ओलीलाई झट्का

काठमाडौं, १८ मंसिर । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनपछि भएका जिल्ला अधिवेशनहरूमा अध्यक्ष केपी शर्मा ओलीलाई सुरुआती झट्का लागेको छ । अहिलेसम्म सात जिल्लामा अधिवेशन भएकामा ओली पक्षले एउटामा मात्र जिल्ला नेतृत्व हात पारेको छ भने ६ जिल्लाको नेतृत्वमा भने नेता माधवकुमार नेपाल पक्ष हावी देखिएको छ । 

महाधिवेशनमा अध्यक्ष पदमा नेपाललाई ५६ मतले पराजित गरेका ओलीलाई जिल्ला अधिवेशनमा धक्का लाग्न थालेको हो । अहिलेसम्म अधिवेशन भएकामध्ये इलाम, ताप्लेजुङ, सुर्खेत, रौतहट, बाँके, जाजरकोटमा जिल्ला नेतृत्वमा नेपाल पक्षको जित भएको छ भने ओली पक्षले दैलेखमा मात्र जित हात पारेको छ ।

आज मात्रै जाजरकोटमा नेपाल पक्षका करवीर शाही जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । उनले ओलीनिकटका लालबहादुर महतारालाई ६८ मतले पराजित गरे । त्यस्तै, उपाध्यक्ष वेदबहादुर शाही र सचिव सीपी घर्ती नेपालनिकट हुन् । उपसचिवमा ओलीनिकट प्रेमप्रकाश घर्ती विजयी भएका छन् ।

दैलेखमा झिनो मतले मात्र अध्यक्षमा ओली पक्षले जित हात पारेको पाइएको छ। चार मतको अन्तरले ओली पक्षका रवीन्द्र शर्मा नेपाल पक्षका सूर्यबहादुर शाहीलाई हराउन सफल भए । बाँकी उपाध्यक्ष, सचिव र उपसचिव पदमा भने नेपाल पक्षले जितेको छ ।

नवौं महाधिवेशनमा झैं जिल्ला अधिवेशनमा पनि दुई प्यानल नै चुनावी मैदानमा उत्रिएका छन् । ओली पक्षका सुर्खेतमा नवराज रावल, ताप्लेजुङमा राम सुवेदी, रौतहटमा जयचन्द पटेल, इलाममा गणेश बराल र बाँकेमा पदम धिताल पराजित भए । नेपाल पक्षका क्रमश धुव्र शाही, बलबहादुर साम्सोहाङ, राम राना, कमलराय यादव, अशोक कोइराला विजय भए । इलाममा रानाले ६५ मतले बराललाई, सुर्खेतमा शाहीले रावललाई ६० मतले, रौतहटमा यादवले पटेललाई १६१ मतले, बाँकेमा कोइरालाले धिताललाई ६७ मतले हराए । रौतहट, सुर्खेत र बाँकेमा पदाधिकारीमा पूरै नेपाल प्यानल आएको छ ।

नेपाल पक्षका नेता रघुजी पन्त जिल्ला अधिवेशनको यो अवस्थाले महाधिवेशनमा आफूहरु हार्दा पनि प्रभाव देशभर भएको देखाउने बताउँछन् । जिल्ला अधिवेशनले दुवै पक्ष बराबर रहेको देखाएको दाबी उनको दाबी छ । ‘माधव कमरेड अध्यक्षमा थोरै मतले हार्नुभएको थियो’, उनी भन्छन्, ‘त्यही थोरै मतान्तरको प्रभाव अहिले अधिवेशनमा देखिँदै छ । त्यसैले हाम्रो पक्षले जित हात पार्दै आएको छ ।’

ओली पक्षका सचिव प्रदीप ज्ञवाली यो र ऊ पक्षले जित्यो भन्नु भन्दा पनि ‘एमालेका साथीहरू’ले आपसी प्रतिस्पर्धाबाट जितेको प्रतिक्रिया दिन्छन् । ‘ओली र नेपाल पक्षको जिल्ला अधिवेशन भएको होइन’, उनी भन्छन्, ‘महाधिवेशनको ह्याङ रहेकाले दुई पक्षबीच स्थानीय रुपमा प्रतिस्पर्धा भएको हो ।’ अधिवेशनबाट बाहिर आएका तथ्यांक नै ठीक नभएको उनको दाबीसमेत छ ।

,