता लियौँ । हाम्रो गुप्रको एकजना ऋषिराज अधिकारी भन्ने (पछि राजदूत हुनुभयो, अहिले एकीकृत माओवादीमा हुनुहुन्छ) उहाँबाहेक हामी सबै कांग्रेस छौँ । कोही सक्रिय छौँ, कोही भोटर छौँ । त्यसरी सुस्त–सुस्त पार्टीमा आए ।
टेस्ट परीक्षा दिएपछि ०२४ मै विद्यार्थी युनियनको चुनाव भयो । म १५–१६ वर्षकै भए पनि हर्ताकर्ता थिएँ । कांग्रेस भनेपछि हामीलाई पिट्छन् । त्यसैले बाहुन एकातिर, बाहुनभन्दा तलको जात अर्कोतिर भनेर गयौँ । त्यो नारा निकै प्रभावकारी भयो । हाम्रै दुई साथीले धोका दिए, उनीहरू अर्कोतिर मिलेछन्, जिते । म सचिवमा १८ भोटले हारेँ । मारपिट भयो, हामीले कुटाइ पनि खायौँ ।
कुटियो, कुटाइ खाइयो
बिपी र गणेशमानको नाम सुनेको थिएँ । गिरिजाबाबुको त नामै सुनेको थिएन त्यतिवेला । हामी केटाहरूको टिम नै बनाएर पार्टी बनाउन लाग्यौँ । कुटाइ खान र कुट्न कुनै लाज लाग्दैनथ्यो । कम्युनिस्ट र कांग्रेसबीच खुबै मारपिट भयो । जसले जहाँ सक्छ, त्यहीँ पिट्ने । बुबाले पनि हौसला नै दिनुभयो । भन्नुहुन्थ्यो– कुटाइ खाएर आइस् भने लात खान्छस्, कुटेर आइस् भने राम्रो । मलाई स्कुल पठाउँदासमेत बुबाले मसँगै पाँच–सातजना केटा पठाउनुहुन्थ्यो ।
०२४ मा एसएलसी पास गरें । म कलेज पढ्न नेपालगन्ज गएँ । त्यहाँबाट संगठन गर्न दाङ आउँथँे । दाङमा सर्वोदय पुस्तकालय थियो । त्यहाँ कम्युनिस्टको अखडा । त्यहाँका किताब जलाउनुपर्छ भन्ने हाम्रो सल्लाह भयो । उनीहरूकै मान्छे प्रयोग गरेर राति पुस्तकालय जलायौँ । त्यसपछि मलगायत पाँच–छजना साथीलाई चोरी मुद्दा लाग्यो ।
म नेपालगन्जबाट तारिख लिन आउँथेँ । प्रथम वर्ष नेपालजगन्जबाटै पास गरें । दोस्रो वर्ष पढ्न म दाङ नै आएँ । राजनीतिमा सक्रिय भइसकेको थिएँ । दाङमा कम्युनिस्ट–कांग्रेसको पिटापिटमै दिन बित्थे । पढाइ भएन । सबै फेल भयौँ । ०२७ मा नेविसंघको पहिलो अधिवेशनमा भाग लिएँ ।
पढेलेखेका सम्पन्न मान्छे सबै कम्युनिस्ट थिए । भुसतिग्रे गोठालाहरू कांग्रेस । मारपिटमा हामीले जित्ने भयौँ । बजार हाम्रो कब्जामा आयो । शिवराम गौतम (पहिला एमालेबाट र पछि माओवादीबाट सांसद पनि हुनुभयो) लाई मैले तीनपटक कुटँे । घोराही बजार हाम्रो कब्जामा थियो । सदरमुकाममा बलियो हुँदा सबैतिर बलियो देखिने रहेछ ।
नारायणपुरमा नेत्र अभागी भन्ने हेडमास्टर हुनुहुन्थ्यो । उहाँले सबैलाई कम्युनिस्ट बनाउनुभएको थियो । हामी त्यो बाटो हिँड्नै नहुने । हामीलाई भेट्यो कि कुटिहाल्ने । अर्को थियो भोजपुर हाइस्कुल । त्यहाँ शोभराज, धनराज ओली, गिरिराज ओली, अमरबहादुर ओली हुनुहुन्थ्यो । हाम्रो लडाइँ भइरहने ।
महेन्द्रको फोटो फुटाउँदा वारेन्ट जारी भयो
०२७ पुस १ गते दाङमा पञ्चायतको कार्यक्रम थियो । राजेश्वर देवकोटा राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ आउनुभएको थियो । बाजागाजा बजाउँदै, नारा लगाउँदै जान्थे नि पञ्चहरू । उनीहरूसँगै हामी पनि गयौँ । जुलुस सुरु भएपछि हामीले ‘कांग्रेस जिन्दावाद, बिपी जिन्दावाद, गणेशमान जिन्दावाद’ भन्दै नारा लगायौँ । पुलिसहरू धेरै थिए, हामीले कसैलाई टेरेनौँ । हाम्रो ४०–५० जना केटाहरूको ग्रुप थियो । मञ्चमा आमसभा हुन थालेपछि खुकुरी ठड्यायौँ, छुरी निकाल्यौँ । मञ्च सबै लथालिंग पारिदियौँ । सबै हेरेका हेर्यै भए ।
केटाकेटीको जोस्, नारा लगाउँदै आयौं । गेटहरू तोड्दै, च्यात्दै अदालत आइपुग्यौँ । एकजना कमलबहादुर डाँगी भन्ने साथी हुनुहुन्थ्यो । जुवातास कहिल्यै नखेल्ने, तर खोपीचाहिँ खेल्नुहुन्थ्यो । महेन्द्रको फोटो टाँगेको थियो अदालतमा, उहाँले हान्नुभयो, फुटेन । ‘तपाईंको खोपी खेलेको हात, मैले बन्दुक चलाएको, अब हेर’ भनेर हानेँ । ठ्याक्कै फुटिहाल्यो । फुटेपछि पुलिस एक्टिभ हुने भो, हामी भाग्यौँ । तैपनि, पाँच–सातजना साथीहरूलाई पक्डियो । पुस १ गते मेरो वारेन्ट जारी भयो, त्यसपछि म बनारस निर्वासनमा गएँ ।
बिपी भेट्दा भगवान् भेटेजस्तै
आइएको फारम भर्न बनारस गएको थिएँ । मसँगै चैतुजी पनि हुनुहुन्थ्यो । बिपी त्यहीँ भएको हुनाले त्यसवेला सबैजना बनारस फारम भर्न जाने चलन थियो । मेहरूगन्जमा बिपी बस्नुहुन्थ्यो, हामी भेट्न गयौँ । बिपीलाई हेर्दै भगवान् भेटेजस्तो लाग्यो । ह्यान्डसम त्यस्तै, अग्लो त्यस्तै, प्रत्येक चिज राम्रो । उहाँको व्यक्तित्वबाट प्रभावित भयौँ । आकर्षित भएर वा आफूले मन पराएर पनि होला । बिपीलाई भेटेपछि प्रभावित नहुने मान्छे नै थिएनन् जस्तो लाग्छ मलाई ।
चियागफ भएपछि मलाई र चैतुजीलाई बिपीले आफ्नो बेडरुममा लग्नुभयो । हामी १९ वर्षका पनि पुगेका थिएनौँ, उहाँले आफ्नो बिस्तरामा बस्न भन्नुभयो । हामी कहाँबाट उहाँको बिस्तरामा बस्न सक्नु, एकदमै अकमकायौँ । उहाँले ‘बस–बस’ भन्नुभयो । पछि उहाँको बिस्तरा थोरै पल्टाएर दरीको टुप्पोमा दुईजना बस्यौँ । माघमा भेटेको हो, त्यो वेला पनि चिटचिट पसिना आएकोजस्तो भयो मलाई ।
बिपीले ‘हेर, यहाँ क्रान्तिकारी भनेर सिआइडीहरू पनि हुन्छन्, त्यसैले कसैलाई एकदमै विश्वास नगर्नु, म भएको वेला मसँगै कुरा गर्नु, मलाई सोध्नु, म नहुँदा गणेशमानजीलाई सोध्नु, हामी नभएको वेला शैलजालाई भेट्नु’ भन्नुभयो ।
बिपीका अगाडि लर्याकलुरुक हुन्थ्यौँ
एकपटक हामी एक्सनमा गयौँ । बिपीकहाँ हामीलाई मारियो भन्ने खबर पुगेछ । अहिलेको तुल्सीपुरमा चिया खाने छाप्रो थियो, त्यहाँ नेपाल बैंक थियो, नजिकै थाना पनि थियो । हतियार पनि खोस्ने, बैंक पनि लुट्ने योजना थियो । हाम्रै साथीले त्यहाँ गद्दारी गरे । एक्सन हाम्रो असफल भयो । धेरै साथी समातिए । त्यहीँ हामी मारियौँ भन्ने खबर बिपीकहाँ पुगेको रहेछ । मैले बोर्डर काटेपछि बिपीलाई फोन गरेर घटना विवरण सुनाएँ । उहाँले ‘आऊ–आऊ’ भन्नुभयो । गणेशमान गोरखपुरमा बस्नुहुन्थ्यो । उहाँलाई पनि भेटेँ । बनारस गएपछि बिपीले हौसला दिनुभयो । ‘राजनीतिमा यस्तो हुन्छ नै, इमानदारितापूर्वक काम गर्नुपर्छ’ भन्नुभयो ।
बिपीलाई देख्दा नै हामी लुरुक्क हुन्थ्यौँ । उहाँसँग कसैले बहस गर्दैनथ्यो । गणेशमानजी पनि आफ्ना कुरा राख्नुहुन्नथ्यो । छलफल गर्नु हुँदैनथ्यो । बिपीसँग कुरा राख्ने त किसुनजी मात्र हो । त्यतिवेला हामी युवा केटाहरू मात्र थियौँ ।
बिपी अमेरिकाबाट फर्केपछि पटनामा कांंग्रेसको केन्द्रीय समिति गठन गरिने भयो । केही साथीलाई त्यहाँ राख्नुभयो । त्यसैवेला मलाई, शैलजा, रामबाबु प्रसाईंलगायतलाई राख्नुभएको थियो । जनमत संग्रहपछि क्षेत्रीय सम्मेलन तोकियो । क्षेत्रीय सम्मेलनमा सुदूरपश्चिमबाट लोकेन्द्रबहादुर शाह हो कि शेरबहादुरजी हो, म कन्फ्युज भएँ, आउनुभयो । म मध्यपश्चिमबाट आएँ । सुशीलको त नामै थिएन उतिवेला । पश्चिमाञ्चलबाट रामचन्द्र पौडेल, मध्यामाञ्चलबाट शेख इद्रिस, पूर्वाञ्चलबाट शैलजा हुनुहुन्थ्यो । हामी पाँचजना क्षेत्रीय संयोजक भयौँ । बिपी ०३९ मा बित्नुभयो । ०४१ मा नयाँ केन्द्रीय समिति बन्यो । म सुरुदेखि नै छु । पहिलो समितिमा शेरबहादुरजी हुनुहुन्थेन ।
गिरिजाबाबुले दलको नेता हुन दिएनन्
०५१ को संसदीय चुनावमा सुशील कोइराला हार्नुभयो । पार्टीभित्र छत्तिसे र चौहत्तरे ग्रुप थियो । दुई खेमाबीचको आन्तरिक लडाइँ एक किसिमले ठूलै थियो । शैलजा दिदी, रामचन्द्र पौडेल र शेरबहादुर देउवाको पार्टीभित्र डबल रोल थियो । छत्तिसे र चौहत्तरेलाई मिलाउनुपर्छ भन्ने उनीहरूको मान्यता थियो । व्यक्तिगत रूपमा राम्रो सम्बन्ध भए पनि हामी पनि उनीहरूमाथि पूर्ण विश्वास गर्दैनथ्यौँ । उता छत्तिसेहरूले पनि विश्वास नगर्ने उहाँहरूलाई । स्थिति त्यस्तो थियो ।
गिरिजाबाबुलाई मैले बाबुजस्तै, भगवान्जस्तै मान्थेँ । त्यतिवेला मान्या हो । तर, गिरिजाबाबुले संसदीय दलको नेता हुन्न भन्नुभयो । हामीले धेरै नमोनम गर्यौँ, मान्नुभएन । उहाँलाई कसले के गलत सल्लाह दिए कुन्नि ? पछि त हुनुभयो नि । नभएकै भए हुन्थ्यो नि, पार्टीभित्र झगडा पनि हुन्थेन । गिरिजाबाबुपछि त्यतिवेला मैले मान्ने शैलजा दिदीलाई हो । उहाँहरूकै कारण सुशील‘दालाई मान्या हो ।
संसदीय दलको चुनावको तयारीका लागि हाम्रो समूहका धेरैजसो हर्ताकर्ता साथीहरू अमृत साइन्स क्याम्पसको पछाडि लालकाजी गुरुङको घरमा बस्यौँ । सुशीलजी, विजय गच्छदार, गोविन्दराज जोशी, अर्जुननरसिंह केसीलगायत थियौँ । चुनाव त लड्नुपर्यो । अर्जुनजी भर्खर पञ्चायतबाट आएको, विजय मभन्दा धेरै जुनियर, गोविन्द पनि जुनियर नै भयो । सबैले ‘खुमबहादुरजी नै उठ्नुुपर्छ’ भने । तर, उम्मेदवारीचाहिँ चारैजनाले हाल्ने कुरा भयो । क्रमश: अरूले फिर्ता लिँदै जाने र लास्टमा खुमबहादुरजी लड्ने भन्ने सल्लाह भयो ।
त्यतिवेला २६ कि २८ जना सांसद रामचन्द्रजीको पक्षका, चारजना शेरबहादुरजीको अरू सबै हामीसँग थिए । हाम्रो टिमबाट मैले, गोविन्दजी, विजयजी र अर्जुनजीले उम्मेदवारी हाल्यौँ । त्यसपछि ढुण्डीराज शास्त्रीजीले हाल्नुभयो, चिरञ्जीवी वाग्लेले हाल्नुभयो । क्रमश: रामचन्द्रजीले हाल्नुभयो, शैलजा दिदीले हाल्नुभयो र शेरबहादुरजीले हाल्नुभयो । नौजना उम्मेदवार भयौँ । तारानाथ रानाभाट निर्वाचन अधिकृत थिए ।
हाम्रो सल्लाहअनुसार सबैभन्दा पहिले अर्जुनजीले ‘ल मैले खुमबहादुरजीलाई समर्थन गर्छु’ भन्दै उम्मेदवारी फिर्ता लिनुभयो । त्यसपछि उताबाट चिरञ्जीवीले फिर्ता लिनुभयो । ढुण्डीराजजीले पनि झिक्नुभयो । त्यसपछि विजयजीले ‘ल मैले खुमबहादुरजीलाई समर्थन गर्छु’ भन्दै निकाल्नुभयो । शेरबहादुरजीले पनि फिर्ता लिनुभयो । गोविन्दजीले पनि निकाल्नुभयो ।
म, रामचन्द्रजी र शैलजा दिदी बाँकी रह्यौँ । म त्यतिवेला ४१ वर्षको थिएँ । मभन्दा पनि शैलजा दिदी दलको नेता भए हुन्छ भन्ने लागेको थियो । उहाँपछि त म भइहाल्छु नि भन्ने थियो । गिरिजाबाबुले शैलजा दिदीलाई पनि हुन नदिने । त्यसपछि रामचन्द्रजी र मेरो फाइनल भिडन्त हुनेजस्तो भयो । मलाई गिरिजाबाबुको फोन आयो । ‘खुमबहादुरजी तपाईंको उमेर नै के भएको छ र ? भर्खर ४१–४२ वर्ष हुनुभयो, अहिले दलको नेता र प्रधानमन्त्री भएर के गर्नुहुन्छ छोड्दिनुस्’ भनेर सम्झाउनुभयो । मैले ‘गिरिजाबाबु, मैले जित्ने पक्का छ, छाड्दिनँ । सुशील‘दालगायत हामी सबै बसेर सल्लाह भएको छ,’ भनेँ । त्यसपछि उहाँले ‘ल त ल’ भनेर फोन राख्नुभयो । उहाँलाई कतैबाट प्रेसर परेजस्तो लाग्छ मलाई ।
चुनावको सबै तयारी पूरा भयो । मेरो र रामचन्द्रको नाम टाँसियो । फेरि गिरिजाबाबुको फोन आयो । ‘छोड्दिनुस्, तपाईं मैले भनेको मान्नुस्, उमेरै भएको छैन, किन लड्ने’ भन्नुभयो । मैले ‘हामी सबै बसेर सल्लाह भएको हो, तपाईंले एकफेर सुशीलदालाई भन्नुस् न त, सुशीलदाको फोन आयो भने म छोड्दिन्छु’ भनेँ । उहाँ रिसाउनुभयो । ‘तपाईंका लागि म हो कि सुशील ? म नेता हो कि सुशील ?’ भन्नुभयो । अप्ठ्यारो बनाउनुभयो । त्यसपछि मैले ‘गिरिजाबाबु मैले शैलजा दिदीलाई छोड्छु, अरूलाई त छाड्दिनँ’ भनेँ । ‘शैलजा–शैलजा हुन्न’ भन्नुहुन्छ । म त अचम्म परेँ । शैलजा साख्खै भान्जी, एउटै घरमा बस्नुहुन्छ यार । तर पनि, शैलजा हुन्न भन्नुहुन्छ । म त फ्ल्याट भएँ ।
करिब २० मिनेटपछि तेस्रोपटक गिरिजाबाबुको फोन आयो । ‘मैले भनेको नमान्ने, छाड्दिनुस् भन्दा नमान्ने, सम्झाउँदा पनि नमान्ने ?’ भनेर निकै हप्काउनुभयो । मलाई लाग्छ, उहाँलाई कतैबाट ठूलो प्रेसर आएको थियो । उहाँसँगै त्यसपछि अरू नेताहरू पनि हप्काउन थाले । त्यतिवेला मेरो त्यत्रो हाइट पनि बनिसक्या थिएन । एकाउन्नपछि न ज्यादा हाइट बनेको हो मेरो । केही नलागेपछि ‘ठिकै छ नि त छाडिदिन्छु’ भनेँ । ‘शेरबहादुरजीलाई गराउनुपर्छ’ भन्नुभयो । जबकि शेरबहादुरजीसँग उहाँको त्यत्रो घनिष्ठता छँदै थिएन । बरु, त्योभन्दा राम्रो गोविन्द, अर्जुन र विजयसँग थियो । मैले ‘छाड्छु’ भन्ने कमिटमेन्ट गरिसकेको थिएँ, ‘ठिकै छ शेरबहादुरजी हुन्छ’ भनेँ । त्यतिवेला नेताहरूलाई कतैबाट ठूलो प्रेसर पर्योजस्तो लाग्छ ।
किसुनजीले रानाभाटलाई आमाचकारी गाली गरे
चुनावका लागि रामचन्द्र र मेरो नाम टाँसिसकेपछि किसुनजी (कृष्णप्रसाद भट्टराई), योगप्रसाद, वासुदाइ, बेनीबहादुर कार्की, महेन्द्रनारायण निधिसहित पार्टी कार्यालय पुग्नुभयो । सिँढी चढ्दै हुनुहुन्थ्यो, तारानाथ रानाभाट आएर ‘नमस्ते किसुनजी’ भने । उहाँले नमस्ते फर्काउँदै ‘के हुँदै छ’ भनेर सोध्नुभयो । ‘रामचन्द्रजी र खुमबहादुरजी अन्तिम हुनुहुन्छ, चुनाव हुन्छहोला’ भनेर रानाभाटले सुनाउनुभयो । त्यसअघिका सबै कुरा पनि उहाँले किसुनजीलाई बेलीविस्तार लगाए ।
त्यसपछि त किसुनजी पड्किहाले । ‘तँलाई मैले यसैका लागि निर्वाचन अधिकृत बनाएको हो ?’ भन्दै गाली गर्न थाल्नुभयो । ‘काले र साले’ भन्दै रानाभाटलाई फोहोर–फोहोर आमाचकारी गाली गर्नुभयो । सायद उहाँले रामचन्द्रलाई घोषणा गर्न भन्नुभएको थियो । तर, तारानाथको त्यो हिम्मत परेनजस्तो लाग्छ है मलाई । निकै बेर गाली गरेपछि किसुनजी कोठामा जानुभयो । रानाभाट पनि सँगै गए । त्यहाँ के–के कुरा भयो, थाहा भएन ।
मलाई नेता बनाउनेबारेमा भने किसुनजी बोल्दै बोल्नुभएन । उहाँले ‘खुमबहादुर हुनुपर्छ’ भनेको भए त्यस्तो स्थिति आउने नै थिएन । मेराविरुद्ध त्यतिवेला सबै नेता एकै गुँड भए ।
शेरबहादुरजीको भाग्य बलियो
शेरबहादुरजी र म दुवैजना पश्चिमको । भावनात्मक सम्बन्ध पनि छ । उहाँलाई मैले जहिलेबाट चिनेँ, दाइ नै भन्छु । उहाँले ‘भाइ’ भन्नुहुन्छ ।
संसदीय दलको नेताको चुनावका वेला उहाँसँग चारवटा भोट थियो । सिद्धराज ओझा, रामजनम चौधरी, भक्तबहादुर बलायर र आफू । उम्मेदवारी फिर्ता लिएपछि उहाँ पार्टी कार्यालयबाट तल झरेर चियापसलमा चुरोट खाँदै हुनुहुन्थ्यो । म पनि गएँ । उहाँले ‘ल भाइ सर्वसम्मति भयो भने तैँले मलाई छाड्नुपर्छ, भएन भने म तँलाई भोट हाल्छु’ भन्नुभयो । उहाँको भाग्य बलियो हो, दलको नेता बन्नुभयो ।
शेरबहादुरजीलाई मैले सधैँ सहयोग गरेको छु । बरु, उहाँले मलाई सहयोग गर्नुभएन । हाम्रो सधैँ यत्तिकै सम्बन्ध रह्यो । प्रधानमन्त्री भएपछि भने बठ्याइँ गर्छन् ।
एमाले मैले फुटाएको हुँ
नौ महिने सरकारका वेला एमालेले लोकप्रिय काम गर्यो । देशमा कम्युनिस्ट बलिया हुँदै थिए । कांग्रेसका लागि यो राम्रो हुने कुरा भएन । एमालेलाई फुटाउनुपर्यो भन्ने भयो । एमालेभित्र नेताहरूबीच असन्तुष्टि थियो, त्यसको हामीले फाइदा उठाउन सक्थ्यौँ । लामो छलफलपछि एमाले विभाजित भएको हो ।
सुरुमा मैले एकजना वामपन्थी पत्रकारसँग कुरा गरेँ । ती मैले पहिलेदेखि नै चिनिराखेका हुन्, नाम भन्दिनँ । पत्रकारले एउटा विद्यार्थी नेतासँग भेट गराइदियो । अहिले ती पार्टीको कुन तहमा छन्, मलाई नसोध्नुस् । क्रमश: म सिँढी बाई सिँढी चढ्दै गएँ । एमालेका तल्लो तहका नेता साथीहरूसँग कुरा गरेँ । सजिलो पनि थियो, संसद्मा उनीहरूसँग चिनाजानी थियो । उनीहरूले ठूला नेताहरूसित पनि सरसल्लाह गर्नुभएछ ।
त्यसपछि अशोक राई, सिपी मैनाली र अर्को एकजना को थियो अहिले बिर्से, उहाँहरूसँग कुराकानी भयो । कुराकानी चल्दै गयो । एकै दिन त हुन्न नि यस्तो कुरा त । हाम्रो कुरा चल्दै गयो, एमालेभित्र असन्तुष्टि पनि चुलिँदै थियो । अन्तिममा वामदेव गौतम, राधाकृष्ण मैनाली र साहना प्रधानसँग बसेर छलफल भयो । उहाँहरू पर्टी फुटाउन तयार हुनहुन्थ्यो, तर एउटा सर्त राख्नुभयो । मैले उहाँहरूको सर्त मानें । त्यतिवेला मेरो बोलीको भाउ थियो । मैले बोलिसकेपछि फरक पर्दैन भन्ने थियो क्या । पार्टीभित्र पनि गिरिजाबाबुले समेत मेरो सल्लाह मान्नुहुन्थ्यो । मैले जसलाई वचन दिन्थेँ, त्यसलाई सहयोग पनि गर्थेँ ।
वामदेवजीहरू पार्टी फुटाउन तयार भएको कुरा गिरिजाबाबुलाई बताएँ । उहाँले ‘सक्छौ भने फुटाऊ न त’ भन्नुभयो । मैले ‘सकिन्छ गिरिजाबाबु, मलाई टिम चाहियो’ भनेँ । ‘तिमीहरूको एकेजिबी (अर्जुननरसिंह, खुमबहादुर, गोविन्दराज, विजयकुमार गच्छदार) ग्रुप छँदै छ नि, त्योभन्दा कस्तो टिम चाहियो,’ गिरिजाबाबुले भन्नुभयो । त्यसपछि हामी चारजनाले छलफल अगाडि बढायौँ ।
हाम्रा पटक–पटकका छलफलपछि अन्तिममा गिरिजाबाबुसित वामदेवजीहरूको छलफल गरायौँ । त्यो छलफलमा पनि वामदेवजीहरूले पुरानै सर्त राख्नुभयो । खासमा उहाँहरूले ‘पार्टी विभाजन गरेपछि कांग्रेस र मालेले संयुक्त सरकार बनाउने र चुनावमा पनि मिलेर जानुपर्छ’ भन्ने सर्त राखेका थिए । गिरिजाबाबुले ‘डन’ गर्नुभयो । वामदेवजीले ‘पछि धोका हुने त होइन ?’ भनेर पनि सोध्नुभएको थियो । तर, हाम्रो तर्फबाट ‘धोका हुन्न’ भन्ने कमिटमेन्ट गरियो । र, अन्तत: ०५४ मा एमाले विभाजन भयो ।
एमाले फुटाउन मैले पैसा दिएको आरोप पनि लगाइने गरेको छ । त्यो सत्य होइन । मैले एक–एक पैसा दिएको होइन । उहाँहरूले पनि माग्नुभएन । गृहमन्त्री हुँदा आर्थिक सहयोग अलि–अलि दिइन्थ्यो । त्यो जसलाई पनि दिइन्थ्यो । एमाले फुटाउने सन्दर्भमा कतैबाट पनि पैसा दिएको होइन । सब बेकार कुरा हुन् ।
मनमोहन अधिकारीले सरापे
एमाले फुटेपछि संसद्को रोस्ट्रमबाट बोल्दै मनमोहन अधिकारीजीले मलाई श्राप दिनुभयो । ‘खुमबहादुरले मेरो पार्टी फुटायो, मेरो सेतै फुलेको दाह्रीको तँलाई पाप लाग्नेछ’ भन्नुभयो । साँच्चै एमाले फुटिसकेपछि मलाई पापै लाग्यो । नत्र अहिले मेरो यस्तो रोल हुन्न थियो होला । म यसरी कोठामा थन्किएर बस्ने हुन्थें र ?
कहिलेकाहीँ सोच्दा मलाई मनमोहनजीकै पाप लाग्यो कि भन्ने लाग्छ । त्यस्तो लाग्नु स्वाभाविक पनि हो । तर, ठिकै छ । मैले आफ्नो स्वार्थका लागि फुटाएको होइन, पार्टीकै लागि गरेको हुँ । मैले नफुटाएको भए कम्युनिस्टको हातमा देश गइहाल्थ्यो नि ।
वामदेवजीहरूलाई धोका भयो
हाम्रोतर्फबाट गरिएको कमिटमेन्ट पूरा भएन, वामदेवजीहरूलाई ठूलो धोका भयो । माले पनि सरकार आउने र सत्ता टिकाइराख्ने कुरा थियो, कांग्रेस र माले मिलेर चुनावमा जाने प्रतिबद्धता थियो । तर, त्यो पूरा भएन । गिरिजाबाबुबाट उहाँहरूलाई ठूलो धोका भयो ।
भइदियो के भने चुनावको मुखमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्यो । किसुनजी, गिरिजाबाबु सबै हुनुहुन्थ्यो । बैठकमा एमालेसँग साँठगाँठ गरेर चुनावमा जाने कि मालेसँग मिलेर जाने भन्ने कुरा उठ्यो । अधिकांश साथीहरूले ‘मालेसँग मिलेर जानुपर्छ’ भन्ने कुरा गरे । मलाई अहिले पनि थाहा छ, महेश आचार्य, चक्र बास्तोला, बलदेव मजगैँया र महन्थ ठाकुरले मात्रै कुनै प्रतिक्रिया जनाएनन् । गोविन्दराज गृहमन्त्री भएकाले केही बोलेनन् । तीबाहेक शेरबहादुर, रामचन्द्र, सुशीलसहित होल–टोटलले ‘मालेसँग मिलेर जानुपर्छ, एमाले बलियै छ’ भन्नुभयो ।
तर, अचम्म । गिरिजाबाबुले नै ‘हैन, एमालेसँग मिलेर जाने’ भन्नुभयो । मैले ‘हुँदैन गिरिजाबाबु, जुन कमिटमेन्ट गरेर हामीले काम गर्या छौँ, त्यो त पूरा हुनुपर्छ । होइन भने नोट अफ डिसेन्ट लेख्छु’ भनेँ । विजय गच्छदारले पनि ‘नोट अफ डिसेन्ट लेख्छु’ भन्यो । पछि थप अचम्म भयो । पहिला मालेसित मिलेर जाऔँ भन्ने साथीहरू पनि एमालेसित मिलौँ भन्न थाले । मैले मान्दै मानिनँ ।
मैले हठ गरेपछि मेरै संयोजकत्वमा चक्र बास्तोला र विजय गच्छदार राखेर मालेसँग छलफल गर्न टिम गठन भयो । चक्रले सबै कुरा थाहा पाएपछि ‘मलाई त यो कुरा थाहा थिएन यार, यस्तो कुरा रहेछ, मलाई त केही थाहै थिएन, एकदम राम्रो कुरा हो’ भन्यो । हाम्रो टिमले मालेका नेताहरूसित कुरा गर्यो । उहाँहरूले (मालेका नेताहरू) ‘सक्नुहुन्छ भने हामीलाई सत्तामा लगेर चुनावमा जाऔँ, यदि तपाईंहरूलाई कतैबाट प्रेसर छ, बाध्यता छ भने पनि ठिकै छ, हामी सरकारमा जाँदैनौँ, बाहिरबाट समर्थन गर्छाैँ । तर, एमालेलाई सरकारमा नलिनुस्, चुनाव जहिले गर्नुहुन्छ हामी समर्थन गर्छौँ, मिलेर जाऔँ’ भन्नुभयो । सबै खुसी भयौँ र आयौँ ।
पछि फेरि हाम्रा नेताहरू वार्तामा गएकाको कुरै सुन्न चाहनुहुन्न । एमालेसँग मिलेर जाने भन्नुहुन्छ । मैले भनेँ ‘कुरै नसुन्ने भए हामीलाई किन कमिटी बनाएर वार्ता गर्न पठाउनुभयो ? वार्तामा भएको कुरा त सुन्नुपर्यो नि ।’ त्यसपछि नेताहरूले कुरा त सुने, तर एमालेसँगै मिल्ने कुरा गर्छन् । ‘हैन–हैन, एमालेसँगै मिलेर जाने, यही फाइनल भयो’ भन्नुभयो । मैले र विजय गच्छदारले त्यसमा असहमति जनायौँ, अरू कोही बोलेनन् । मालेलाई धोका दिएर ०५६ को चुनावमा गइयो । माले साफ भयो, कांग्रेसले राम्रो स्थान ल्यायो । एमाले नफुट्या भए कांंग्रेसको के हुन्थ्यो विचार गर्नुस् त ? सक्किइसक्थ्यो अहिलेसम्म ।
आउने महाधिवेशनमा महामन्त्री लड्छु
अहिले शेरबहादुरजी र म एकै ठाउँमा छौँ । मैले उहाँलाई भनेको पनि छु ‘तपाईं सभापतिमा लड्नुस्, म महामन्त्रीमा ।’ अहिलेको विधानअनुसार महामन्त्रीमा लड्छु । विधान संशोधन भयो भने उपसभापतिमा पनि लड्न सक्छु होला । शेरबहादुरजीले केही भन्नुभएको छैन । विचार उहाँहरूसँग मिल्दैन मेरो । सुशील, रामचन्द्र र शेरबहादुरको विचारको झगडा होइन, मेरो त अहिले लाइन नै अर्कै छ नि । त्यसैले अलिकति कमजोर छु । भर्खर त खुलेर आउन लागेको छु म ।
आउने महाधिवेशनमा लड्छु । यसपटक स्थापित भएँ भने अर्कोपटक सभापतिमा लडुँला । होइन, यसपटक हारेँ भने कुरै सकियो, राजनीति छोड्छु, सन्न्यास लिन्छु । किन बेकारमा टेन्सन लिने ?
कांग्रेसमा हुती भएका कोही छैनन्
हुती भएका कांग्रेसमा को छ र ? एमालेहरू फिल्डमा जसरी काम गर्छन् नि, त्यसरी कांग्रेसका मै हुँ भन्ने कतिजना नेता फिल्डमा भिड्न सक्छन् ? हेरे भइहाल्यो नि । सुशील त पार्टी सभापति होइनन् ? बाँकेमा आफँैले मात्र जित्ने, त्यही पनि एमालेको भोट हाल्न लगाएर । एमालेको क्यान्डिडेट, मेरो ज्वाइँ भन्ने पर्दो रहेछ त्यो धिताल ।
अहिले स्थानीय निकायको चुनाव भयो भने कांग्रेसको ‘धोती न टोपी’ हुन्छ । मैले त बुझेको छु नि । प्रहरीको क्यारेक्टर कस्तो हुन्छ, तिनीहरूको मेन्टालिटी कस्तो हुन्छ भन्ने बुझेको छु । अनि, वामदेव कस्तो खाले मान्छे हुन् त्यो पनि बुझेको छु ।
अहिलेकै सरकारमा जति कांग्रेसका मन्त्री छन्, तिनमा विमलेन्द्र निधिभन्दा पहिले दु:ख पाएका को छन् ? ०४६ भन्दा अघिका को छन् ? कांग्रेसको जुन नम्स थियो नि, त्यो सकिएको छ । बहुत इन्या–गिन्या मात्रै पुराना मान्छे कांग्रेसमा छन् ।
लगभग देशैभरि कांग्रेसको बेहालैजस्तो छ । एमाले इन्ट्याक्ट भएर चुनावमा गयो भने साँच्चै एमालेले जित्छ । माओवादीमा लागेका मान्छेहरूले त्यहाँबाट केही पाइन्न भन्ने बुझिसके । जसरी एमालेबाट गएका थिए, माले भएर गएका थिए, ती सबै मान्छे एमालेमा फर्किन्छन् । कांग्रेसमा कम मान्छे हुँदैनन्, बहुत कम मात्रै हुन्छन् ।
खगेन्द्र पन्त/नेत्र पन्थी


