वर्षाले ११ करोडको तरकारी बाली नष्ट

७ साउन

असार र साउन महिनामा परेको अविरल वर्षाका कारण मोरङको कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको छ । कृषि क्षेत्र अन्तर्गत तरकारी बालीमा ठूलो नोक्सानी भएको मोरङ जिल्ला कृषि कार्यालयले जनाएको छ । कृषकहरुले लगाएको तरकारी बालीमा पानी डुबेको र धेरै ठाउमा भेल पसेर खेती बगाएका कारण ११ करोड रुपैया बराबरको तरकारी नोक्सानी भएको छ । वर्षा र बाढीबाट लगानी खेर गएर ठूलो आर्थिक घाटामा परेका पीडित कृषकहरुलाई राहत दिन जिल्ला कृषि कार्यालयले सरकारका विभिन्न निकायलाई पत्राचार गरेको छ ।

वर्षे तरकारी खेतीको रुपमा गरिएको बोडी, सिमी, घिरौंला, लौका, भिण्डी, परवल आदि खेतीमा पानीले नोक्सानी गरेको हो । तरकारी बालीमा नोक्सानी सँगै बजारमा तरकारीको मूल्य बढेको छ । तरकारी बजारमा हरियो तरकारीको न्यूनतम् मूल्य प्रतिकेजी ६० रुपैयाको हाराहारीमा छ । यस मौसममा सबैभन्दा सस्तो हुने भिण्डी पनि यो वर्ष ४० रुपैया प्रतिकिलो भन्दा कम भएको छैन ।

वर्षा र बाढीका कारण जिल्लामा गरिएको माछाखेतीमा पनि नोक्सानी भएको छ । डुबानका कारण पोखरीमा पालेको करीब १० लाख रुपैया बराबरको माछा भेलमा बगेर गएको छ । जिल्ला कृषि कार्यालय मोरङले जिल्ला विकास समितिमा पत्रचार गर्दै वर्षाबाट पीडित भएका कृषकहरुलाई राहत हुने गरी कार्यक्रम दिन आग्रह गरेको छ ।

वर्षाका कारण मोरङको सिजुवा, इटहरा, महादेवा, हसन्दह, मधुमल्ला, राजघाट, कटहरी, सिसवनी जहदा, कसेनी, थलाहा, बरडङ्गा, दादरबैरिया, कदमाहा, भातिगछ, बुधनगर, मोतिपुर, भौडाहालगायत २१ गाविसमा गरिएको तरकारी, माछा खेती र धानबालीमा नोक्सानी पुगेको छ ।

जिल्ला कृषि कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको १ हजार ५३ हेक्टर जमिन बाढीबाट प्रभावित भई नोक्सानी भएको छ । त्यसमध्ये खोलाले १ सय २८ हेक्टर जमिन पुरेको, ४ हेक्टर कटान भएको, ३० हेक्टरमा लगाएको धानको बीऊ नोक्सानी भएको, १५ हेक्टरमा खडा बाली बगाएको र ८ सय ७६ हेक्टरमा डुबान भई बाली नष्ट भएको छ ।

जिल्ला कृषि कार्यालय तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय मोरङले वर्षा तथा बाढीबाट भएको क्षतिको विवरण जिल्ला विकास समितिमा पठाएका छन् । उनीहरुले राहतका विभिन्न कार्यक्रम तयार गरेर कृषकहरुलाई पेशाबाट विमुख हुन नदिन र निराश नबनाउने उपायहरु अगाडि बढाएको जनाएका छन् ।

यसैबीच मोरङ जिविसले पनि वर्षाबाट भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी रहेको बताएको छ । जिविस योजना शाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार नदी कटान भएको, पुल बगाएको, बाटो भत्काएको, बालीनाली नोक्सानी भएको सयभन्दा बढी रिपोर्ट आएको भए पनि आर्थिकरुपमा मूल्याङ्कन नभइसकेको बताए । उनले गाविसहरु मार्फत् तथ्याङ्क संकलनको काम भइरहेकोले छिट्टै त्यसको अध्ययन गरी विवरण तयार गर्ने र राहतका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने जानकारी दिए ।

,