इजरायल–प्यालेष्टाईन बीच दोस्रो पटक शान्ति बार्ता


६ साउन:

इजरायल र प्यालेष्टाईन बिच दोस्रो पटक शान्ति बार्ता गर्ने बिषयमा सहमति भएको छ । दुई पक्ष संगको भेटवार्ता पछि अमेरिकी बिदेशमन्त्री जोन केरीले यसबारे खुलासा गरेका हुन् । जोर्डनमा आयोजित एक कार्यक्रममा केरीले दुई देश बिचको बार्ताको समय र मिति बारे आगामी हप्ता वासिंटनमा छलफल गरी निर्णय गरीने समेत जानकारी गराएका छन् । इजरायल र प्यालेष्टाईन बिच तीन बर्ष पहिले शान्ति बार्ता भएको थियो।  तर पश्चिम तट र पूर्वी जेरुशेलमका बिषयमा विवाद उत्पन्न भए पछि बार्ता भंग भएको थियो ।

जोर्डनमा आयोजित कार्यक्रममा जोन केरीले दुई देश बिचको शान्ति बार्ता महत्वपुर्ण भएकाले यो निर्णयलाई सबैले स्वागत गर्नु पर्ने बताए । उनले यस बिषयमा अँझै गम्भीर छलफल चल्नु पर्ने समेत औंल्याएका छन् । प्यालेष्टाईनी राष्ट्रपतिले शान्तिबार्ताका लागि इजरायलले सिमा क्षेत्रको बस्ती बिस्तार रोक्नु पर्ने अडान राखेका छन् भने इजरायलले बिना शर्त बार्तामा सहभागी हुन भनेको छ । यसै बर्षको सुरुमा यी दुई देशबिच तनाब बढेको थियो । तर अन्तराष्ट्रिय समुदायले भने सिमा क्षेत्रमा दुबै देशले राखेका मिसाईलहरु हटाएर शान्तिबार्तामा बस्न दुबै देशलाई आग्रह गरेको छ ।

स्रोत: एजेन्सी