डुंगा दुर्घटनामा सयौँको मृत्यु भएको आशंका

इटाली/ भूमध्य सागरमा अप्रवासी बोकेको डुंगा पल्टिँदा सयौँको मृत्यु भएको आशंका छ । कम्तीमा पनि सात सय अप्रवासी सवार डुंगा लिबियाको तटभन्दा २७ किलोमिटर टाढा दुर्घटनामा परेको हो ।

अप्रवासीलाई इटालियन द्वीप लेम्पेदुसा नजिक लगिरहेको डुंगा के कारणले दुर्घटनामा परेको हो भन्ने खुलेको छैन । दुर्घटनामा परेका ३० जनाको सकुशल उद्धार गरिएको छ । सयौँ हराइरहेका छन् ।

जनवरियता अप्रवासी बोकेका डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तीमा हजारजनाको मृत्यु भइसकेको छ । 
लेम्पेदुसा द्वीपबाट २ सय ३० किलोमिटर टाढा डुंगा दुर्घटना भएको ठाउँमा उद्धार अभियान जारी छ । माल्टाका पानीजहाज, इटालीका विमान तथा अन्य देशले पनि उक्त स्थानमा उद्धारको प्रयास गरेका छन् । इटालीले मात्रै २० जहाज र तीन हेलिकोप्टर उद्धारका लागि पठाएको छ ।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले दुर्घटनामा सयौँको मृत्यु भएको हुनसक्ने आशंका गरेका छन् । उनले भने, ‘हामी उद्धार कार्यलाई थप बढाउँदै छौँ । त्यसपछि मात्र शवहरूको खोजी गरिनेछ ।’