जनता आएनन् कमरेड?

एकीकृत माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश।

रविराज बराल
बिहान सार्क सम्मेलनताका बनाइएको बानेश्वर-बबरमहल 'भव्य' सडक नाप्दै गर्दा फोन बज्यो। टेलिकमको पोस्टपेड नम्बर थियो तर अपरिचित। उठाएँ।

'चिया खान आइज', पुरानो तर परिचित आवाजमा आदेश आयो।

'कहाँ?', आज्ञाकारी बनेर मैले सोधेँ।

'कहाँ हुन्छ? भृकुटीमण्डपमा', काठमाडौंमा अन्त चिया पाक्दैन जस्तो गरेर उसले जवाफ फर्कायो।

'ल', लामो कुरा नगरीकन मैले फोन काटेँ, 'आधा घण्टा लाग्ला।'

पाइला छिटोछिटो भृकुटीमण्डपतिर बढाएँ।

तुलनात्मक रुपमा अन्य दिनभन्दा शनिबार सडकमा सवारीसाधनको चाप कम हुन्छ। सडक किनार पनि खाली हुन्छन्। सँधैजसो सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्ने बानी (कि बाध्यता?) भए पनि शनिबार भने म सडक नाप्दै हिँड्छु। यसका मुख्य तीनओटा कारण छन्। पहिलो, सडकमा कोही न कोही रमाइलो मान्छे भेटिन्छ, चाहे चिनेको होओस् वा नचिनेको। दोश्रो, शनिवार अरु दिन जस्तो हतारो हुँदैन। कलेज बिदा हुन्छ, 'कारखाना' अरु दिन भन्दा ढिला खुल्छ। तेश्रो, सडक किनार अरु दिनजस्तो व्यस्त हुँदैन। अनामनगर, न्युप्लाजा, भृकुटीमण्डप, पुतलीसडक, सुन्धारा, जमल, दरबारमार्ग मेरा सबैभन्दा 'चर्चित' रुट हुन्।

आधा घण्टा नपुग्दै म भृकुटीमण्डप पुगिसकेको थिएँ।

मैले चिन्दा ऊ खुंखार माओवादी थियो। अहिले ऊ के छ थाहा छैन किनभने उसँग मेरो भेट नभएको वर्षदिन भन्दा बढी भैसकेको थियो। अर्को कुरा, ऊसँग भेट भए यता उसको पार्टी पाँच फ्याक भैसकेको छ।

कलेज पढ्दा म कलाको कुरा गर्थेँ, ऊ कला वर्गीय हुन्छ भन्थ्यो। कलेज सकिएपछि ऊसँगको भेट पातलियो। बिचमा कहिलेकाहीँ भेट हुँदा आफू कृषि क्रान्तिमा लागेको बताउँथ्यो।

'अचानक किन सम्झिएछ' भन्ठान्दै म भृकुटीमण्डपतिर सोझिएँ। पानी पर्लापर्ला जस्तो थियो आकाश। काठमाडौं चिस्सिएको थियो। मनकामना खाजा घर शनिबारका बिहान खाली खाली झैँ हुन्थ्यो। तर आज भने भरिभराउ थियो। ऊ चिया गफमा व्यस्त थियो। त्यहाँ धेरै परिचित अनुहारहरु देखेँ, तीनचारजना चाहिँ नचिनेका। भेट नभएको लामो सयम भएकोले धेरैको नामचाहिँ बिर्सेछु।

सबैसँग हात मिलाइयो तर  न मैले आफ्नो नाम भनेँ, न उनीहरुले आफ्नो। हात मिले, र आँखैआँखाबाट कुरा भए।

'के छ?', सोध्यो।

'ठिकठाक', टाउको हल्लाएर औपचारिकता देखाएँ। उसले चिया मगायो। चिया खाने निम्तो दिए पनि मसँग मात्र कुरा गर्ने फुर्सद उसँग थिएन। चियागफमा म उनीहरुको श्रोता बनेँ।

कोही माछापालनमा लागेका रहेछन्, कोही तरकारी खेतीमा त कोही बंगुर पालनमा। एकजना कन्सल्ट्यान्सी चलाउँदा रहेछन्। मसँग अलि कुरा मिल्ने एकजना शिक्षण पेशामा रहेछन्। एकजना कमरेडचाहिँ पार्टीको कोही नेता निकटको पत्रिका चलाउँछन् रे। अर्का एकजना, मैले पहिला नचिनेका, पुरानो बसपार्कमा रेस्टुराँ चलाउँदा रहेछन्। एकजना विद्यार्थी संगठनमा रहेछन् क्यार, क्याम्पस इकाइको पिकनिकमा ४० हजार घोटाला भएको सुनाउँदै थिए। 

कुराकानी फलदायी हुने नलागेपछि मैले चियाँ चाँडोचाँडो पिइदिएँ। घडी हेरेँ र हतार भएको बहाना गरेँ।

'ए ! हिँडिहाल्ने?', उसले प्रश्न गर्‍यो।

'अँsss। अलि हतारै छ। अचानक बोलाइस्। अलि बिहानै भनेको भए टाइम निकाल्थेँ', मैले कुरा बनाएँ। 

'म पनि हतार हतार बिहानै आएँ। हुन्छ, अर्को पटक बसौँला', उसले मेरो हतारो बुझेजस्तो गर्‍यो।

आधा घण्टा लामो चियागफबाट छुटेर 'कारखाना' तिर लम्किँदै गर्दा सडकमा चिनेका अन्य अनुहार पनि देखेँ। माओवादीको कलाकार, जो केही वर्षअघिसम्म काठमाडौंमा हुने आमसभा र सांस्कृतिक कार्यक्रमहरुमा क्रान्ति गीत गाउँथ्यो। विद्यार्थी नेता, जो क्याम्पसबाट विद्यार्थी जम्मा पारेर जुलुस लगाउँथ्यो, आङ जिरिङ्ङ हुने गरी भाषण गर्थ्यो। एक दुईजना टिभीमा पनि देखिइरहने नेता पनि।

म रोकिइन तर हिँड्दाहिँड्दै फ्याट्ट तर्कना चल्यो, 'हैन आज किन सडक माओवादीमय छ?' कहिले कारखाना पुगेपछि समाचार भेटिन्छ, कहिले समाचार खोजेर कारखाना गइन्छ।

मलाई चियामा निम्त्याएको साथी सम्झिएँ। फोन लगाएँ, सोधेँ, 'आज माओवादीको कार्यक्रम थियो र?'

'मलाई पनि बोलाएका थिए। गैएन', उसले उत्तर दियो।

'कार्यक्रम कहाँ थियो र?'

'खै थाहा भएन।'

जवाफ नपाएपछि मैले उसँग बिदा मागेँ।

अरु एक दुईजनालाई पनि सोधेँ। तर उत्तर पाइनँ। राजनीतिक विषयमा सहकर्मी मनोज अपडेट भैरहन्छ। फोन गरेँ।

'ए! म बुझ्छु है', ऊसलाई पनि पत्तो रहेनछ। शनिबार उसको बिदा हो। थाहा नहुनु अस्वभाविक लागेन। खुलामञ्च नजिक सडक किनारमा हिँडिरहेको थिएँ। बाटोमा झन्डा बोकेर हिँडेका दुई चार जना मानिस पनि देखेँ।

'कार्यक्रम कहाँ हो दाई?', एकजनालाई सोधेँ।

'खै यतै भन्थे', जवाफले म रन्थनिएँ। आन्दोलनकारीलाई आन्दोलन कहाँ छ पत्तो छैन। मनोजको फोन आयो, '३० दलको कार्यक्रम थियो रे। तर कहाँ हो थाहा भएन। पानी पर्न लागेकोले क्यान्सिल पो भयो कि।'

'ए ल ल', फोन काटेँ। ३० दल अर्थात् एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चामा आबद्ध दल। मोर्चाको नेतृत्व एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। कार्यक्रम नै भएनछ कि क्या हो भन्ठान्दै रत्नपार्क नजिक ओभर हेड ब्रिज उक्लेँ। हेर्छु त शान्तिबाटिका पुरै रातो छ। फरकफरक झण्डा बोकेका मान्छे शान्तिबाटिकामा थुप्रिएका थिए। कोही भाषण गर्दै थिए।

झट्ट सम्झेँ अंगदलाई। फोन लगाएँ, 'कहाँ छौ?'

'घण्टाघर', उसले जवाफ दियो।

'ए ल शान्तिबाटिका आइहाल। कार्यक्रम छ', फोन काटेँ। ऊ एकैछिनमा आइपुग्यो क्यामेरा तेर्स्याउँदै। अन्तिम वक्ताका रुपमा अशोक राईलाई मञ्चमा बोलाइयो। उनको भाषण सुनियो। एकछिनमा कार्यक्रम सकियो। 

'जाउँ', अंगदले संकेत गर्‍यो। हिँड्दै गर्दा अंगदलाई सोधेँ, 'कति मान्छे हुँदा हुन्?'

'त्यही चार पाँच सय', उसले जवाफ दियो। 'शान्तिबाटिकामा ३० दलका मान्छे पाँच सय मान्छे?', तर्कना आयो।

'अनि हिजो राप्रपा नेपालको कार्यक्रममा नि?', मेरो अर्को प्रश्न थियो। 'चार पाँच हजार', उसले अनुमान गर्‍यो।

घण्टाघर कटिसकेका थियौँ।

'अंगद...'

'हँ', उसको छोटो प्रतिक्रिया।

'कफी खाइदिउँ', प्रस्ताव राखेँ।

'हुन्छ', उसले स्वीकार्‍यो।

प्रज्ञा प्रतिष्ठान छिर्ने कर्नरको चिया पसल खचाखच थियो। यहाँ पनि चिनेकै केही अनुहारहरु देखेँ। माओवादीहरु। उनीहरु चिया र कफीको तातोले चिसो भगाउने असफल प्रयासमा थिए। आन्दोलनले तताउन सकेको थिएन उनीहरुलाई। एकजना पूर्व सभासद्लाई पनि देखेँ। चियागफमा उनी बेलाबेला 'मार्क्सवाद' बोलिरहेका थिए। तर अलि टाढा भएकोले के भने ठ्याक्क बुझिनँ। त्यति चासो पनि दिइनँ।

कारखाना पुगेर सुरुमा फेसबुक खोलेँ। टाइमलाइन नियालेँ।

लालझण्डा बोकेको कमरेडको फोटो अपलोड पोस्ट भैसकेको थियो। लालझण्डा बोकेर सडकमा हिँड्दै गरेका थिए प्रकाश दाहाल। मैले जान्दा उनी माओवादीका आरबिएम अर्थात क्षेत्रीय ब्युरो सदस्य थिए। बिचमा उनी विवादमा आए। कारबाही भोगे। अहिले पार्टीमा उनी के छन् थाहा छैन।
प्रकाश ३० दलीय मोर्चा र मोर्चाको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका छोरा पनि हुन्।

फोटोको शीर्षक थियो- आजको प्रदर्शन।

आँखा फोटोमा गरिएको कमेन्टमा पुग्यो। लेखिएको थियो- 'जनता आएनन् कि क्याहो कामरेड !! सिंगल देखिन्छ त??'

अर्को कमेन्ट थियो-  'जनयुद्धका थालनीकर्ता पनि थोरै नै थिए ! सन्देशको कुरा हो। कम्तिमा बिंडो थाम्ने थालनीको लागि धन्यवाद। आन्दोलनको सफलता र लक्ष्य प्राप्तिको शुभकामना !'

,