सम्झौताको १५ घन्टापछि अनशन तोडे डा. केसीले
काठमाडौं, २१ । भदौसरकारसँग एघारबुँदे सम्झौता भएको १५ घन्टापछि त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले छैटौँ अनशन तोडेका छन् ।
आइतबार दिउँसो ३ बजे छोराको उपचारका लागि उपल्लो डोल्पाबाट आएका फुर्पा डोल्फु र डेढ वर्षकी बालिका सुवानी उप्रेतीबाट जुस पिएर केसीले १४ दिन लामो अनशन तोडेका हुन् ।
चिकित्सा शिक्षा सुधारका लागि भन्दै डा. केसीले गत ७ भदौदेखि आमरण अनशन सुरु गरेका थिए । शनिबार बेलुका ७ बजेदेखि पाँच घन्टासम्म चलेको वार्तामा सरकारले सबै माग पूरा गर्ने विश्वास दिलाएपछि केसी अनशन तोड्न राजी भएका थिए ।
शनिबार राति पौने १२ बजे एघारबुँदे सहमति भए पनि डा. केसीले थप १५ घन्टा अनशन लम्ब्याए । पछिल्लो १४ घन्टाको अनशन नेपाली–नेपालीबीच भाइचाराको सम्बन्ध स्थापित होस् भन्नका लागि समर्पित गरेको उनले बताए । डा. केसी अनशन बसेकै दिन प्रहरीका वरिष्ठ अधिकारीसहित आठजनाको ज्यान जाने गरी कैलालीमा आन्दोलन भड्किएको थियो ।
अनशन तोडेपछिको संक्षिप्त मन्तव्यमा डा. केसीले एघारबुँदे सम्झौता तीन करोड नेपालीको जित भएको बताए । उनले आफू ८० प्रतिशत जनता बसोवास गर्ने दुर्गम क्षेत्रमा स्वास्थ्य सुविधा पुर्याउन र स्वास्थ्य शिक्षाको गुणस्तर अभिवृद्धिका लागि अनशन बसेको बताए ।
माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन भए गाउँगाउँमा स्वास्थ्य सेवा पुग्ने, गुणस्तरीय स्वास्थ्यकर्मी उत्पादन हुने, मेडिकल माफियाहरू पत्तासाफ हुने उनले दाबी गरे । सरकारलाई पनि माफियाहरूले आफ्नो नियन्त्रणमा लिएकाले विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले यसपटक कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
उनले माथेमा आयोगको सुझाब कार्यान्वयनका लागि आमजनसमुदायले सरकारलाई निरन्तर दबाब दिनुपर्ने बताए । करिब १५ मिनेट लामो मन्तव्यका क्रममा डा. केसीले नेपालको मेडिकल शिक्षा गुणस्तरहीन हुँदै गएको र मेडिकल शिक्षामा माफियाहरू हाबी हुँदै गएको पटक–पटक दोहोर्याए ।
‘केही मुठीभर मालिकहरूको व्यवसायमा चिन्ता गर्ने कि तीन करोड नेपालीको स्वास्थ्यमा चिन्ता गर्ने ?’ उनले भने, ‘मलाई लाग्छ तीन करोड नेपालीकै स्वास्थ्यमा प्राथमिकता दिनुपर्छ । मैले गरेको पनि त्यही हो ।’ मुख्यसचिव डा. सोमलाल सुवेदीले एघारबुँदे सम्झौता डा. केसीका माग र माथेमा आयोगका सुझाब कार्यान्वयनमा कोसेढुंगा हुने बताए । उनले आफू सम्झौताको हुबहु कार्यान्वयनमा लाग्ने भन्दै त्यसका लागि आमसमुदायले पनि साथ दिनुपर्ने बताए । अनशन तोडेपछि डा. केसीलाई उपचारका लागि आइसियूमा राखिएको छ ।
निजी मेडिकल सञ्चालक आन्दोलित
बुधबारबाट कलेज र अस्पतालको ओपिडी बन्द गर्ने
निजी मेडिकल कलेज सञ्चालकहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सरकार र डा. गोविन्द केसीबीच शनिबार मध्यरात भएको सम्झौताको विरोध गरेको छ ।
माथेमा आयोगको सुझाब हुबहु कार्यान्वयन गर्न नहुने भन्दै एसोसिएसनले आइतबारबाट सांकेतिक विरोध कार्यक्रम सुरु गरेको छ । उसले बुधबारबाट आफ्ना कलेज तथा अस्पतालमा ओपिडी सेवा बन्द गर्ने जनाएको छ । एसोसिएसनले माथेमा आयोगको सुझाब कार्यान्वयन गरिए निजी कलेज स्वत: बन्द हुने भन्दै ती संस्था सञ्चालनको जिम्मा सरकारले लिनुपर्ने बताएको छ ।
एसोसिएसनले आइतबार आकस्मिक पत्रकार सम्मेलन गर्दै आफूहरू विकल्पविहीन भएर स्वास्थ्य सेवा बन्द गर्ने अप्रिय कार्य गर्न बाध्य भएको जनायो । एसोसिएसनका कार्यबाहक अध्यक्ष डा. सुरेशकुमार कनोडियाले सिट, शुल्क, सम्बन्धनलगायतका विषयमा पुनर्संशोधन नगरिए कलेजको तालाचाबी सरकारलाई बुझाउन बाध्य हुने बताए ।


