पाँच जिल्लाको विवाद पछि टुङ्ग्याउने गरी संविधान बनाउन तयार छौं : गजुरेल
काठमाडौं, ७ वैशाख । एकीकृत नेकपा माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले सोमबारको छलफलले दलहरुबीच सहमतिका लागि सकारात्मक वातावरण बनाएको बताएका छन्।
यसले आगामी संविधानसभाको बैठकमा आफूहरु सहभागी बन्ने आधार निर्माण गरेको उनले बताए। ठोस सहमति भई नसके पनि सहमतिमा संविधान बनाउनु पर्छ भन्ने सबैले सहशुस गरेको भन्दै उनले पाँच जिल्लाको विवाद मिलाउने जिम्मा संघीय आयोगलाई दिएर सहमति गर्न आफूहरु तयार रहेको बताए।
शासकीय स्वरुपमा असहमति भए पनि कांग्रेसकै प्रस्ताव मानेको जानकारी दिँदै बहुपहिचानसहितको जातीय पहिचान झल्कने गरी सहमति भए आफूहरु छ प्रदेश मान्नसमेत तयार रहेको उनले बताए। शीर्ष नेतालाई सहमति निर्माणको जिम्मा दिइएको बताउँदै चाँडै सहमति हुने गजुरेलले आशा व्यक्त गरे।
उनले संविधान निर्माण भएपछि बन्ने राष्ट्रिय सरकारमा आफ्नो पार्टी समेत सहभागि हुने स्पष्ट पारे।


