ज्ञानेन्द्रको झापा 'कनेक्सन' के हो ?

झापा, २४ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह दुई दिनदेखि झापा छन्। दमक नगरपालिकाको १५ नम्बर वडामा रहेको चियाबगान भित्रको आफ्नो 'मिनी दरबार' मा उनी बसेका छन्। बर्सेनीजसो हिउँदमा राजधानीको जाडो छल्न आउने उनको झापा यात्रा २०५८ को दरबार हत्याकाण्डपछि पातलिएको थियो। राजपाठ आफ्नो काँधमा नआउञ्जेल उनी त्यसअघि हरेक वर्ष हिउँदमा एक महिना लामो बसाईका साथ दमक आउने गरेका थिए।

बुधबार सिमराबाट आफै मोटर हाँकेर दमक आएका उनको साथमा कर्मचारीहरु मात्रै छन्। परिवारका अन्य सदस्य केही दिनभित्रै झापा आइपुग्ने स्रोतले जनाएको छ। उनका संवाद सचिव फणिराज पाठकले जनाएअनुसार दुई साता लामो बसाइका लागि ज्ञानेन्द्र झापा आएका हुन्। यो अवधि लम्बिने अनुमान जिल्लाका सुरक्षा अधिकारीहरको छ।

'हामीलाई प्राप्त सूचना अनुसार एक महिना लामो बसाई हुने बुझिएको छ', जिल्लाका एक प्रहरी अधिकृतले भने 'राजावादी कार्यकर्तासँग भेटघाट गर्ने बुझिएको छ।'

ज्ञानेन्द्रको झापा 'कनेक्सन'
उनको झापा 'कनेक्सन' को मुख्य आधार चाहिँ यहाँ रहेको 'हिमालय –महालक्ष्मी गुडरिक' चिया बगान हो, जसमा उनको स्वामित्व छ। दमकको १५ र ९ नम्बर वडामा सात सय बिघा जमिनभन्दा बढी क्षेत्रफलमा फैलिएको चिया बगान २०१८ सालमा उनका बाबु महेन्द्रले स्थापना गरेका हुन्।

महेन्द्रले भाई हिमालयको नाममा स्थापना गरेको यो बगानभित्र एउटा मिनी दरबार छ। राजमार्गभन्दा १ किलोमिटर दक्षिणमा रहेको दरबारमा उनी यसअघि पनि पटक पटक आएर लामो समय बस्ने गरेका थिए।

जस्तापातको छाना भएको र वरिपरिबाट अग्लो पर्खालले घेरिएको यो दुई तले दरबारमा स्थानीयलाई सधैँ प्रवेश निषेध छ। ज्ञानेन्द्रका परिवारका सदस्यहरु जाडो छल्न यहाँ आउने गरेको कर्मचारी बताउँछन्।

बँदेल, हरिण लगायतका जनावर पालिएको दरबारमा पानीको फोहोरा र दर्जनौं कुकुर बस्ने घर पनि अलग्गै छ। राजतन्त्रकालमै तत्कालीन युवराज पारसको परिवार हिउँदमा बस्न आउँदा तत्कालीन युवराज्ञी हिमानीलाई दरबारभित्रैको कुकुरले टोकेको समाचार पनि बाहिर आएको थियो।

सखुवाको जंगल पनि नजिकै भएको गुडरिक दरबार सधैं सुरक्षागार्डहरुको जिम्मामा रहने गरेको छ भने सुरक्षाफौज पनि यहाँ खटिएको हुन्छ।

,