अल्पमतमा पशुपति शम्शेर

काठमाडौं, २० भदौ  । लामो समयदेखि को अध्यक्ष भन्ने बिबादमा रुमल्लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यले नेता लोकेन्द्र बहादुर चन्दको अध्यक्षतामा पार्टीको मान्यता दिलाउन निर्वाचन आयोगमा निवेदन दिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राप्रपा केन्द्रीय समितिका बहुसंख्यक केन्द्रीय सदस्यले चन्दको नेतृत्वमा पार्टीलाई मान्यता दिन आयोगमा निवेदन दिएको बताए।

‘निर्वाचन आयोग ऐन २०६३ को दफा २६ बमोजिम निवेदन परेको छ, बिबाद उहाँहरुले जान्ने कुरा भयो’, प्रवक्ता शर्माले भने, ‘अब प्रशासनिक हिसाबले अघि बढ्छ। १५ दिनको सूचना निस्कन्छ। अर्को पक्षबाट पनि जबाफ खोजिन्छ। सहमति नभएमा कानुनी हिसावले अघि बढ्छ।‘
के हो बिबाद
पशुपति समसेर राणाको नेतृत्वमा राष्ट्रिय प्रजनतन्त्र पार्टी थियो भने सूर्यबहादुर थापाको नेतृत्वमा जनशक्ति पार्टी। राप्रपा र जनशक्ति पार्टीबीच एकता महाधिवेशनमा हरेक वर्ष चक्रिय प्रणाली अनुसार अध्यक्ष परिवर्तन हुने सहमति भयो।

उक्त सहमतिअनुसार महाधिवेशनले सूर्यबहादुर थापापछि लोकेन्द्रबहादुर चन्द, त्यसपछि पशुपति समसेर राणा र त्यसपछि डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष हुने नीति अख्तियार गर्‍यो। तर केन्द्रीय समितिमा चन्दको बहुमत नपुगेको भन्दै पशुपति समसेर राणा नै अध्यक्ष भए।

राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले पार्टी एकताका क्रममा भएको सहमतिअनुसार आफूलाई अध्यक्ष कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

राप्रपाका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख जगत गौचनले केन्द्रीय समितिका ६५ जना केन्द्रीय सदस्यले लोकेन्द्रबहादुर चन्द नै आधिकारिक अध्यक्ष रहेको भन्दै निवेदन दिएको बताए।

उनले प्रत्यक्ष निर्वाचिन सभासद सुनील थापा र विक्रम पाण्डे पनि लोकेन्द्र बहादुर चन्दकै पक्षमा रहेको बताए।

,