मेरी आम्मोइ नि, खत्तम भो, बर्बाद भो


हास्य टेलिशृंखलामध्ये छोटो समयमै चर्चित बनेको शंकर आचार्य निर्देशित भद्रगोलका सबै पात्र आ–आफ्नै विशेषतायुक्त छन् । तीमध्ये ‘पाँडे’ निकै चर्चित छ । झुपडीमा जयन्ते भतिजोलाई आश्रय दिइरहेको पाँडे गाउँभरिकै टेन्सनदार पात्र हो । 

मेरी आम्मोइ नि, खत्तम भो बर्बाद भो, डाम्ना, होइन त जस्ता ठेट नेपाली शब्द बोल्ने पाँडेले अनेक उपद्रो गर्छ । अरूलाई रिंग्याउने, छक्याउने, ठग्ने, भँडुवा र आफँैले खनेको खाल्डोमा आफँै पर्ने बेबकुफ पाँडेले दर्शकको गालीका साथमा गरिबीको पराकाष्ठाले गर्दा सहानुभूतिसमेत पाउने गर्छ । अहिलेसम्म ५६ भाग प्रसारण भइसकेको भद्रगोलमा त्यही चुत्थो पाँडेको भूमिका निभाउने अभिनेता हुन्– अर्जुन घिमिरे ।

नुवाकोटका २८ वर्षीया अर्जुन हरेक शुक्रबार साँझ नेपाल टेलिभिजनको स्क्रिनमा ६२ वर्षीय पाँडेका रूपमा देखिने गर्छन् । जवान अर्जुनलाई बुढो पाँडेको रूप धारण गर्न कम्ती सास्ती पर्दैन । उनले मफलर, टोपी, च्यातिएको कोट, चस्मा, फुलेका जुँगादाह्रीदेखि लिएर बोलीको स्टाइल, लवज, कुप्रोपना, हिँडाइ, सबै कुरामा ‘पाँडेकरण’ गर्नुपर्छ । ‘कम्तीमा पनि एक दर्जनभन्दा बढी कुराको तयारी गरेपछि मात्रै पाँडे बनिन्छ,’ अर्जुन भन्छन्, ‘जवान मान्छेले बुढो आवाज निकाल्न सास्ती हुन्छ । मैले यही चरित्रका लागि करिब ११ महिना अभ्यास गरेकाले गेटअपमा उत्रिएपछि सहजै हुन्छ ।’

भद्रगोलमा ‘पाँडे’ ले भँडुवाको काम गर्छ । बनिबनाउलाई बिगार्नेदेखि लिएर सहीलाई गलत र गलतलाई सही प्रमाणित गर्न कुबुद्धिसमेत लगाउँछ । अर्जुनले बुढाको चरित्र आठ वर्षअघि आफँैले निर्माण गरेको वाक्क ब्याक्क दिक्क नामक सिरियलमा गरेका थिए । तर, त्यो प्रसारण भएन । पछि, उनी र कुमार कट्टेल (जिक्री) मिलेर सिस्नुपानी झ्याम्मै टेलिशृंखलाको ६ देखि १८ भागसम्म अभिनय, लेखन र निर्देशन गरे । चर्चामा छाउँदै गर्दा त्यो सिरियल पनि बन्द भयो । भद्रगोल सुरु भएपछि भने अर्जुन पुन: त्यही बूढो चरित्रको निखारिएका रूपमा प्रस्तुत हुन थालेका हुन् । अर्जुन र कुमार भद्रगोलका लेखक र मुख्यसहायक निर्देशकसमेत छन् । त्यसकारण पनि सिरियललाई अब कसरी अघि बढाउने भन्नेमा उनीहरूको अहं भूमिका रहने गरेको छ । ‘निर्देशक शंकर आचार्य, निर्माता सुवास कार्की सर, कुमारजी र मैले हरेक कुरामा सल्लाह गरेर अघि बढ्ने गरेका छौँ,’ टिमवर्कबिना अघि बढ्न नसकिने बताउँदै अर्जुन भन्छन्, ‘यो साता के–कस्ता विषय प्रस्तुत गर्ने भनेर हाम्रो टिमले व्यापक छलफल गर्ने गर्छ ।’ 

‘पाँडे’ चरित्र कसरी निर्माण भएको होला त ? अर्जुन भन्छन्, ‘मेरो गाउँमा एकजना घिमिरे बा हुनुहुन्छ, उहाँकै स्वभाव र शैलीलाई अलि बढी नै बिगारेर ‘पाँडे’ बनाएको हुँ ।’ नेपाली समाजमा कसैले भँडुवा काम गर्‍यो, तोर्पे कुरा गर्‍यो भने कस्तो आलुपाँडे रहेछ भन्ने गरिएकाले त्यसैलाई मिलाएर पाँडे भनिएको उनी बताउँछन् ।
भद्रगोलमा संलग्न मुख्य कलाकारलाई दर्शकले पर्दाबाहिर एकै झलकमा चिन्ने गरे पनि अर्जुनलाई भने चिन्दैनन् । किनभने, दर्शकले उनी पाँडे बुढो नै होला भन्ने ठान्ने गर्छन् । ‘हाम्रो टिमका अरू कलाकारलाई दर्शकले देख्नेबित्तिकै चिन्नुहुन्छ, तर मलाई चिन्नुहुन्न,’ अर्जुन भन्छन्, ‘पाँडे त साँच्चै बुढो मान्छे हो भन्ने उहाँहरूमा परेको छ । त्यसैले आफूलाई चिनाउन पाँडेकै गेटअपमा उत्रनुपर्छ ।’ तर, पनि आफूलाई खुसी लाग्ने उनी बताउँछन् । ‘यसैलाई म मेरो सफलता ठान्छु,’ उनी भन्छन् ।


केही समयपछि अर्काे पनि नौलो चरित्रमा प्रस्तुत हुन अर्जुनले तयारी गरिरहेका छन् । ‘सधैँ पाँडे बुढाको चार्म रहिनरहला, दर्शकलाई सधँै यही बुढाको गन्थन र हर्कतमा इन्जोय नभइरहला । त्यसैले मैले नयाँ चरित्र पनि सोचिसकेको छु,’ उनी भन्छन्, ‘समय र दर्शकको चाहनाबमोजिमको चरित्रका लागि मैले आफूलाई तयार गरिरहेको छु ।’ बच्चादेखि युवा तथा वृद्धसम्मले आफूहरूको टेलिशृंखला मन पराइदिएकोमा उनी निकै प्रफुल्ल छन् । 

भद्रगोलको बढ्दो लोकप्रियतासँगै त्यसमा संलग्न कलाकारको चर्चासँगै व्यस्तता पनि निकै बढेको छ । पछिल्लो समय स्टेज सोहरूमा अर्जुन, कुमार र सुबास कार्की (बेलासे) सँगै देखिने गर्छन् । अहिलेसम्म उनीहरूले देशभित्रका विभिन्न स्थानमा गरी साढे चार सयभन्दा बढी स्टेज सो दिइसकेका छन् । ‘तर हामी सिरियललाई पहिलो प्राथमिकतामा राख्छौँ,’ स्टेज सोका लागि धनगढीमा रहेका अर्जुनले भने, ‘सिरियल सुटिङ नभएको वेलामा अनुकूलता हेरेर, असर नपर्ने गरी मात्र स्टेजका कार्यक्रममा प्रस्तुत हुन्छौँ । भद्रगोललाई अझ राम्रो बनाउन हामी कटिबद्ध छौँ ।’