नेपाल अन्तर्राष्ट्रिय अपराधीको हब

काठमाडौं, २४ पुस । पर्यटन र बिजनेस भिसामा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकलाई सरकारले निष्कासन गरेको छ । एक वर्षमा ९४ जना विदेशी नागरिक निष्कासित भएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०१४ मा विभिन्न २८ देशका नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । सबैभन्दा धेरै निष्कासित हुनेमा चिनियाँ, इराकी र सिरियन रहेको विभागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिए ।

एक वर्षमा १६ जना चिनियाँ, १५ जना इरानी तथा १५ जना सिरियन नागरिक नेपालबाट निष्कासित भएको विभागले जनाएको छ । १६ चिनियाँमध्ये १० जना नक्कली पासपोर्ट, तीनजना भिओआइपीसम्बन्धी अपराध, दुईजना वनसम्बन्धी अपराध र एकजना कर्तव्य ज्यान मुद्दामा पक्राउ परी निष्कासन गरिएका हुन् ।

नक्कली राहदानीसहित पक्राउ पर्ने चिनियाँ सबैजसो तिब्बती शरणार्थी भएको अध्यागमन अधिकारीहरू बताउँछन् । निष्कासनमा परेका १५ इराकी र १५ सिरियन नागरिक सबै नक्कली पासपोर्टसहित पक्राउ परी निष्कासित भएका हुन् ।

निष्कासनमा बंगलादेशका आठजना परेका छन् । तीमध्ये चारजनाले नेपाल आउन नक्कली पासपोर्ट प्रयोग गरेका थिए भने तीनजना नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न रहेको विभागले जनाएको छ । एकजना भिसा नलिई नेपालमा लामो समय बसेकाले फर्काइएका हुन् । लागुऔषधसहित पक्राउ परेका अस्ट्रियाका एक नागरिक नेपाल आउन नपाउने गरी फर्काइएका छन् ।

नेपाल आएर आपराधिक गतिविधिमा संलग्न हुनेमा अमेरिका, बेलायत, सिंगापुर, नेदरल्यान्ड, स्वीडेन, फ्रान्सजस्ता विकसित देशका नागरिकसमेत छन् । स्वीडेनका एक नागरिक नक्कली पासपोर्ट, बेलायतका चारजना चोरी पैठारी, फ्रान्सका एकजना लागुऔषध मुद्दामा कारबाहीमा परेर फर्काइएका हुन् ।

केही सार्वजनिक अपराध मुद्दामा प्रहरीले पक्राउ गरेका मोजाम्बिकका एक नागरिकलाई पनि निष्कासन गरिएको थियो । अमेरिकाका दुईमध्ये एक नक्कली पासपोर्ट तथा अर्का ओभर स्टे मुद्दामा फर्काइएका हुन् ।

त्यस्तै, पाँचजना पाकिस्तानीलाई निष्कासन गरिएको र अन्य चारजना निष्कासनको क्रममा रहेको विभागले जनाएको छ । पाँचमध्ये दुईजना नक्कली पासपोर्ट बोकेकाले तथा अन्य तीनजनामध्ये एक नक्कली भारुको कारोबार, एक चोरी पैठारी र एक ठगी मुद्दामा कारबाही भोगेका थिए ।

लागुऔषधसहित पक्राउ परेका इटालीका नागरिक पनि फर्काइएका छन् । नाइजेरियाका दुई, रसियाका दुई, अफगानिस्तानका दुई, बेलारुसका एक, इराकका तीन, स्पेनका एक, लाइबेरियाका एक, स्लोभाकियाका एक, आइभोरिकोस्टका एक, तान्जानियाका एक, जोर्डनका एक, नेदरल्यान्डका दुई, सिंगापुरका एक र इजरायलका एकजना निष्कासनमा परेका छन् । नक्कली पासपोर्टमा आएका टर्की र जर्मनीका एक–एक नागरिक पनि निष्कासनमा परेका छन् । अमेरिकामा मोस्ट वान्टेड रहेका निल स्टिमरलाई समेत नेपालले पक्राउ गरेर निष्कासन गरेको थियो । उनी नेपालीसँग बिहे गरेर समाजसेवीको आवरणमा लुक्दै आएका थिए ।

नेपालको भिसा प्रणाली सजिलो र विमानस्थलको सुरक्षा चेकिङ कमजोर भएकाले नेपाल अन्तर्राष्ट्रिय अपराधीहरूको केन्द्र बन्दै गएको प्रहरी अधिकारी बताउँछन् । निष्कासनमा पर्नेमा धेरैजसो नक्कली पासपोर्ट लिएर आउनेहरू छन् । उनीहरूलाई पछि नेपाल आउनसमेत रोक लगाइने अध्यागमन विभागका महानिर्देशक ढकालले बताए ।

मध्यपूर्वीको युरोप छिर्ने ट्रान्जिट
द्वन्द्वग्रस्त मध्यपूर्वी देशका नागरिकले युरोपियन देश छिर्न नेपाललाई ट्रान्जिट बनाउने गरेका छन् । अध्यागमन विभागका अनुसार युरोपियन देशको नक्कली पासपोर्ट बनाएर उनीहरू नेपाल हुँदै युरोप जाने गरेका हुन् ।

सिरिया, इरान, इराकजस्ता मध्यपूर्वी देशका नागरिक बारम्बार पक्राउ पर्ने अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले बताए । सन् २०१४ मा इरानका १६, सिरियाका १५ जना नक्कली पासपोर्टसहित पक्राउ परेका थिए । इराकका तीनजनालाई पनि विभागले पक्राउ गरेको थियो ।

पक्राउ पर्ने सबैसँग युरोपियन देशको एमआरपी पासपोर्ट हुने विभागले जनाएको छ । युरोपियन देशको पासपोर्ट बनाएर युरोप छिर्न सजिलो हुने भएकाले उनीहरूले यस्तो तरिका अपनाउने गरेका हुन् । अफ्रिकी देशका नागरिक पनि नक्कली कागजपत्रसहित नेपाल हँुदै अमेरिका जान खोज्दा पक्राउ पर्ने गरेका छन् ।

,