अमेरिकी डलर साताकै महँगो- ९६ रुपैयाँ सम्ममा कारोबार
अन्तत:एक अमेरिकी डलरको मूल्य ९६ रुपैयाँ पुगेको छ । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएर गत बिहीबार प्रति डलर ९६ रुपैयाँ सम्ममा कारोबार भएको थियो । यो वाणिज्य बैंकले कारोबार गरेको औसत रकमबाट निकालिएको मूल्य हो । यसैलाई आधार मानेर राष्ट्र बैंकले गत शुक्रबारका लागि आधार दरमा डलरको मूल्य ९५ रुपैयाँ ९९ पैसा तोकेको थियो ।
भारतसँग स्थिर विनिमय दरका कारण नेपालमा अमेरिकी डलर बलियो भएको हो । भारतीय रुपैयाँ पनि बिहीबार हालसम्मकै कमजोर भएर प्रति डलर भा रु ६०/- मा कारोबार भएको थियो । भारतमा बढेको मागका कारण अमेरिकी डलरको मूल्य बढ्ने क्रममा छ । यसका साथै अमेरिकी अर्थतन्त्रमा आएको सुधार र सरकारले लिएको नीतिका कारण पनि विश्वका विभिन्न मुद्रा भन्दा डलर बलियो हुने क्रम बढ्दै गएको छ ।
केही दिनअघि भारतीय केन्द्रीय बैंकले आफूसँग रहेको डलर बिक्री गरेर मूल्यलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । उक्त प्रयासले केही दिन असर देखाए पनि पुनः डलर महँगिन सुरु भएको छ । नेपालले भने बढेको डलर मूल्यलाई नियन्त्रण गर्न सक्दैन । त्यसैले भारतबाट चालिने कदममै निर्भर रहनुपर्छ ।
डलर महँगो हुँदा तेस्रो मुलुकबाट आयात हुने वस्तु महँगो हुन्छ । यसका साथै भारतमै पनि मूल्य वृद्धि बढेर नेपालमा असर पर्छ । निर्यात गर्ने केही उद्योग र रेमिट्यान्सलाई भने बढ्दो डलरको मूल्यले फाइदा पुर्याउँछ । पछिल्लो एक महिनादेखि डलरको मूल्य छोटो समयमै ठूलो अन्तरले बढ्न थालेको छ ।
स्रोत: अर्थ रोजगार


