हराइरहेको एयर एसियाको खोजी रोकियो
जकार्ता, १३ पुस । इन्डोनेसियाको सुराबाया विमानस्थलबाट उडान भरेको केही समयपछि आइतबार बिहानबाट हराइरहेको एयर एसियाको विमान क्युजेड ८५०१ को खोजी सोमबार बिहानबाट पुन: सुचारु गरिने भएको छ । आइतबार बिहानैबाट सुरु भएको खोजी रात परेपछि भिजिबिलिटी कम भएको र हावाहुरी चलेको भन्दै रोकिएको थियो । एयर एसियाका अधिकारीले धैर्य हुन र सवार यात्रीको सकुशलताका लागि प्रार्थना गर्न अनुरोध गरेका छन् ।
चालक दलका सात सदस्यसहित एयरबस ए३२०–२०० मा एक सय ६२ यात्रु सवार विमानको आइतबार बिहान स्थानीय समयअनुसार ७:२४ बजे जकार्ता एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क टुटेको थियो । विमानले स्थानीय समयअनुसार ५: २० बजे बिहान उडान भरेको थियो । विमान बिहान ८:३० बजे सिंगापुरको चांगी विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर, जाबा समुद्रमाथि पुगेलगत्तै विमानको सम्पर्क टुट्यो ।
अन्तिमपटक सम्पर्क हुँदा विमानबाट वैकल्पिक बाटोको अनुरोध भएको एयर एसियाले जनाएको छ । विमान चालकले त्यतिवेला बेजोड हावाहुरी चलेको संकेत गरेका थिए । तर, विमानको अवस्थाबारे केही पत्ता लागेको छैन । एयरलाइन्सले पनि विमानको अवस्थाबारे केही जानकारी दिएको छैन । ‘अहिले नै विमान दुर्घटनामा पर्यो भन्न सकिँदैन,’ आइतबार एयरलाइन्सका कार्यकारी अधिकारीले भनेका छन् । पाइलटले उडान भरेको केही समयमा नै विमान ३२ हजार फिटबाट ३८ हजार फिटमा लैजानुपर्ने सन्देश पठाएको इन्डोनेसियाली उड्डयन मन्त्रीले बताएका छन् । तर, उनले पनि थप जानकारी दिएका छैनन् ।
एयरबस ए३२०–२०० मा एक सय ५५ इन्डोनेसियाली, तीन दक्षिण कोरियाली र एक–एक बेलायती, फ्रेन्च, मलेसियन र सिंगापुरे सवार रहेको एयर एसियाले जनाएको छ । तीमध्ये १७ बालबालिका र एक नाबालिग थिए । उडान ट्रयाक गर्ने वेबसाइटका अनुसार विमानको उडान मार्ग अधिकांश समुद्रमाथि थियो । त्यतिवेला त्यो क्षेत्रमा बेजोड हावाहुरी चलेको संकेत मिलेको थियो । तर, विज्ञले हावाहुरीकै कारण विमान नखस्ने बताएका छन् । यसले आशंका जन्माइदिएको छ ।
आइतबार इन्डोनेसियाली खोजी टोलीले विमानलाई समुद्रमा एक सय ४५ वर्ग किलोमिटरवरपर खाजी गरेका थिए । मलेसिया, सिंगापुर, अस्ट्रेलियाको खोजी टिमले सोमबार बिहानबाट त्यही क्षेत्रमा खोजी कार्य सुरु गर्ने इन्डोनेसियाली अधिकारीले जनाएका छन् । अन्तिमपटक सम्पर्क भएको स्थानभन्दा एक सय माइल टाढा बेलिटुङ टापुमा विमानका टुक्रा देखिएको आशंका गरिएको छ । तर, एयर एसियाले यसको पुष्टि गरेको छैन ।
एयर एसियाले यो विमान अन्तिमपटक १६ नोभेम्बर २०१४ मा मर्मतसम्भार गरिएको जनाएको छ । विमानमा सवार भएका परिवारका आफन्तलाई एयरलाइन्सले इमर्जेन्सी नम्बरमा फोन गर्न अनुरोध गरेको छ । एयर एसियाका सवार यात्रीका आफन्त विमान हराएको केही समयपछि सुराबाया र चांगी विमानस्थलमा पुगेका छन् । उनीहरूले विमानको खोजी छिटो हुनुपर्ने माग राखेका छन् । एयर एसियाले विमान हराएलगत्तै कम्पनीको वेबसाइट र सामाजिक सञ्जालका लोगोको रंग रातोबाट खैरो बनाएको छ ।
मलेसियामा केन्द्रीय कार्यालय रहेको एयर एसिया एयरलाइन्सको विमान दुर्घटनामा परेको यो पहिलोपटक हो । एयर एसियाले सयभन्दा धेरै देशमा उडान भर्ने गरेको छ । विमानले यसअघि १३ हजार ६ सय उडान भरिसकेको जानकारी एयर एसियाले दिएको छ ।
यही वर्ष एसियाबाट सञ्चालित विमान दुर्घटनामा परेको यो तेस्रोपटक हो । मार्चमा मलेसिया एयरलाइन्सको एमएच ३७० क्वलालम्पुरबाट बेइजिङका लागि उडान भरेको केही समयपछि हराएको थियो । विमानमा चालक दलका सदस्यसहित दुई सय ३९ सवार थिए । विमानबारे केही पत्ता लागेको छैन । त्यस्तै, मलेसिया एयरलाइन्सकै एमएच १७ जुलाईमा युक्रेनको हवाई मार्गमा हुँदा खसालिएको थियो । विमानमा सवार सबै दुई सय ९८ को मृत्यु भएको थियो ।
एजेन्सी


