पिंकीकलीलाई सुन्दरी हात्तीको ताज


चितवन, १४ पुस । चितवनको पर्यटकीय क्षेत्र सौराहामा हात्ती महोत्सवको रौनक छ । हात्तीको पिकनिकपछि हात्तीको सुन्दरी प्रतियोगिता समेत गरिएको छ ।

विशेषरुपमा सिंगारिएको बाघमारा सामुदायिक वनको चौरमा महोत्सव अवलोकन गर्नेहरुको भिडभाड छ ।दुर्लभ हात्तीको महोत्सव अवलोकन गर्न देश विदेशका पर्यटकहरु पनि चितवनको सौराहा ओइरिएका छन् ।

महोत्सवको प्रमुख आकर्षण थियो हात्तीहरुको पिकनिक । करिब १ सय हात्तीहरुलाई लहरै राखेर उखु, गाजर, फर्सी, केरा, बन्दागोभी लगायतका खानेकुरा खुवाइएको थियो । एउटा हात्तीको भागमा करिव ५० केजी खानेकुरा परेको आयोजकको भनाइ छ ।

पशु अधिकारकर्मीहरुले महोत्सवका नाममा हात्तीलाई दुःख दिने गरिएको भन्दै आलोचना गर्दै आएका थिए । त्यसैले यसपटकको महोत्सवमा पिकनिक कार्यक्रम राखेर हात्तीहरुलाई मनपर्ने खानेकुरा खुवाइएको महोत्सव संयोजक सुमन घिमिरेले अनलाइनखबरलाई बताए । हात्तीहरुको पिकनिक नेपालमै पहिलोपटक आयोजना गरिएको उनको दाबी छ ।

पिंकीकली सुन्दरी घोषित
महोत्सवअन्तरगत सोमबार हात्ती सुन्दरी प्रतियोगिता आयोजना भयो । सबैभन्दा सुन्दर हात्तीको उपाधि पिंकीकलीले पाएकी छ । पुष्पकली दोस्रो र प्रकृतिकली तेस्रो भएका छन् । माहुतेहरुले सिँगारेका आधारमा सबैभन्दा सुन्दर हात्ती छनोट गरिएको हो । सुन्दरी प्रतियोगितामा ५ हात्ती प्रतिस्पर्धामा थिए ।

सोमबार नै भएको हात्ती दौड प्रतियोगिताको फाइनलमा बोगो ट्राभल्सको ब्यूटीकली पहिलो भएको छ । यस्तै साइड एडभेन्चरको लक्कीकली दोस्रो र ल्याण्डमार्कको लक्ष्मीकली तेस्रो भए ।

यस वर्ष हात्ती दौड प्रतियोगितामा पाँच विदेशीसमेत गरी २० हात्ती सहभागी थिए । महोत्सवमा हात्तीका छावाहरुको फुटबल, गाडा दौड, टांगा दौड, डुङ्गा दौड प्रतियोगिता पनि भए ।

उदघाटनको पहिलो दिन २० हजार जनाले महोत्सव अवलोकन गरेको आयोजक क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । हालसम्म ७०-८० हजारले हात्ती महोत्सव अवलोकन गरिसकेको संयोजक घिमिरेले जानकारी दिए ।








,