चुनावमा सहयोग नगर्न अन्तर्राष्ट्रिय समुदायलाई ३३ दलको अपिल

६ साउन

नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले आम सहमति नभएको र चुनाव हुनैनसक्ने भन्दै चुनावलाई समर्थन नगर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ । मोर्चाले निर्वाचनका लागि गरिने सबैखालको सहयोग रोक्न समेत माग गरेको छ ।

विदेशी आप्रवासीलाई नागरिकता दिने, नेपालीलाई अल्पमतमा पार्ने काम कुटनैतिक निकायबाट भइरहेको दावीसहित ३३ दलको मोर्चाले यस्तो अपिल गरेको हो । निर्दलीय र असंवैधानिक सरकारले घोषणा गरेको चुनावले देशमा निकास नदिने दावीसहित ३३ दलीय मोर्चाको तर्फबाट देव गुरुङले अपिल निकालेका छन् । काठमाडौंको सम्वाद डबलीमा शनिबार भएको कार्यक्रममा अपिल पढ्दै कार्यदलका सदस्य प्रकाश अधिकारीले भने, ‘हाम्रो आग्रह, अनुरोधको भाषा सबै कुटनैतिक निकायले बुझ्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’

राजनीतिक सहमतिविनाको निर्वाचनले देशमा निकास दिनुको साटो ठूलो राष्ट्रिय संकट निम्त्याएको र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्र (जनतन्त्र) लाई झन् कमजोर बनाएको ३३ दलको ठहर छ ।

भारत र चीनले निर्वाचनप्रति प्रतिवद्धता जनाउँदै सहयोग घोषणा गरिसकेका छन् भने अन्य देशले पनि सहयोग दिने क्रम जारी छ । यसलाई लक्ष्यित गर्दै अपिलमा भनिएको छ, ‘कतिपय मित्रराष्ट्रहरुको यस्तो कदमले नेपाली जनतालाई राम्रो गर्दैन नै यसले स्वयं मित्रराष्ट्रहरुको छविलाई पनि राम्रो गर्दैन भन्ने हाम्रो ठहर छ ।’

कतिपय कूटनीतिक निकायहरुबाट नेपालको संविधान लेखन, संविधानसभा र निर्वाचन लगायतका नीतान्त आन्तरिक मामिलामा दखल पुग्ने गरी अभिव्यक्तिहरु दिने र राजनीतिक नेताहरुलाई दबाव दिने जस्ता घटना भइरहेका भन्दै अपिलमा अन्तर्राष्ट्रिय निकायहरुको चलखेल तथा हस्तक्षेप चौतर्फी रुपमा बढिरहेको उल्लेख छ ।

बहिष्कार अभियानका लागि देशव्यापी प्रशिक्षण उच्चस्तरीय राजनीतिक समिति र नेपाल सरकारले वार्ताका लागि आह्वान गरिरहेका बेला साउन १० गतेबाट धक्का दिने गरी चुनाव बहिष्कार आन्दोलन थाल्ने तयारीमा रहेको नेकपा–माओवादीका शीर्ष नेताहरु भने यतिबेला देशव्यापी प्रशिक्षणमा व्यस्त छन् ।

स्रोतका अनुसार माओवादीले पोलिटब्युरो सम्मका नेताहरुलाई प्रशिक्षणका लागि देशभर खटाएको छ । प्रशिक्षणका क्रममा नेताहरुले चुनाव बहिष्कार गर्ने पोखरा बैठकको निर्णयबारे जानकारी गराउनुका साथै साउन १० गतेबाट शुरु हुने चुनाव बहिष्कार आन्दोलनको रणनीतिबारे प्रशिक्षण दिनेछन् । नेताहरुका अनुसार १० गते देशभर विरोधसभा गरेर चुनाव बहिष्कार आन्दोलन शुरु हुनेछ । आन्दोलनसँगै वार्तालाई समेत एकसाथ लैजाने नीति लिएको माओवादीको पहिलो चरणको आन्दोलन बढी प्रचारात्मक आन्दोलन हुने बताइएको छ ।

,