रक्तदान जीवनदानको नारा सहित सामुहिक रक्तदान-दुबई


५ साउन,अवुधाबी:


सामाजिक र मानवीय कार्यमा अग्रसर नेपालीहरुले दुबईको नेपाली चोकको नामले चिनिएको बर दुबईको मेट्रो पार्कमा सामुहिक रुपमा रक्तदान गरेका छन् । एनआरएन युएईले आयोजना गरेको उक्त खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए। युएईमा नेपालीहरुको आयोजनामा भएको यो नै पहिलो खुल्ला रक्तदान कार्यक्रम हो।

आयोजकका अनुसार इस्लामिक पर्व रमादानको अबधिमा यहाँका अस्पतालहरुमा अन्य समय भन्दा बढी रगत अभाव हुने तथ्यांकहरू सार्वजनिक भैरहेका कारण र ब्लड डोनेसन सेन्टरले यहि समय आफुहरुलाई उपलब्ध गराएकाले यो मौसममा कार्यक्रम राखिएको हो । दुबईको लतिफा अस्पतालको ब्लड डोनेसन सेन्टरले उक्त कार्यक्रममा रगत संकलनको लागी आबस्यक व्यवस्था मिलाएको हो । एनआरएन युएईले गत वर्ष सोहि अस्पतालमा सामुहिक रक्तदान गरेको र त्यसै बाट उत्सुक भएकाले उक्त अस्पतालले यस कार्यमा आफ्नो अनुरोध स्वीकार्दै आवस्यक सबै सहयोग गरेको बताउछन कार्यक्रम संयोजक प्रदिप पौडेल ।

साँझ ५ बजेसम्म संचालन हुने भनिए पनि अत्याधिक गर्मीले गर्दा उक्त कार्यक्रम प्राबिधिक कठिनाईका कारण दिउसो २ बजे नै बन्द गरिएकाले ठुलो संख्यामा रक्तदानका लागी उपस्थित नेपालीहरु यसै फर्किनु परेकोमा दुखित महसुस गर्दै संघका महासचिव सन्तोस प्रसाईंले आगामी दिनमा साँझको समयमा यस्तो कार्यक्रमको आयोजना गरिने बताएका छन् ।

रक्तदान जीवनदानको नारा सहित सहभागिताका लागि एनआरएन युएईले अन्य संघ संस्था तथा नेपालीहरुमा अपिल गरेको उक्त कार्यक्रममा रक्तदाताहरुलाई जुश, फलफुल, चकलेट, बिस्कुट, पानी लगायतको प्रायोजन प्रभु मनि ट्रान्सफरले गरेको थियो।  उक्त कार्यक्रममा यहाँ सक्रिय बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सो कार्यमा इच्छुक नेपाली लगायत केहि बिदेशी नागरिकहरुले समेत स्वस्फुर्त रुपमा रक्तदान गरेका थिए ।

रक्तदानका लागी नेपालीहरु सधै इच्छुक र तयार रहेकाले कम्तिमा पनि प्रत्येक ६ महिनामा यस्ता कार्यक्रम आयोजना गर्नका लागी आयोजकलाई उनीहरुले सुझाब दिएका छन् । सामाजिक सेवाको उद्देस्यले कुनै पनि संघ संस्थाले आयोजना गर्ने हरेक कार्यहरुमा सदैव सबैको सहकार्य आवस्यक रहने र आफु त्यसको लागी सधैं तयार रहेको बताउदै  संघका अध्यक्ष चन्द्र बहादुर रोकाहाले एनआरएन युएईको यस अभियानमा साथ दिएर सहभागिता जनाएका सम्पूर्ण संघ संस्था र नेपाली नागरिकहरु प्रति धन्यबाद ज्ञापन गरेका छन् ।

स्रोत: अन्य पत्रीका

,