वारपाक अब वारपाकजस्तो रहेन


वारपाक, १३ जेठ । गत वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु हुनुभन्दा अघिपनि गोरखाको वारपाक गाउँ कम चर्चामा थिएन । १४ सय घरधुरीको एउटै गाउँ वारपाक घले र गुरुङ समुदायको वसोवास रहेको झुरुप्प मिलेको वस्ती थियो।

ढुंगाको गारो लगाएको र ढुंगाले छाएको घरहरुको आँगनमा पनि ढुंगा नै छापिएको थियो। घरछेउका गल्लीहरु पनि ढुंगा नै छापिएको थियो। पछिल्लो समय पर्यटकीय गतिविधि बढ्न थालेको यस गाउँ गोरखा जिल्लाकै नमुना गाउँ मानिन्थ्यो ।


तर प्रकृतिको एउटै धक्काले त्यो कालो छानो भएको वारपाकलाई ध्वंश मात्रै गरेन अहिले त पहेंलो र निलो रङको रंगिन छानामा परिणत गरिदियो । अर्थात अहिले यो गाउँ पहेँलो, निलो र रातो पालले भरिएको छ। अब भूकम्पपछि पुनर्निर्माण हुँदा यस गाउँको रुप कस्तो हुने हो गाउँलेहरु पनि अनुमान गर्न सक्दैनन्।

स्थायी बसोबासका लागि घर बनाउँदा वारपाकमा पुरानै झल्को आउला त? धेरैको चासो यसमै छ। 'पहिले बनाएको संरचना गलत रहेछ, ढुंगामाटोको गारो अनि ढुंगाकै छानो,' स्थानीय शिक्षक रामकुमार घले भन्छन्, 'अब सक्नेले सिमेन्ट लगाएर घर बनाउँलान्, नसक्नेले जस्तापाता र काठबाट बनाउँछन् । पुरानो वारपाक तस्बिरमा मात्रै सीमित हुने भो।'


वारपाक ४ का ओमबहादुर घलेलाई पनि वैशाख ११ गतेसम्म कुनै समस्या थिएन। भारतीय सेनाका अवकाशप्राप्त उनले घरै बसीबसी मासिक १८ हजार रुपैयाँ पेन्सन थाप्थे। उनको ढुंगाले छाएको पक्की घर थियो, राम्रो उब्जनी भए खान पुग्ने जग्गा जमिन। १२ गतेको भूकम्पपछि उनको जीवन नै भताभुंग भयो।

'घरमा बुढीआमा, श्रीमती र छोराछोरी छन्, अहिले बस्नलाई त यही पालको छानो हालेर बनाएका छौं,' घलेले भने, 'अब हिउँद लागेपछि त बलियो घर बनाउनै पर्छ तर, कसरी बनाउने के, बनाउने केही पत्तो छैन।' तर उनी एउटा कुरामा भने विश्वस्त छन्। पहिलाजस्तो ढुंगाको गारो लगाएर घर बनाउनु हुँदैन।  


वारपाक र वारपाकीको पहिचान बोकेको थियो परम्परागत ढुंगे घरहरुले। एक पटक वारपाक पुगेको पर्यटक होस वा फोटोमा वारपाक हेर्ने जो कोहीको आँखामा पनि उही पुरानो कालो ढुंगाले छाएको वारपाकको याद आउँथ्यो। तर अब त्यस्तो वारपाक देख्न पाइने सम्भावना कम नै छ। किनभने लगभग सबैजसो वारपाकी पहिलाजस्तो ढुंगाको गारो भएको र ढुंगाले नै छाएको घर भूकम्प प्रतिरोधात्मक नहुने बुझेका छन्। त्यसैले उनीहरु कि त पिलर उठाएर भूकम्प प्रतिरोधात्मक बनाउने कि त जस्तापातामात्र प्रयोग गरेर हलुका घर बनाउने तयारीमा छन्।  


'पहिलेको जस्तो घर त अब यहाँ कसैले बनाउँदैन,' वारपाक ४ का जीतबहादुर गुरुङले भने, 'अब बनाउने भनेको काठ र जस्ताले हो, ढुंगा लगाएर बनाएको घर त सबै भत्कियो।' अब घर बनाउँदा भूकम्प आएपनि कम क्षति हुने गरी बनाउने सोच उनीहरुको छ। 'पहिले सबैले उस्तै घर बनाएका थिए, बस्ती एकै ठाउँमा थियो, अब त्यस्तो हुँदैन,' उनले भने, 'ढुंगाले छाएर घर बनाउँदा हामीले ठुलो क्षति ब्यहोर्यौं, त्यसो गर्न अब सकिँदैन।'
आरसिसी गर्न पूँजी छैन

वारपाकमा केही आरसिसी ढलान गरिएका घर पनि बनेका छन्। त्यस्ता घरमा तुलनात्मक रुपमा कम क्षति भएको छ। भूकम्प पछि केही वारपाकीको सोच त्यस्तो घर बनाउने पनि देखिन्छ। तर लागत महँगो पर्ने भएकाले त्यस्तो घर बनाउन समस्या हुने उनीहरु बताउँछन्।

'पहिलेको घर धेरै जोखिमपूर्ण हुँदो रहेछ, अब नयाँ बनाउँदा आरसिसी गर्न पुँजी पनि हुनुपर्‍यो,' वारपाकका लालबहादुर घलेले भने, 'अब बनाउने भनेको त जस्ता लगाएर हो।'

विज्ञको सल्लाह अनुसार मात्रै घर बनाउने
वारपाकका धेरै घर स्थानीय बासिन्दा आफ्नै खुसीमा बनाएका थिए। त्यतिबेला कुनै विज्ञ वा इन्जिनियरको सल्लाह लिने चलन थिएन। 'पहिले आफैंले बनाएको घर त आफैंलाई मार्ने खालको पो रहेछ,' जीतबहादुर भन्छन् 'अब घर बनाउँदा आफूखुशी बनाउने कुरा पनि भएन, सरकारले के भन्छ त्यो पनि गर्ने हो।'

वारपाक ६ का ६९ वर्षका तिलबहादुर घले पनि अब घर बनाउँदा इन्जिनियरको सल्लाह लिएर बनाउने सोचमा छन्। '१९८० मा मैले रिटायर्ड भएपछि यो घर बनाएको थिएँ,' उनले भने, 'मैले त आफैंले बनाएर दु:ख पाएँ, अब मेरा कारणले मेरा सन्तालने दु:ख पाउनु हुँदैन।'

,