आउँदा १०/१५ दिनमा ठूला दुर्घटना हुन सक्छ: प्रचण्ड
काठमाडौं, २८ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड्ले संविधान जारी हुनुअघिका अबका १०/१५ दिनमा ठूला दुर्घटना हुन सक्न् बताएका छन्।
ब्यवस्थापिका संसदको आजको बैठकमा संबोधन गर्दै प्रचण्डले संविधान जारी गर्न नदिनेहरुको चलखेल बढेको भन्दै ठूला दुर्घटना हुन सक्नेतर्फ सचेत गराएका हुन्। २००७ र २०४६ सालमा आन्दोलनपछिका घटनाहरुको उदाहरण दिँदै उनले राजनीतिक नेतृत्व सचेत भएन भने ठूला दुर्घटना हुन सक्ने बताएका हुन्।
'२००७ र २०४६ सालको आन्दोलन पछाडिको घटनाहरु सम्झिदा यतिबेला कुनैपनि घटना हुनसक्ने तर्फ ध्यान दिएर सबै राजनीतिक दल जनता पनि सचेत हुनुपर्छ' उनले भने। अहिले सडकमा अधिकार खोज्नेहरु र संविधान बिरोधी दुबैथरी देखिएको भन्दै प्रचण्डले तिनलाई चिनेर राजनीतिक दलहरुले फरक फरक ब्यरबहार गर्नुपर्ने बताए।
'अहिले संघीयता हुनै हुन्न भन्ने र हुनैपर्छ भन्ने एकठाउँमा पनि देख्यौँ। धर्म निरपेक्षता हुनुपर्यो र हुनैहुन्न भन्ने एकठाउँमा आएको पनि देखियो' उनले भने 'यो स्वभाविक होइन। यसले अनिष्टको संकेत गर्छ। यो विचित्रको खिचडी हामीले देख्ने गरेका छौँ।' संविधानसभा राज्यबाट हेपिएका र पछाडि पारिएकाहरुको मात्र चाहना हुने भन्दै उनले संविधान नबनेमा त्यो समुदाय सबैभन्दा बढी समस्यामा पर्ने बताए। 'संविधानसभाबाट राज्यबाट पछाडि पारिएका बर्चश्व नभएका समुदायको इच्छाको रुपमा आउँछ।
राज्यसत्तामा बर्चश्व राख्ने समुदायका लागि संविधानसभा जहिले पनि घाणो हुन्छ। नेपालको इतिहास हेरेपनि विश्वको इतिहास हेरेपनि प्रमाणित हुन्छ।' हिजो २००७ सालदेखि माग भएको संविधानसभा पहिला राजा महाराजाहरुले रोकेपनि अहिले परिवर्तनहरुले रोक्न खोजेको प्रचण्डले आरोप लगाए। 'संविधान बन्यो भने आफ्नो अधिकार कुण्ठित हुन्छ भनेर रोक्न खोज्दैछछ यसमा हामी सबैको ध्यान जान जरुरी छ।'
अघिल्लो संविधानसभामा पहिचान सहितको ११ प्रदेशमा सहमति हुँदा आफ्नै पार्टी र केही मधेशी दलहरुले विरोध गर्दा संविधानसभा बिघटन भएको स्मरण गर्दै प्रचण्डले अहिले ती शक्ति सडकमा ढुंगा हानेर आत्मरतिमा रमाएको टिप्पणी गरे। संविधानसभा समाजको शक्ति सन्तुलनको दस्ताबेज हो भन्दै प्रचण्डले कुनै पार्टीले पनि भनेजस्तो संविधान बन्न नसक्ने स्पष्ट पारे।
अहिलेको संविधानको मस्यौदा बर्तमान शक्ति सन्तुलनको उत्कृष्ट दस्ताबेज भएको बताए। संविधानसभाबाट संविधान नचाहनेहरुले पहाड र मधेश अलग गर्दा पनि नमान्ने र मिसाउन पनि नमान्ने, सीमांकन नगर्दापनि नमान्ने गरेपनि नमान्ने प्रवृत्ति देखिएको प्रचण्डले बताए।


