ओलीले बोली फेर्दा चर्काचर्की
काठमाडौं, १४ मंसिर । शुक्रबार एमाले अध्यक्ष केपी ओलीले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई फोन गरेर संवाद समितिको बैठक नबोलाउन आग्रह गरे। ओलीले विवादित विषयमा शीर्ष तहमा छलफल गरेर टुंगो लगाउने भन्दै संवाद समितिको बैठक स्थगित गर्न आग्रह गरेका थिए।
भट्टराईले बैठक बोलाइ सकेको भन्दै यो बीच भएका राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराएर स्थगित गर्ने जवाफ दिए। सार्क सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संख्याको आधारमा भन्दा पनि सहमतिबाटै संविधान जारी गर्न सुझाव दिएको केही दिन पछाडि नै ओलीले शीर्ष तहका छलफल गरेर विवादित विषयमा सहमति खोजिने बताएका थिए। यसअघि ओली बहुमतबाट प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने अडान राख्दै आएका थिए। दलहरुबीचको सहमति पछि आइतवार बिहान उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाइएको थियो। लामोसमयपछि बोलाइएको बैठकमा एमाले अध्यक्ष ओलीले पुरै बोली फेरेपछि कुनै पनि विषयमा सहमति हुन नसकेको ब्रिफिङ २० दलको बैठकमका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए।
'दुई दिन अगाडिसम्म शीर्ष नेताबीचको सहमतिबाटै विवादित विषमया सहमति खोज्नुपर्छ भन्नुभएको ओली त आजको बैठकमा पुरै यूर्टन हुनुभयो,' २० दलको बैठकमा दाहालले गरेको बिफ्रिङ उद्धृत गर्दै बैठकमा सहभागी थरुहट तराई पार्टीका सभासद गोपाल दहितले नागरिकन्युजसँग भने,'पछि मधेसवादी दलका नेताले कडा प्रतिवाद गरेपछि मलाई निकै सहज भयो।'
उच्चस्तरीय राजनीतिक समितिको बैठकमा संवाद समितिमा पेश भएका प्रस्तावलाई सभापतिले रोक्न नहुने भन्दै तत्काल संविधानभसामा पठाउन आग्रह गरेका थिए। स्रोतका अनुसार ओलीले सहमतिका नाममा लामो समयसम्म कुर्न नसकिने भन्दै आफूहरु प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने बताएका थिए। ओली निकै कडा रुपमा प्रस्तुत भए पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले प्रतिवाद गरेका थिए। यावदले विगतमा भएका सहमति, मधेसी आन्दोलन अन्तरिम संविधानको भावना विपरित संविधान जारी गरेर देखाउन चुनौती दिएपछि ओली केही नरम भएको दाहालले २० दलको बैठकमा जानकारी गराएका थिए।
मधेसीदलले प्रतिवाद गरेपछि ओली बैठकस्थलबाट बाहिरिएका थिए। ओली बाहिरिएपछि नेताद्वय झलनाथ खनाल र मावध नेपालले सहमतिबाटै संविधान जारी गर्नुपर्ने र त्यसकालागि शीर्ष तहमा केही दिन छलफल गर्ने बताएका थिए।
एमाले नेताहरुले सकारात्मक प्रतिबद्धता जनाएपछि संवाद समितिको बैठकमा समपति भट्टराईले अहिलेसम्मका राजनीतिक घटनाक्रम बारे जानकारी गराएर १७ गतेसम्मको लागि बैठक स्थगित गरेका छन् ।
सहमति नभए 'अबरोध'
सत्तापक्षको प्रस्तावको विरोधमा रहेका २० दलले सहमति नभए समितिको बैठक अबरोधसम्म गर्नसक्ने निष्कर्ष निकालेको छ। आइतवार बसेको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक समितिमा भएको छलफल, शनिवार प्रधानमन्त्री तथा तीन दलको बैठकमा भएको राजनीतिक छलफलका विषयमा जानकारी गराएका थिए ।
दाहालले सत्तापक्ष दलहरु केही लचिलो रुपमा प्रस्तुत हुन थालेको जानकारी गराउँदै विवादित विषयमा सहमति जुट्नेमा आफू आशावादी रहेको जानकारी गराएका थिए ।
बैठकमा अन्य दलका नेताले भने सहमति नभए कांग्रेस एमालेको प्रस्ताव कुनै पनि हालतमा संविधानभसामा पेश हुन नदिने बरु समितिको बैठक नै 'अवरोध' गर्नु परे पनि पछि नहट्ने बताएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।


