पेरिसमा आतंक, १२ को मृत्यु

 
एजेन्सी,  पेरिस, २३ पुस। फ्रेन्च व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा बुधबार दुई बन्दुकधारीले अन्धाधुन्ध बन्दुक चलाउँदा १२ जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । मारिनेमा दुई प्रहरी अधिकारी छन् । घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेको फ्रेन्च सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ कार्यरत ४० जनाको भने सकुशल उद्धार गरिएको छ ।

पत्रिकाले समसामयिक राजनीतिक तथा अन्य विषयमा कार्टुन तथा व्यंग्य लेख प्रकाशन गर्दै आएको छ । यसमा प्रकाशित हुने विषयबारे लामो समयदेखि विभिन्न विवाद उत्पन्न हुने गरेका थिए । । बुधबार यो पत्रिकाले ट्विटरमा इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल बग्दादीमाथि बनाएको कार्टुन सार्वजनिक गरेको थियो ।

सन् २०११ नोभेम्बरमा पनि प्रोफेट मोहम्मदको क्यारिकेचरलाई प्रकाशित गरेको भोलिपल्ट यो पत्रिकाको कार्यालयमा विस्फोट गराइएको थियो । त्यतिवेला पत्रिकाले आफ्नो प्रधानसम्पादकको नाममा प्रोफेटको नामलाई राखेको थियो । यसले प्रोफेटको आस्थामाथि आँच पुर्‍याएको आक्रमणकारीले जनाएका थिए अफिसमा लगातार बन्दुक चलाएको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । बन्दुकधारीले क्लासनिकोब असल्ट राइफल प्रयोग गरेको खुलेको छ । त्यसपछि नकावधारीले कार्यालयको पछाडिबाट भाग्ने प्रयास गरे । अगाडि आइपुगेका प्रहरी अधिकारीमाथि पनि उनीहरूले गोली चलाए र एउटा गाडीमा भागे ।

पत्रिकाको कार्यालयमा भएको आक्रमणसँगै पेरिसको सुरक्षा सतर्कता बढाइएको छ । प्रहरीले अन्य सञ्चारमाध्यम र पत्रकारालाई सतर्क रहन अनुरोध गरेको छ । फ्रान्सको प्रहरीले जसरी पनि ती बन्दुकधारीलाई पक्रने बताएको छ । पत्रिकाको कार्यालय भएको ठाउँ फ्रान्सको राजधानी पेरिसको पर्यटकीयस्थल हो । ‘फ्रान्स ठूलो शोकमा परेको छ,’ घटनास्थल पुगेका फ्रेन्च राष्ट्रपति फ्रास्वाँ होल्यान्डले पत्रकारसँग भने, ‘यो आतंककारी आक्रमण हो, निर्दयताको कुनै सीमा नहुने रहेछ ।’ उनले ती आक्रमणकारीलाई प्रहरीले अन्तिमसम्म पनि लखेट्ने र कानुनको दायरामा ल्याउने दृढता व्यक्त गरेका छन् । होल्यान्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।


चार्ली हेब्डो साप्ताहिक रूपमा बुधबार प्रकाशन हुने पत्रिका हो । विशेष अवसरमा पत्रिकाका अन्य संस्करण पनि छापिने गरेको छ । सन् १९६९ मा सुरु गरिएको यो पत्रिका सन् १९८१ मा बन्द गरिएको थियो । तर, फेरि सन् १९९२ देखि यसको पुनर्प्रकाशन सुरु भयो ।

पत्रिकाको ७ जनवरी बुधबारको अंकमा फ्रेन्च उपन्यासकार मिसेल वेलबेकबारे मुख्य कार्टुन छापिएको थियो । वेलबेकको पछिल्लो उपन्यास सवमिसनमा उनले फ्रान्समा हुनसक्ने इस्लामीकरणबारे लेखेका थिए । उपन्यासमा २०२२ सम्ममा फ्रान्समा इस्लामीकरण भइसक्ने, फ्रान्समा मुस्लिम राष्ट्रपति हुने र महिलालाई जागिर छाड्न प्रेरित गरिने, विश्वविद्यालयमा कुरान पढाइने काल्पनिक कथा लेखिएको छ ।

बुधबार नै रिलिज हुन लागेको उपन्यासलाई लिएर एक साताअघिदेखि विवाद सिर्जना भएको थियो । त्यही विषयमा कार्टुन छाप्ने पत्रिकाले केही दिनअघि नै जनाएको थियो । यही आधारमा त्यहाँ आक्रमण भएको हुनसक्ने अनुमान छ ।

,