अर्को जन्ममा म देवता हुन्छु

हरीबंश आचार्य


अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु
तिमी हरुको चिना म आँफै लेख्छु
भए जती दशा तिमीहरुलाई खन्याउछु

सानो छँदै टुहुरो बनाउँछु
जन्र्मस्थलबाट उठीबास लगाउँछु

मेरो मन्दिर घुम्न लगाउछु
भजन किर्तन गर्न लगाउछु
मेरा खुट्टा धोग्न लगाउछु
खुट्टा पखाली जल खुवाउछु


धुप दीप बाल्न लगाउँछु
दान दक्षिणा गर्न लगाउँछु
यती  धेरै चाकडी गराउँछु
वर दिनुको साटो बरबाद बनाउँछु

अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु

तिमीहरुको पतन गर्न प्रेसर बढाउछु
मुटु चलाऊन यन्त्र जडाउछु
पाठेघरमा ट्युमर रोप्छु
पित्तको थैलिमा ढुङ्गा ठोक्छु
एकाएक दिनको हिसाब गर्छु
मिर्गौलामा पनि रोग थप्छु
देवताहरू हो,
अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु

सभार: प्रयास