बारामा ‘बेटी बचाऊ’ अभियान
कलैया, २६ फागुन । बलात्कृत बालिका पूजा साह (नाम परिवर्तन एन्जल)को मृत्युबाट आक्रोशित बनेका स्थानीयले मंगलबार शवसहित कलैयामा प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडी शव राखी गृहमन्त्रीको राजिनामा माग्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
काठमाडौंस्थित कान्तिबाल अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएपछि शव मंगलबार कलैया लगिएको हो । शवलाई रिक्सामा राखेर नगर परिक्रमा गर्दै प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
श्रृङ्खलाबद्ध तरिकाले कलैयामा बढ्दै गईरहेको बलात्कार, हत्या तथा अपहरण जस्ता आपराधिक कृयाकलापको बृहत्तर छानबिन गरी अपराधिलाई कडा कारवाही गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन भईरहेको छ ।
कलैया-८ निवासी नारायण साहकी ७ बर्षीया छोरी पुजाको फागुन ८ गते साँझ अपहरणपछि सामुहिक बलात्कार भएको थियो । कलैया बजारमा आफनै बुवाको पारचुन पसलमा खेलिरहेको अवस्थामा साह बलात्कार पछि श्री ३ चन्द्र उच्च माविको दक्षिणतिर फोहर फ्याक्ने ठाउँमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
उनलाई वीरगंजमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंस्थित कान्तिबाल अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको फागुन २४ गते आईतबार साँझ मृत्यु भएको हो ।
बेटी बचाउँ अभियान शुरु
सदरमुकाम कलैया सहितका वरपरका गाउँहरुमा केही समय यता श्रृखंलाबद्ध तरिकाले बालबालिकाको अपहरण, बलात्कार तथा हत्या गर्ने आपराधिक कृयाकलाप बढ्दै गईरहेकोले बिभिन्न माग गर्दै आन्दोलन गर्नुपरेको ‘बेटी बचाउ अभियान’ बाराका अध्यक्ष तथा पूर्वसभासद प्रमोद गुप्ताले बताए ।
बिभिन्न माग गर्दै बिभिन्न राजनीतिक दल, भातृसंगठ्न, महिला अधिकारवादी संघ संगठनले जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनमा सहभागिता जनाएका छन् ।
यता साहको बलात्कार घटनामा संलग्न रहेको भनिएका बाराले कलैया-४ निवासी २८ बर्षका कन्हाई गुप्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीमाथी अनुसन्धान जारी रहेको बताएको छ । दुई साताअघि पक्राउ परेका अभियुक्त गुप्ताले रक्सीको नसामा आफूबाट गल्ती भएको स्वीकारेका छन् । बाराका प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर मल्लले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउने बताए ।
कलैया सहित वरपरका गाउँमा समेत बालबालिकाको श्रृखंलाबद्ध तरिकाले अपहरण, बलात्कार, हत्या जस्ता आपराधिक कृयाकलाप बढ्दै गएकोले त्यसको गहिरो अध्ययन अनुसन्धान गरी अपराधिलाई कडाकारवाही गनुपर्ने अखिल नेपाल महिला संघ बाराका प्रचार बिभाग प्रमुख अनिता साहले बताईन् ।
बालबालिकाहरुलाई अपहरण गर्ने प्रयासका घटना पनि दर्जनौं नाघेका छन् । प्रहरीको अनुसन्धान फितलो हुनु र अपराध गर्नेहरुमा प्रहरीको डर हराएकोले यस्ता घटना बढ्दै गएको अनेमसंघ प्रचार बिभाग प्रमुख साहले बताईन् ।
अपराध श्रृंखला
गत माघ २६ गते मझरिया-३ निवासी बर्ष ५ की करुण ठाकुरको अपहरण गरी बलात्कार पछि हत्या गरिएको थियो । घर नजिकैको तोरी बारीमा लगि उनको बलात्कार पछि हत्या भएको हो । गत माघ १२ गते कलैया नगरपालिका-५ बस्ने मोतिलालप्रसाद साहको छोरा आशिषकुमार साहको पनि हत्या भएको थियो । मृतक साहलाई ढुंगाले टाउकोमा हानेर हत्या गरिएको थियो ।
यसैगरी कातिक २२ गते कलैया-८ निवासी ७ बर्षकी कञ्चन ठाकुरको समेत बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

